भेरीगङ्गा (सुर्खेत)। कर्णाली प्रदेशका ३० प्रतिशत परिवारमात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ।
राष्ट्रिय कृषि गणना २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषि उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा ३ लाख २ हजार परिवारले कृषि पेसा गर्दै आएकामा जम्मा ३० प्रतिशत अर्थात ९० हजार ६ सयमात्रै कृषिमा आत्मनिर्भर छन्।
अधिकांश परिवारलाई भने वर्षभरि खाना नपुग्ने गरेको तथ्यांकमा उल्लेख छ। कर्णालीमा १ लाख १७ हजार ४ सय ११ हेक्टर जग्गामा ८२.६३ प्रतिशतले कृषि कर्म गर्ने गरिएको पाइएको तथ्यांक छ।
कृषिमै आश्रित ठूलो संख्या भए पनि उत्पादनमा भने आत्मनिर्भर हुन नसकेको भन्दै सरकारले अब बनाउने नीति उत्पादनमुखी बनाउनुपर्ने राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए।
‘कर्णालीमा अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन्, तर उत्पादनमा भने थोरै संख्यामा मात्रै आत्मनिर्भर छन्। आगामी दिनमा सरकारले उत्पादनमुखी योजना बनाउन आवश्यक छ,’ उनले भने।
तथ्यांकमा पुरानाभन्दा नयाँ प्रविधिको विस्तार भने भएको पाइएको छ। फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको संख्या वृद्धि भएको देखिएको छ।
८.१ प्रतिशत फलामे हलो, ५.१ प्रतिशत ट्र्याक्टर र ४.५ प्रतिशत पावरटिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए।
तीन दशकमा नेपालमा कृषक परिवार संख्या कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाउने गरिएको छ। यस्तै गाईगोरु र राँगाभैंसीभन्दा खसीबाख्रा, सुगुर र बङ्गुरपालन गर्नेको संख्या वृद्धि हुँदै गएको तथ्यांकमा उल्लेख छ।