काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टि(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बुझाएको ध्यानाकर्षणप्रति नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले व्यङ्ग्य गरेका छन्।
रास्वपाले प्रधानमन्त्री दाहालले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल वायुसेवा निगमले गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेर प्रतिस्पर्धा मार्फत गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोसेर प्रतिस्पर्धा मार्फत गराउदा आम्दानी घट्नुको साथै विमानस्थलको सुरक्षा संवेदनशिलतामा समेत असर पुग्ने दाबी रास्वपाले गरेको छ।
करिब ५० वर्षपछि खुला प्रतिस्पर्धाको बहानामा ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल एयरलाइन्सबाट खोस्नुपर्ने मनासिव कारण केके हुन्? र, प्राधिकरणको निर्णयको औचित्य कसरी पुष्टि हुन्छ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको छ।
राष्ट्रिय सुरक्षा पनि पर्नसक्ने जोखिम र विमानस्थलमा मौलाउनसक्ने विकृतिको जिम्मेवारी कसले लिन सक्छ? भन्दै प्रश्न गरेको छ। प्राधिकरणले निर्णय गरिहाल्यो भनेर यस्तो संवेदनशील विषयमा सरकार प्रतिक्रियाविहीन बन्न नमिल्ने उल्लेख गरेको छ।
रास्वपाले बुझाएको ध्यानाकर्षण पत्र प्रति प्राधिकरणका महानिर्देशक अधिकारीले भने ट्विटरमार्फत व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, ‘राम्रै छन्, अध्ययन गर्छन् जस्तो लागेको थियो।’ रास्वपाले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नै बोल्दै आएको भाषालाई जस्ताको त्यस्तै कपी गरेर प्रधानमन्त्रीलाई बुझाएको प्राधिकरणको ठहर छ।
प्राधिकरण सञ्चालन नियमावली अनुसार नै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सञ्चालन प्रतिस्पर्धा मार्फत गरिने छ भन्ने उल्लेख गरिएको छ। जस अनुसार प्राधिकरणले सन् २०२५ देखि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धा मार्फत गराउने निर्णय गरिसकेको छ।
प्राधिकरणको निर्णयपछि निगम आफ्नो बचाउमा लाग्दै ग्राउन्ड ह्यान्डलिङ सेवा आफुहरुले नै निरन्तरता पाउनु पर्ने भन्नेमा लागिरहेको बेला रास्वपाले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।