काठमाडौं। अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी पुस २० र २१ गते हुने निर्वाचन नजिकिएसँगै अटो क्षेत्रमा नयाँ तरङ्ग आइरहेको छ।
अध्यक्षका लागि दुई बलिया आकांक्षी चौधरी ग्रुपका करण चौधरी र गोल्छा अर्गनाइजेसनका आकास गोल्छा दुवैले दाबी गरेपछि अटो क्षेत्र दुई कित्तामा विभाजन भएको छ।
दुवैले आफू ‘ब्याक’ नहुने, तर सहमतिका लागि तयार भएको अभिव्यक्ति दिइरहँदा नाडाको वर्तमान कार्यसमितिले भने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
अटो क्षेत्रमा देखिएको मन्दी हटाउन बनाइएका अजेन्डा लागु गराउन पनि सहमतिको विकल्प नभएको नाडाको तर्क छ।
सर्वसम्मतिका लागि नाडा अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती र कोषाध्यक्ष मिलनबाबु मल्ल सुरुवातदेखि नै लागिपरेका छन्।
सहमतिकै लागि हालसम्म दुवै पक्षका आकांक्षीलाई राखेर करिब एक दर्जनपटक बैठक बसिसकेको छ। सम्पूर्ण अटोमोबाइल क्षेत्रको साझा अजेन्डा सरकारसामु राखेर यो क्षेत्रलाई जोगाउन एकजुट भएर जानुपर्ने र निर्वाचन भएको खण्डमा अजेन्डा लागु गर्न कठिन हुने महासचिव उप्रेती बताउँछन्।
‘हामी आफैं मिल्न सकेनौं भने संस्था कमजोर हुन्छ। त्यसकारण पनि सहमतिमा जान प्रयास गरिरहेका हौं,’ नाडा महासचिव उप्रेतीले क्यापिटल नेपालसँग भने।
अर्को सातासम्म ठोस निष्कर्ष निस्किने उप्रेतीको दाबी छ। ‘यो विषयमा धेरैपटक बैठक बसिसक्यौं। अर्को साता केही न केही निष्ककर्ष निस्किन्छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा सतप्रतिशत सहमति हुन्छ र गर्नैपर्छ। अटो क्षेत्रलाई माथि उकास्न नाडाले बनाएको १० वर्षे गुरुयोजनाअनुसार अघि बढ्न पनि एकजना ब्याक हुनैपर्छ।’
नाडाले सर्वसम्मतिको प्रयास गरिरहे पनि चौधरी र गोल्छा दुवै ब्याक हुने पक्षमा नभएको नाडा स्रोतले बतायो।
‘अध्यक्षलगायत साथीहरूले सहमतिकै प्रयास गरिरहनुभएको छ, तर उहाँहरू कोही पनि पछि हट्ने मुडमा हुनुहुन्न,’ स्रोतले भन्यो, ‘अध्यक्षकै आकांक्षी ब्याक नहुने भएपछि कसरी हुन्छ सहमति?’
अध्यक्षका एकजना मात्र आकांक्षी ब्याक हटे सहमतिको सम्भावना बलियो हुने स्रोतको तर्क छ। केही समय अघिसम्म अध्यक्ष पदका लागि गोल्छा र सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठको चर्चा थियो। अध्यक्ष जिताउन गोल्छालाई चौधरीले सघाइरहेका थिए।
नाडाभित्र सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने आवाज जोडतोडसाथ अगाडि बढेपछि श्रेष्ठले ‘गोल्छालाई मनाउन सके चौधरीलाई अध्यक्ष दिने’ प्रस्ताव चौधरीसँग राखे।
श्रेष्ठको प्रस्ताव सुनेर चौधरी अध्यक्षको तयारीमा लागे। सर्वसम्मत भए संस्था राम्रो हुने भन्दै श्रेष्ठ पन्छिएपछि चौधरीलाई बाटो खुलेको थियो।
सुरुवाती चरणमा हेर्दा गोल्छा र चौधरी दुवै बलिया उम्मेदवार हुन्। गोल्छा प्यानलका पक्षमा बजाज, टिभिएस, महिन्द्रा, फोटोन, बिवाइडी, फोर्ड, हुन्डाईलगायत ब्रान्डको सहयोग हुन सक्छ।
त्यस्तै चौधरीका पक्षमा चौधरी ग्रुप, आईएमई ग्रुप, सिप्रदी, एमएडब्लु ग्रुप, एससिटी ग्रुपलगायतको समर्थन हुने सम्भावना उच्च छ।
त्यस्तै अघिल्लोपटक चौधरी ध्रुव थापासँग अध्यक्षमा पराजित भएका कारण सहानुभूति भोट चौधरीलाई जाने अनुमान पनि बलियो छ।
नाडाको वर्तमान कार्यसमितिले भने अध्यक्षका दुवै आकांक्षीलाई आलोपालो गर्ने सल्लाह दिइरहेको छ।