म्याग्दी। म्याग्दी पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेसन निर्माण भएको छ।
पर्वत जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दी मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेसन निर्माण भएको हो।
निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्मसागर लुइँटेलले प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेसनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर बिहीबारबाट परीक्षण सुरु भएको जानकारी दिए।
‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले परीक्षणको काम सुरु गरेको छ,’ उनले भने, ‘परीक्षणपछि कुनै समस्या आएन भने यही डिसेम्बर अन्तिमसम्म प्रसारण लाइन र सबस्टेसन सञ्चालन गर्ने तयारीमा छौं।’
विद्युत् प्राधिकरणमार्फत निर्माण कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन २०१८ डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण काम प्रभावित बनेको लुइँटेलले बताए।
उनका अनुसार पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठमा चार वर्षपछि सञ्चालन भएको थियो। चार वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि निर्माणमा भएको ढिलाइले म्याग्दीका पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारीलगायतले ऊर्जा मन्त्रालय र प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गरेका थिए।
रातोढुङ्गा सबस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए।
‘हाल मिलनचोक सबस्टेसनबाट चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ,’ उनले भने, ‘२० किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या हट्ने अपेक्षा छ।’