काठमाडौं। ‘हामी एकातर्फ उत्पादन बढाउनुपर्छ भनिरहेका छौं भने अर्कातर्फ आयातमा कर लगाइयो भनेर विरोध पनि गरिहेका छौं। आफ्नै देशमा उत्पादन हुने वस्तुको उत्पादकत्व बढाउन हरेक मुलुकले अपनाउने प्रणाली यही हो जुन प्रक्रिया हामीले पनि अपनाउन सुरु गरेका छौं,’ अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने।
अर्थमन्त्री महतको यो अभिव्यक्ति पछिल्लोपटक प्याज र आलुमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ इंगित थियो। केही दिनयता बजारमा प्याज र आलु अभाव देखिएको छ।
बजारमा अभाव देखाउँदै भएको खरिद-बिक्रीले उपभोक्ता महँगीको मारमा परेका छन्। मूल्य बढेर दोब्बर हुनुको कारण सरकारले कर लगाउनु रहेको भन्दै आलोचना भइरहेको छ। जसको जवाफ महतले उत्पादन बढाउने विषयसँग जोडेर दिएका हुन्।
‘नेपाल आलुमा करिब-करिब आत्मनिर्भर बनेको छ। प्याजमा पनि आत्मनिर्भर बनाउने बाटोमा हामी लागेका हौं,’ अर्थमन्त्री महतले थपे, ‘नेपालमै उत्पादन हुने वस्तुलाई सस्तोमा आउन दियो भने यहाँ उत्पादन हुँदैन। हाम्रैमा पर्याप्त स्याउ उत्पादन हुन्छ भने भारतीय स्याउ सस्तोमा आउन किन दिनु?’
महतले मुलुकमै उत्पादन हुने र आत्मनिर्भर बन्न सक्ने वस्तुमा कर लगाउँदा नेपालमा उत्पादन बढ्ने बताए।
हुन तः नेपालको व्यापार घाटातर्फको खाडल निकै ठूलो छ। चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म मात्रै नेपालमा कुल ५ खर्ब १२ अर्ब ५० करोडभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ। यस अवधिमा नेपालबाट भएको निर्यात भने ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँबराबरको मात्रै छ। यस चार महिनासम्मको नेपालको कुल व्यापार घाटा ४ खर्ब ६१ अर्ब माथि छ।
यसरी हेर्दा सरकार र अर्थ मन्त्रालयले मुलुकको उत्पादन बढाउन चालेको यो कदम एक हदसम्म उपयुक्त पनि देखिन्छ। तर, मुलुकका उत्पादनको क्षेत्रमा काम गर्ने जनशक्ति झन्-झन् बाहिरिँदै गएको अवस्था छ।
उत्पादनमा सर्वाधिक योगदान गर्ने युवा र उत्पादक वर्ग अझै मुलुकमा अडिने छाँट देखिँदैन। यसरी उत्पादक वर्ग नै मुलुकमा नभएको र नअडिएको अवस्थामा आयातमाथि कर लगाएर उत्पादन बढाउने सरकारको रणनीति सफल हुनेमा कठिनाइ देखिन्छ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक तथा अर्थविद डा. निरज पौडेल पनि नेपालमा आयात हुने वस्तुमा भ्याट लगाउँदैमा यहाँको उत्पादन नबढ्ने बताउँछन्। ‘यदि भारतले कुनै पनि वस्तुको उत्पादनमा सहुलियत दिएको छ भने त्योबराबरको भ्याट सरकारले आयातमा लगाउनु उपयुक्त हुन सक्छ। किनकि, सहुलियत पाएको र नपाएको उत्पादकबीच प्रतिस्पर्धा हुनसक्दैन,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘तर, अन्य मुलुकमा त्यस्तै सहुलियत दिइएको छैन भने नेपाली उत्पादन बढाउन भनेर कर लगाउनु हुँदैन।’
