दमौली। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा कालोपत्रका लागि नाला निर्माण थालिएको छ। उक्त खण्डको १० किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गत कात्तिकमा उक्त सडकको निरीक्षण गरेपछि निर्माण कम्पनीले काम सुरु गरेको हो।
सदरमुकाम दमौलीदेखि घुमाउने जोड्ने बुद्धसिंह मार्गको व्यास नगरपालिका–१३ सोढेंँसम्म १० किलोमिटर खण्ड अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिने छ। कु्ल ३२ किलोमिटर दुरीमध्ये चालू आर्थिक वर्ष १० किलोमिटर कालोपत्रका लागि बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिए।
सडक कालोपत्रका लागि भ्याटसहित ३४ करोड २७ लाख ४५ हजार ५ सय ६१ मा मैनाचुली÷सफल जेभी काठमाडौंले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ।
२०७९ भदौ २७ गते सम्झौता गरी २०८२ जेठ ३० सम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ। सम्झौताबमोजिम अस्फाल्ट प्रविधिको कालोपत्र, पक्की नाला, कटिङ र कल्भर्ट निर्माण गरिने छ।
आगामी असार मसान्तसम्म पक्की नाला निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि विष्णुराज तिवारीले जानकारी दिए। ‘पक्की नाला निर्माणका लागि अभाव नभएको हुँदा धमाधम काम भइरहेको छ। नाला सकिएछि कालोपत्रको काम सुरु हुनेछ,’ उनले भने।
गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ। दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे आँबुखैरेनी हुँदै घुमाउने पुग्नुभन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दुरी कम पर्दछ।
गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर यो वर्षका लागि ५ करोड बजेट विनियोजन गरेको छ। चितवन घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन।
घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन। गत हप्ताबाट मात्रै घुमाउनेमा पनि पुल निर्माणको काम सुरु भइसकेको छ।
तनहुँ आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–१ जोड्ने गरी त्रिशूली नदीमा निर्माण सुरु भएर अलपत्र बनेको पुलको काम पुनः सुरु भएको हो। पुल निर्माणको ठेक्का पाएको मृत सञ्जीवनी कन्स्ट्रक्सनका प्रतिनिधि सुवास उप्रेतीले छिटो काम सम्पन्न गर्ने कामलाई गति दिइएको जानकारी दिए।
२०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशतमात्रै काम भएको छ। १ सय ५ मिटर लम्बाइको पुलको लागत ९ करोड ५६ लाख छ।
उक्त पुल निर्माण सम्पन्न भएपछि पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटर दुरी छोटो पर्छ।
घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायात साधन तनहुँकै सिमानामा पुगेर फर्किन बाध्य छन्। मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ।