काठमाडौं। नेपालमा हालसम्मकै सबैभन्दा लामो ‘जिपलाइन’ नगरकोटमा तयार भएको छ। नगरकोट जिपलाइन प्रालिले निर्माण गरी सञ्चालनमा ल्याउन लागेको जिपलाइन १ हजार ९ सय ५० मिटर लामो छ।
करिब ५ करोड लगानीमा निर्माण भएको जिपलाइनको शुक्रबार ‘ग्रान्ड ओपनिङ’ गर्न लागिएको सञ्चालक केदार थापाले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जिपलाइन सुरुवात गर्ने कार्यक्रम तय भएको उनले बताए।
साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) भित्र पछिल्लो समय मुलुकमा जिपलाइन निर्माणको लहर नै बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाइन सुरु भएको हो। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्य अर्थात नयाँ प्रडक्टका रूपमा जिपलाइन सञ्चालन गरिएको सञ्चालक थापाको भनाइ छ।
‘हाल सञ्चालनमा रहेकामध्ये हाम्रो जिपलाइन नै नेपालको सबैभन्दा लामो जिपलाइन हो,’ सञ्चालक थापा क्यापिटल नेपालसँग भने, ‘एडभेन्चर टुरिज्ममा नयाँ गर्न खोजेका छौं।’
नगरकोट जिपलाइनमा थापासँगै प्रेमबहादुर बस्नेतको साझेदारी छ। कोभिडअघि नै निर्माण थालिए पनि आर्थिक मन्दीसहित विभिन्न कारण जिपलाइन सञ्चालनमा ढिलाइ भएको थापाले बताए।
नगरकोटमा आन्तरिक एवं वाह्य पर्यटक चाप अत्यधिक हुने भएकाले त्यसैलाई मध्यनजर गरी ‘सुपरम्यान’ सञ्चालनको तयारी गरिरहेको उनले बताए। वाह्य पर्यटकको समेत यसले ध्यान तान्ने उनको अपेक्षा छ।
अहिलेसम्म सञ्चालनमा रहेका जिपलाइन, बन्जिजम्प र स्काई साइक्लिङ ९० प्रतिशत आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको बताउँदै उनले नगरकोटको सुपरम्यान भने आन्तरिकसँगै वाह्य पर्यटकहरूको समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने दाबी गरे।
आफूले धेरै पहिलादेखि नै नगरकोटमा सुपरम्यान बनाउने तयारी गरे पनि एडभेन्चर टुरिज्ममा नयाँ भएकाले सुरुमा साना–साना जिपनलाइनहरू सञ्चालन गरेर यता लगानी गरेको उनले सुनाए। सुपरम्यानको दैनिक क्षमता २ सयजनाको हुनेछ।
अन्तर्राष्ट्रिय पर्यटक जमघटसमेत त्यहाँ हुने भएकाले यसलाई विशेष महत्वसाथ हेरिएको छ। नगरकोट जिपलाइन प्रालिद्वारा निर्माण भइरहेको सुपरम्यान आउँदो जेठभित्रमा सञ्चालनमा आइसक्ने छ। पर्यटकीयसँगै एडभेन्चर टुरिज्मले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य रहेको उनले बताए। थापाले धुलिखेलमा पनि धुलिखेल जिपलाइन सञ्चालन गरिरहेका छन्।
नेपालीलाई ४५ सय रुपैयाँ
जिपलाइन चढ्न एकजनाले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। हाल एकजनाले मात्र खेल्न मिल्ने खालको बनाइएको छ। केही समयभित्रै एक साथ दुईजनाले खेल्न मिल्ने खालको बनाउन लागिएको सञ्चालक थापाले बताए।
सुरुवाती शुल्क ४ हजार ५ सय तोकिए पनि केही समयपछि मूल्यमा थपघट हुन सक्ने जनाइएको छ। यस्तै विदेशीका लागि प्रतिव्यक्ति ५० अमेरिकी डलर निर्धारण भएको छ।
जिपलाइनसँगै प्रेमदरबार होटल सञ्चालनमा
जिपलाइन आउने ग्राहक लक्ष्यित गरेर थापाले सुविधासम्पन्न होटलसमेत निर्माण गरेका छन्। एक रात बास बस्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यसाथ करिब १० करोड लगानीमा ‘प्रेमदरबार’ होटल सञ्चालनमा ल्याइएको उनले बताए। होटलमा डिलक्स र स्ट्यान्डर्ड गरी दुई खालका कोठा छन्।