पौडेलका अनुसार नेपाली उत्पादन बढाउन आयात हुने सामग्रीलाई भ्याट लगाएरमात्रै यहाँको उत्पादन बढ्दैन। यसका लागि त थप बजारलाई प्रतिस्पर्धात्मक बनाउनुपर्छ। हाम्रा उत्पादक जति अन्तर्राष्ट्रियस्तरका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छन्, त्यति नै टिकाउ पनि हुन्छन्।
यसर्थ, सरकारले आयातित वस्तुमा नेपाली उत्पादनलाई बढाउन भनेर कुनै पनि भ्याट लगाउने कार्य गर्न नहुने पौडेलको भनाइ छ।
‘हाम्रोमा पूर्वाधार सुगम हुन सकेका छैन। यसको कारक सरकारमात्रै पनि होइन। हाम्रो भौगोलिक बनावट नै यस्तै छ। हाम्रोमा जलमार्ग पनि छैन। साथै, श्रमिकका लागि उपयुक्त वातावरण पनि छैन,’ पौडेल भन्छन्, ‘यसर्थ, हाम्रो उत्पादन लागत महँगो छ। तर, अब नेपालमा उत्पादन बढाउनका लागि भन्दै भ्याट लगाएर हामी आत्मनिर्भर बन्छौं भन्ने कुरा उचित होइन।’
पौडेलले नेपालको कर तुलनात्मकरूपमा निकै बढी भएका कारण नागरिकले महँगी खेप्दै आएको बताए। यस्तो अवस्थामा पुनः उत्पादन बढाउने नाममा दैनिक उपभोग्य वस्तुमाथि भ्याट लगाउनु नागरिकलाई थप महँगीमा धकेल्नु हो। यसले नेपालको उत्पादन बढ्नेभन्दा पनि नागरिकमा थप निराशा र राज्यप्रति असन्तुष्टि पैदा गर्ने पौडेलको भनाइ छ।
उत्पादन बढाउन भन्दै सरकारले भ्याट लगाएको वस्तु आलु र प्याजमात्रै होइन। यस्ता थुप्रै वस्तुमा सरकारले विभिन्न समयमा भ्याट लगाउँदै आएको छ। तथापि, थुप्रै वर्ष अगाडि उत्पादन बढाउन भन्दै आयातमा भ्याट लगाएका वस्तुको उत्पादन बढेको र आत्मनिर्भर भएको विषय भने देखिएको छैन।
सरकारले पनि यस रणनीतिमा सफल भएका दृष्टान्तहरू प्रस्तुत गर्न सकेको छैन। साथै, आयातमा भ्याट लगाएका वस्तुको उत्पादन बढेको वा नबढेको विषयका सन्दर्भमा अध्ययन पनि गरेको पाइँदैन। उत्पादन बढाउन आयातमा भ्याट लगाउने र त्यसले सकारात्मक नतिजा दिएको-नदिएको नहेर्ने प्रवृत्ति जारी छ।
यद्यपि, अन्य मुलुकले यस्तै अभ्यास गरेको बताइए पनि नेपालमा र हालको समयमा यो कति फलदायी हुन्छ भन्ने विषयमा भने विचार पुर्याउनुपर्ने देखिन्छ।
यसर्थ, आयातमा भ्याट लगाएर महँगी बढाएर उत्पादन बढाउन खोज्नेमात्रै भन्दा पनि उत्पादनमा योगदान पुर्याउने वर्गलाई नेपालमै राख्न पनि त्यति नै जरुरी देखिन्छ। यदि यो दुवै भएको खण्डमा भने सरकारले भनेजस्तै उत्पादन बढ्न सक्ने देखिन्छ।
सरकारले आलु र प्याजमा भ्याट लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन नेपालमा दुवै वस्तुको अभाव देखिनुका साथै मूल्यवृद्धि पनि भएको थियो।
तर, सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलु आपूर्ति सहज हुँदै गएको देखिन्छ। तथापि, प्याज अभाव भने हाल पनि जारी देखिन्छ। भारतले प्याज निर्यात रोक्दा नेपालमा हाहाकार भएको हो।
विभागले शुक्रवार सूचना निकालेर आन्तरिक कृषिजन्य उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीतिअनुरूप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा भ्याट नलगाइएको तथा नलाग्ने स्पष्ट पारेको थियो।
यद्यपि, यहीबीचमा भारतले २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।