चितवन। नारायणगढ-मुग्लिङ सडक खण्डमा निर्माण हुँदै गरेका थप ८ पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
ती पुलको पहुँचमार्गको काममात्र बाँकी छ। नागढुङ्गा-मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिङ) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार मंसिर महिनामा चार नयाँ पुल सञ्चालनमा आएका छन्। थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको छ।
उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्र सञ्चालनमा आउने छ। ‘चारवटा एक महिनामा नै सञ्चालनमा आउँछ। आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ,’ उनले भने, ‘ती पुलको पहुँचमार्ग बनाउने र रङरोगन लगायत काम भइरहेको छ।’
मंसिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालु्वाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए। थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईमात्र बन्न बाँकी रहन्छन्।
आचार्यका अनुसार खहरेको पुल ६ महिनाभित्र सञ्चालनमा आउने छ। तुइन खोलाको पुल निर्माणका लागि भने भित्तो विस्फोट गर्नुपर्ने भएकाले थप समय लाग्ने छ।
गएको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो। सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ। यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो।
आचार्यका अनुसार तुइन खोलाको पुल बनाउन ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो। पुलको मुग्लिङतर्फको झन्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ। बाँकी ३५ मिटर विस्फोट गर्न लागिएको सूचना अधिकारी आचार्यले बताए।
प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको हो। उनका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउन अनुमति प्राप्त भइसकेको छ। आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ।
यससँगै विस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत सम्भार गर्ने तयारी गरिएको छ। उनका अनुसार भरतपुरमा सेनासँग रहेको बङ्कर मर्मत गरेर त्यहाँ विस्फोटक पदार्थ राख्न लागिएको हो।
१० टन विस्फोटक पदार्थ झिकाइँदै छ। दुई महिनाभित्र विस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा विस्फोट गरी डाँडा भत्काउने तयारी छ। ‘हाम्रो योजनाअनुसार काम भए आगामी असार सम्ममा पुल नै बनिसक्छ,’ उनले भने।
यो खण्डमा पर्ने १९ पुलमध्ये चार पुल सन् २०२० मा निर्माण गरिएको थियो। बाँकी १५ पुल सँगसँगै निर्माण थालिएको हो। २०७६ चैत १० बाट पुल निर्माण थालिएको हो। पुलको लागत १ अर्ब २८ करोड छ। पछिल्लोपटक थप गरिएको म्याद आगामी पुस १० मा सकिँदै छ।
अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो। यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो। पुल ११ मिटर चौडा छन्।
सडक विस्तार गरेसँगै ९ देखि ११ मिटर फराकिलो बनेको छ। राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रूपमा यो सडक रहेको छ। यो सडक हुँदै दैनिक १० हजार भन्दाबढी सवारीसाधन आवतजावत गर्छन्। वर्षाको समयमा दुःख दिँदै आएको यो सडक विस्तार र पुल बनेपछि केही राहत हुँदै आएको छ।