काठमाडाैं। गरिब, न्यून आय भएका, पिछडिएको क्षेत्र, सीमान्तकृत समुदाय र साना मूल्यका उत्पादन सुरक्षित र थप क्षतिबाट जोगाउन भन्दै अनिवार्य लघुबिमा (जीवन र निर्जीवन) कार्यक्रम अघि सारेको आधा दशक नाघेको छ। आर्थिक वर्ष २०७५/७६ को बजेटमा बिमा कम्पनीलाई आफ्नो कूल व्यवसायको १० प्रतिशत अनिवार्य लघुबिमा गर्नुपर्ने व्यवस्था अघि सार्र्याे। तर, अहिलेसम्म बिमा कम्पनीले कूल व्यवसायको दुई प्रतिशत पनि लघु बिमा गरेका छैनन्।
त्यसो त नेपालमा लघु बिमा कार्यक्रम अघि बढाएको एक दशक पुगिसकेको छ। २०७१ सालमा नेपाल बिमा प्राधिकरण (तत्कालिन बिमा समिति) ले लघुबिमा निर्देशिका जारी गरी कम्पनीहरूलाई लघु बिमा ‘बिमालेख’ बिक्री गर्न निर्देशन दिएको थियो। त्यसपछि २०७३/७४ मा बिमा कम्पनीलाई कूल व्यवसायको पाँच प्रतिशत लघु बिमा गर्न भनेको थियो।
लघु बिमा गर्दा कम्पनीहरूको लागत बढ्ने तर त्यसको प्रतिफल कम हुने भएपछि ठूला बिमा कम्पनीहरू अनिच्छुक देखिँदै आए। जसका लागि लघुबिमा कार्यक्रम अघि सारिएको थियो, त्यो वर्गमा प्रभावकारी कार्यक्रम अघि नबढेपछि लघुबिमा कम्पनी नै खडा गरेर लघु बिमा कार्यक्रम अघि सारिएको छ। लघु बिमा कम्पनी आएपछि लघु बिमा व्यवसायमा सकारात्मक प्रभाव पर्न थालेको सरोकारवालाको भनाइ छ।
नेपाल बिमा प्राधिकरणले लघुबिमा कारोबार गर्न भन्दै जीवन बिमा व्यवसायका लागि तीन र निर्जीवन बिमा व्यवसायका लागि चार कम्पनीलाई २०७९ मंसिरमा अनुमति दिएको थियो। जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (विराटनगर, मोरङ), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (वीरेन्द्रनगर, सुर्खेत) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स (पोखरा, कास्की) छन् भने निर्जीवन बिमा व्यवसायतर्फ नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर, चितवन), स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स (जनकपुरधाम, धनुषा) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी, कैलाली) ले कारोबार सुरु गरिसकेका छन्।
सैद्धान्तिक अनुमति (एलओआइ) लिएको निर्जीवन बिमातर्फको ट्रस्ट माइक्रो इन्स्योरेन्सले तोकिएको पुँजी पुर्याएपछि कारोबार अनुमति पाएको छ। लघु बिमा कारोबार गर्न नयाँ कम्पनी बजार आएसँगै गाउँ-गाउँ र घर-घरमा गएर बिमा हुने र त्यसले गरिबी निवारणमा थोरै भए पनि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।
‘मुलुकको आयस्तर हेर्दा कूल जनसंख्याको ६० प्रतिशत नागरिकलाई सानो आकारको बिमा आवश्यक छ। स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रमा सानो रकमको बिमा गराउनु लघु बिमाको मुख्य उद्देश्य हो,’ प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवाल भन्छन्, ‘लघु बिमा कम्पनीले गरिब, सिमान्तकृत वर्गका मानिसलाई बिमाको दायरामा ल्याएर बिमा गर्नुपर्ने हुन्छ।’
