काठमाडौं। मुलुकको विदेशी मुद्रा सञ्चिति बढेर करिब १७ खर्ब रुपैयाँबराबर भएको छ। कात्तिक मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको वित्तीय स्थितिअनुसार असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर थियो।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो। यसमा १०.८ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा १४ खर्ब ९० अर्ब ८३ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ।
कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ।
चालू आर्थिक वर्ष चार महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जिडिपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन्। असार मसान्तमा यी अनुपात क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।