काठमाडौं। कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.३८ प्रतिशत रहेको तथ्यांक सार्वजनि भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको वित्तीय स्थितिअनुसार अघिल्लो वर्षको कात्तिकमा महँगी ८.०८ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ११ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा घ्यु तथा तेल र तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलको ४.९६ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा यातायात उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८६ प्रतिशतले घटेको छ।
गत कात्तिकमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रको मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो।
थोक मुद्रास्फीति
कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.०२ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशतले घटेको छ।