विकट ठाउँ, सिमान्तकृत र साना-साना व्यवसाय गरेका व्यक्ति र व्यवसायको घरआँगनमै पुगेर बिमा गर्नु लघु बिमा कार्यक्रमको मुख्य उद्देश्य हो। ‘पाँचवटा कुखुरा, १० वटा बाख्रा, एउटा भैंसी (साना र कम पुँजीका वस्तु) तथा सम्बन्धित व्यवसाय गर्ने र नगर्ने व्यक्तिको जीवन वा निर्जीवन प्रकृतिको बिमा गर्ने र क्षति हुँदा तत्काल दाबी भुक्तानीवापत रकम उपलब्ध गराउने काम लघु बिमाको हो,’ सिलवाल भन्छन्।
बिमा गरिबी न्यूनीकरणको एक अभिन्न अंग हो। बिमाले सानो (थोरै) रकम बिमा शुल्क (प्रिमियम) तिरेर भविष्यमा आउन सक्ने जोखिम बहन गर्छ। कतिपय वर्गलाई बिमातर्फ आकिर्षत गर्न राज्यले अनुदान पनि दिइरहेको छ। बिमाले कुनै पनि क्षेत्रमा थप क्षति हुन नदिने भएकाले गरी न्यूनीकरण अंगका रूपमा मानिएको हो।
उदाहरणका लागि कुनै व्यक्तिले १ लाख मूल्य पर्ने भैंसीको बिमा गराएको छैन। तर, त्यो भैंसी विभिन्न कारणले म¥यो भने सम्बन्धित किसानको सबै सम्पत्ति गुमेसरह हुन्छ। तर, त्यही १ लाख मूल्यको भैंसी बिमा गराएको स्थितिमा मरेको भैंसीको मूल्य बिमा कम्पनीले क्षतिपूर्तिका रूपमा दिने भएकाले किसान ठूलो क्षति हुनबाट बच्छ र थप गरिब हुने अवस्थामा पुग्दैन।
त्यसैले बिमालाई गरिबीको साथी पनि भन्ने गरिएको हो, किनभने १ लाख रुपैयाँको भैंसीको बिमा गर्न संघीय सरकारले ८० प्रतिशतसम्म र थप अनुदान प्रदेश तथा स्थानीय तहले पनि दिने गरेको पाइन्छ। यस्तो अवस्थामा किसान वा अन्य व्यवसायीलाई बिमाबारे सचेत बनाएर बिमा गरिँदा क्षति न्यूनीकरणमा सहयोग मिल्छ।
लघु बिमा कारोबारको सीमा
लघुबिमा निर्देशन, २०७९ अनुसार जीवन र निर्जीवन बिमा व्यवसाय गर्ने बिमकका लागि छुट्टाछुट्टै बिमाको सीमा र क्षेत्र तोकिएको छ। लघु जीवन बिमाअन्तर्गत बिमकले आजीवन, सावधिक, म्यादी र अन्य लघु जीवन बिमामध्ये एक वा एकभन्दा बढी व्यवसाय गर्न सक्छन् भने लघु निर्जीवन बिमकले एक वा एकभन्दा बढी प्रकारको घर, सम्पत्ति तथा व्यवसाय, मोटर, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक र अन्य लघु निर्जीवन बिमा व्यवसाय गर्न सक्छन्।
जीवन बिमामा ५ लाख रुपैयाँभन्दा कम बिमांक रकम भएको जीवन बिमालाई लघु व्यवसाय मानिएको छ। तर, निर्जीवन बिमाअन्तर्गत प्रकृतिअनुसार फरक–फरक बिमांक रकम तोकिएको छ। घर, सम्पत्ति तथा व्यवसाय, मोटर (टे«लर, ट्याक्टर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडा) र इन्जिनियरिङ लघु बिमाको सीमा ५० लाख रुपैयाँ बिमांक रकम तोकिएको छ भने दायित्व तथा मौद्रिक क्षति र अन्य लघु बिमाका लागि ५ लाख रुपैयाँसम्मको बिमांक रकम तोकिएको छ।
जीवन लघु बिमालेखको अवधि एक वर्षभन्दा बढी अवधिको हुन्छ भने निर्जीवन लुघ बिमालेखको अवधि एक वर्षभन्दा कम अवधिको हुन्छ। अन्य बिमालेखको जस्तै कुनै पनि प्रकृतिको लघु बिमालेख जारी गर्दा जारी भएको समय, जोखिम सुरु भएको मिति र जोखिम बहन हुने अन्तिम मिति प्रष्ट खुलाइएको हुनुपर्छ।
