काठमाडौं। गभर्नेन्स ल्याबले ‘नेसनल गभर्नेन्स सिम्पोजियम २०२३’ आयोजना गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत महत्वपूर्ण कोसेढुङ्गा पार गरेको पृष्ठभूमिमा आयोजित गोष्ठीले नेपालको संघीय संक्रमणका प्रमुख सरोकारवालालाई एकसाथ ल्याएको थियो।
दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत प्रमुख सरकारी निकाय सहभागी थिए।
‘समावेशी विकासका लागि नवीन आविष्कारहरू’ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्व र विज्ञबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए।
उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनामा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए।
उद्घाटन सत्रमा गभर्नेन्स ल्याब अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रम सुरु गरेका थिए। ‘राष्ट्रिय सुशासन गोष्ठी नेपालको विकास क्षेत्रका विविध आवाज एकै ठाउँमा ल्याउने मञ्च हो। यस्ता गोष्ठीले नीतिनिर्माता, कार्यान्वयनकर्ता र जनताबीचको सम्भाव्य खाडल कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्,’ मल्लले भने, ‘जसले समावेशी विकासका लागि व्यावहारिक समाधान र मार्ग पहिचान गर्न योगदान पुर्याउँछ।’
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राखेका थिए। त्यसैगरी मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघ अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवं महिला अधिकारवादी रीता थापालगायतले समावेशी विकाससम्बन्धी धारणा राखेका थिए।