बाजुरा। बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड रुपैयाँ फिर्ता गरिएको छ।
पहिलो किस्ताको १४ करोडमध्ये ८ करोड फिर्ता गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि उक्त रकम फिर्ता गरिएको हो।
जिल्ला विपद व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। उक्त रकम विपद व्यवस्थापन कोषमा पठाइएको उनले बताउनुभयो। भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो।
प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न पत्र पठाएको प्रजिअ पौडेलले बताए।
प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न मंसिर ४ मा पहिलो किस्तावापत १४ करोड पठाएको उनले जानकारी दिए। निकासा भएको रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका १ हजार ५ सय ९ प्रभावित परिवारका लागि ३ करोड ७७ लाख सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताए।
खप्तड छेडेदह गाउँपालिकामा ९ सय ६६, त्रिवेणी नगरपालिका १ सय १३, गौमुल गाउँपालिका ५५, बूढीनन्दा नगरपालिका ६५, स्वामीकार्तिक खापर गाउँपालिका ९, जगन्नाथ गाउँपालिका ७४ र बडीमालिका नगरपालिकामामा २ सय २७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले रकम उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्राधिकरणले गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्तावापत रकम पठाएको थियो।