लघु बिमा कम्पनीले अन्य कम्पनी वा संस्थासँगको सहकार्यमा पनि बिमालेख जारी गर्न सक्छन्। टेलिकम, इन्टरनेट र भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृंखलामा काम गर्ने संगठित संस्थाहरूसँग सहकार्य गरी लघु बिमालेख जारी गर्न सकिने सुविधा लघु बिमा कम्पनीलाई दिएको छ।
फक्रिँदो लघु बिमा व्यवसायको दायरा
पछिल्लो समय साना व्यवसायी र आममानिसमा बिमा गर्नुपर्छ भन्ने अवधारणा विकास हुँदै गएको छ। ठूला बिमकले लघु बिमातर्फ खासै चासो नदिए पनि लघु बिमा कम्पनीको प्रवेशले स्थानीयस्तरमै बिमाप्रति सकारात्मक भाव पैदा गर्न सक्छ।
नियामक प्राधिकरणले लघु बिमा कम्पनीलाई प्राथमिकता दिएर व्यवसाय गर्न निर्देशन दिइसकेको छ भने समय र औचित्यका आधारमा लघु बिमकको दायरा फराकिलो बनाउनेतर्फ अग्रसर छ। नेपालमा गरिबीको रेखामुनि रहेका जनसंख्या १८ प्रतिशत रहेको मानिए पनि २०७२ को भूकम्प, कोभिड महाव्याधि, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति र विश्वव्यापी देखिएको आर्थिक मन्दीका कारण गरिबीको रेखामुनि रहेका मानिसको हिस्सा २५ प्रतिशतभन्दा माथि पुगेको अनुमान छ। त्यसो त आमगरिबको संख्याभन्दा बढी निम्न मध्यमवर्गका नेपालीको जनसंख्या धेरै छ।
लघु बिमकका लागि प्रत्येक गाउँपालिका वा नगरपालिकासँगको सहकार्य सुवर्ण अवसर बन्न सक्छ। प्रत्येक पालिकामा बैंक पुगेकाले बैंकिङ कारोबार सहज भएको छ। पालिकासँग समन्वय गरेर त्यहाँबाट बिमा सेवालाई प्रभावकारी अघि बढाउन सकिन्छ। एउटा प्रदेशमा प्रधान कार्यालय भए पनि अहिले उनीहरूले मुलुकभरि नै व्यवसाय सञ्चालन गर्न सक्छन्।
प्राधिकरणकी उपनिर्देशक (लघु बिमा विभाग) पुष्पा कुँवरका अनुसार प्रतिस्पर्धात्मक वातावरण बन्दै गए वा सरकार/नियामकलाई कार्यक्षेत्र खुम्च्याउनुपर्छ भन्ने लागेमा निश्चित कार्यक्षेत्र तोक्न सकिने छ।
न्यून आय भएका र विकट ठाउँमा रहेकालाई बिमा दायरामा ल्याउन लघु बिमा अवधारणा अघि सारिएकाले लघु बिमा कम्पनी गाउँमा र पिछडिएको क्षेत्रमा जानुको विकल्प छैन। स्थानीयस्तरमा शिक्षा र चेतना अभावका कारण बिमातर्फ नागरिकलाई आकर्षित गर्न पनि कठिन देखिन्छ।
लघु बिमा व्यवसाय पनि सहर केन्द्रितमात्र नहोस् भनेर प्रत्येक प्रदेशमा एउटा बिमा कम्पनीको अवधारणा अघि आएको हो। तर, भौगोलिक तथा अन्य विविध कारण प्रदेश राजधानीभन्दा बाहिर बिमा पहुँच विस्तार हुन्छ कि हुँदैन भन्ने आशंका जन्मिएका छन्।
स्थानीयस्तरमा देखिएका समस्या चिर्न र आफ्नो व्यवसाय विस्तारका लागि लघु बिमा कम्पनी प्रत्येक पालिका-पालिका र टोलटोल पुगेर स्थानीय जनप्रतिनिधिलाई पनि सहभागी गराइ लघु बिमाको दायरा बढाउनुपर्ने हुन्छ। त्यसका लागि प्राधिकरणले विशेष समन्वयकारी भूमिका खेल्नुपर्छ।
‘स्थानीयको घरदैलोमा नपुगेको खण्डमा शाखा कार्यालय खोल्छु वा अरू केही गर्छु भनेर कम्पनीले भन्दैमा लघु बिमा व्यवसाय विस्तार हुँदैन,’ प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल भन्छन्, ‘भोलि कसैको घर आगलागि भयो वा बाली नष्ट भयो भने उसले स्थानीय सरकारको मुख ताक्नुपर्ने हुन्छ। तर, बिमा गरेको खण्डमा कसैको मुख ताक्नु पर्दैन। क्षतिपूर्ति बिमा कम्पनीले दिन्छ।’
लघु बिमकका चुनौती
लघु बिमाको व्यावसायिक सीमाले लघु बिमकको क्षेत्र र सम्भावना व्यापक रहेको सजिलै बुझ्न सकिन्छ। निम्न वर्गका मानिसको संख्या अधिक भएकाले सानो रकमको बिमा बढी हुने हुँदा लघु बिमकको सम्भावना राम्रो छ र प्रभावकारी काम गरे व्यावसायिकरूपमा कम्पनीले धेरै फाइदा लिन सक्छन्।
तर, बिमा विज्ञ डा. रविन्द्र घिमिरे गरिब नागरिकसँग बिमा गर्न पैसा नहुनु नै लघु बिमकको व्यवसाय विस्तारको मुख्य चुनौती ठान्छन्। ‘बिमाको महत्व बुझेमात्रै नागरिकले बिमा गर्छन्। तर, बिमाको महत्व बुझाएर आमनागरिकलाई बिमातर्फ आकर्षित गर्न बिमकका लागि कठिन हुन सक्छ,’ घिमिरे भन्छन्, ‘आमनागरिकलाई बिमाको महत्व बुझाएर यसतर्फ आकर्षित गर्न बिमकहरूले धेरै खर्च गर्नुपर्छ। विभिन्न कार्यक्रम सञ्चालन गरी जनचेतना फैलाउनुपर्छ।, जुन निकै चुनौतिपूर्ण काम हो।’
त्यसो त लघु बिमाले समेट्नुपर्ने नागरिकको आम्दानीको स्रोत र मात्रा सानो आकारको हुन्छ। आम्दानी सानो हुने र बिमा पनि सानो रकमको हुने भएकाले बिमा शुल्क संकलन पनि सानो मात्रामा हुन्छ। बिमा गर्ने क्षेत्र र बिमा गर्ने संख्या बढी हुने भए पनि व्यवसायबाट कम्पनीलाई हुने फाइदा (नाफा) भने निकै कम हुन्छ। विकट ठाउँमा पुग्नुपर्ने, धेरै मानिसमा पुग्न अधिक यातायात प्रयोग गर्नुपर्ने, धेरै कर्मचारी आवश्यक पर्नेजस्ता कारण बिमकको प्रशासनिक खर्च बढी हुन्छ।
तर, प्रविधि प्रयोग गरेर अघि बढ्ने अवसर भने छ। मोबाइलबाटै बिमालेख बिक्री गर्ने, अनलाइनमार्फत बिमा शुल्क बुझाउनेजस्ता सुविधा उपयोग गरे लघु बिमकको खर्च केही कम हुन सक्छ। तर, सुरुवाती प्रचारप्रसार र जनमानसमा बिमाप्रतिको लगाव बढाउन सम्बन्धित वर्गमा कम्पनी (कर्मचारी) पुग्नैपर्छ। ‘तुलनात्मकरूपमा लघु बिमकको जोखिम बढी छ। जोखिम बढी भएकाले नाफा कमाउन कठिन हुन्छ,’ घिमिरेले भने।
ठूला बिमकको १० प्रतिशत लघु बिमा गर्नुपर्ने प्रावधान यथावत
लघु बिमा कम्पनीले कारोबार सुरु गरे पनि ठूला बिमा कम्पनीले १० प्रतिशत अनिवार्य लघु बिमा गर्नुपर्ने व्यवस्था यथावत छ। लघु बिमा कम्पनी आएको स्थितिमा ठूला कम्पनीको अनिवार्य व्यवस्था हुन्छ भनेर प्रश्न उठिरहेको छ। ठूला कम्पनीको अनिवार्य १० प्रतिशत प्रावधान आफै लागू गर्ने कि लघु बिमा कम्पनीमार्फत त्यसको हिस्सा आफूले लिने भन्ने प्रश्न चिर्दै नियामक प्राधिकरणले लघु बिमासम्बन्धी व्यवस्था यथावत रहेको जनाएको छ।
