काठमाडौं। ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने भएको छ। बैंकको १७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/ ०८० को कूल मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश सेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए।
आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ। बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४।९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ। बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।
साधारणसभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना संचालकको निर्वाचन गरेको छ। संस्थापक शेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्।