चितवन। जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ। भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो।
मङ्गलबारबाट माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए। उनका अनुसार जोनअन्तर्गत ८ हजार ५ सय ४० हेक्टर जमिनमा धान खेती गरिएको थियो।
यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले बताए। उनका अनुसार गत वर्ष ३९ हजार ८ सय ८२ टन धान उत्पादन भएको थियो। यो प्रतिहेक्टर ५।२ टन उत्पादकत्व हो।
यस वर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उनले भने, ‘धान उत्पादन १० प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन। कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो।’
जोनमामा रोगका किराको आक्रमण माटोका कारणले भएको हुन सक्ने देखिएपछि १ हजार ५० नमुना संकलन गरेर परीक्षण सुरु गरिएको र जोनमा लगाइएको धानमा नेक ब्लास्टछ (घाँटी मरुवा), सित ब्लाइट, कालोपोके र गबारो लाग्ने जस्ता समस्या देखापरेको थियो।
यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने विषयमा माटो परीक्षणबाटै जानकारी हुने उनले बताए।
माटो परीक्षण गर्दा माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा क्षारीयपन कति छ भन्ने पत्ता लगाइन्छ।
जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ। अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुङ्गानाले भने, ‘धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व ३.६ टन प्रतिहेक्टर थियो। धान जोनका रूपमा पूर्वी चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका विशेष छन्। ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो। माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ।’