‘ठूला बिमा कम्पनीले व्यवसायको १० प्रतिशत अनिवार्य गर्नुपर्ने लघुबिमाको प्रावधान यथावत रहेकाले तोकिएको हिस्सा पु¥याउनैपर्छ,’ अध्यक्ष सिलवाल भन्छन्, ‘तर, ठूला बिमा कम्पनीले लघु बिमा व्यवसायमा प्रभावकारी काम नगरेकै कारण लघु बिमा कम्पनीको अवधारणा अघि सारिएको हो।’
तोकिएको मात्रामा कम्पनीहरूले लघु बिमा नगर्दा पनि प्राधिकरणले कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय लिएको छैन। लघु बिमा नगरेकै कारण ठूला बिमा कम्पनीविरुद्ध कठोररूपमा नउत्रिने मनसाय प्राधिकरणको देखिन्छ।
लघु बिमकको अभिकर्तासम्बन्धी व्यवस्था
बिमा ऐन २०७९ अनुसार समान प्रकृतिको कम्पनीमा एउटै अभिकर्ताले काम गर्न नपाए पनि एउटै अभिकर्ताले फरक क्षेत्र अर्थात जीवन र निर्जीवन बिमाका लागि भने काम गर्न सक्छन्। लघु बिमासम्बन्धी काम गर्ने बिमा अभिकर्तालाई एकभन्दा बढी कम्पनीको काम गर्न रोकिएको छैन।
तर, बिमा ऐनले एउटै अभिकर्ताले लघु बिमक र ठूला बिमकको अभिकर्ता भई कार्य गर्न पाउने वा नपाउने भन्ने विषयमा स्पष्ट व्यवस्था गरेको छैन। उपनिर्देशक कुँवरका अनुसार एउटै अभिकर्ताले लघु बिमक र ठूला बिमकको अभिकर्ता भई काम गर्न पाउने कि नपाउने विषयमा प्राधिकरणभित्र छलफल जारी छ।
बिमा सामान्यतया अभिकर्तामार्फत गरिने व्यवसाय हो। लघु बिमाको काम गर्ने अभिकर्ताले सम्बन्धित क्षेत्रकै काम गर्ने गरी अभिकर्ताको अनुमति भने लिनुपर्छ। लघु बिमा निर्देशन, २०७९ अनुसार व्यक्तिगत र संस्थागत लघु बिमा अभिकर्ताको व्यवस्था गरिएको छ।
निर्जीवनतर्फ बिमा शुल्कको ५ प्रतिशत रकम अभिकर्ताले कमिसन पाउँछ भने जीवन बिमातर्फ भने बिमा नियमावलीअनुसार हुनेछ। बिमा नियमावलीले जोखिम अवधिका आधारमा न्यूनतम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कमिसनको व्यवस्था गरेको छ।
लघु बिमकको पनि सर्वसाधारणलाई ३० प्रतिशत सेयर
बिमा ऐन २०७९ अनुसार लघु बिमकले आफ्नो कूल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ। तर, विदेशी बिमा कम्पनीको शाखाको हकमा यो व्यवस्था लागू हुँदैन। ७५ करोड रुपैयाँ जारी पुँजी रहेको लघु बिमकले प्रतिकम्पनी २२ करोड ५० लाख रुपैयाँबराबर सेयर सर्वसाधारणलाई बिक्री गर्ने छन्। सर्वसाधारणमा बिक्री हुने ३० प्रतिशत सेयरमध्ये ५ प्रतिशत बिन्दुबराबर सेयर कर्मचारीलाई छुट्ट्याउनुपर्छ।
साउनमा ४ लघु बिमकले उठाए साढे ६ लाख बिमा शुल्क
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मा ४ लघु बिमकले साढे ५ लाख रुपैयाँबराबर बिमा शुल्क उठाएका छन्। जीवन बिमातर्फ २ लघु बिमकले ५ लाख ६८ हजार र २ निर्जीवन बिमातर्फ २ लघुबिमकले ९५ हजार रुपैयाँबराबर बिमा शुल्क संकलन गरेका हुन्। एक महिना अवधिमा गार्डियन माइक्रो लाइफले ४ लाख २३ हजार र क्रेस्ट माइक्रो लाइफले १ लाख ४५ हजार तथा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजार रकमबराबर बिमा शुल्क उठाएका हुन्।
(क्यापिटल बिजेनस म्यागजिनकाे असाेज अंकबाट)