काठमाडौं। स्थापनाको ६० वर्ष टेक्दै गर्दा व्यावसायिक घराना वैद्यज अर्गनाइजेनसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस (भोइथ) आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गरेको छ।
ट्रेडिङ, कृषि र उद्योग क्षेत्रमा लगानी बढाइरहेको भोइथले भारतको प्रसिद्ध लक्जरी रिसोर्ट ब्रान्ड ‘पोस्टकार्ड’ नेपाल भित्र्याएर चितवन मेघौलीमा रिसोर्ट निर्माण अगाडि बढाएको घोषणा गरेको हो।
डा. स्वर्गीय विजयगजानन्द वैद्यले ६० वर्षअघि स्थापना गरेको भोइथले नेपालमा जापानी गाडी निर्माता कम्पनी टोयोटाका गाडी बेच्न थालेको ५७ वर्ष पूरा भइसकेको छ। अहिले भोइथ विजयगजानन्दका छोरा सुरज र उनका छोरा र छोरी अर्थात तेस्रो पुस्ताले नेतृत्व गरिरहेका छन्। लामो समयदेखि होटल तथा रिसोर्ट निर्माण गर्ने चर्चा गरेको भोइथले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट ‘सास्वता’ निर्माण गरिरहेको छ।
वैद्यज हस्पिटालिटीमार्फत छोरी सुवानाले ‘सास्वता’ रिसोर्टको नेतृत्व गरिरहेकी छिन्। करिब ५० करोड लगानीमा निर्माण भइरहेको रिसोर्ट पूर्णरूपमा लक्जरी हुने छ। ‘वाइल्डलाइफ टुरिज्म’ मा रमाउन चाहनेलाई लक्ष्यित गरी निर्माण गरिएको रिसोर्टको ६० प्रतिशत काम सकिइसकेको र अर्को वर्षदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सुवानाले जानकारी दिइन्।
नेपालमा हिमाल आरोहण, ट्रेकिङबाहेक जंगल सफारीका लागि आउने पर्यटक संख्या पनि अधिक रहेकाले उनीहरूलाई बसोबासका लागि उत्कष्ट सेवा सुविधा दिने उद्देश्यसाथ मेघौलीमै रिसोर्ट निर्माणमा अगाडि बढेको उनको भनाइ छ।
अमेरिकामा हस्पिटालिटी क्षेत्रमै उच्च शिक्षा अध्यनन गरेर नेपाल फर्किएकी सुवानाले केही वर्ष अघिबाटै रिसोर्ट तथा होटल निर्माणका लागि तयारी गरेकी थिइन्। कोभिड र आर्थिक मन्दी प्रभावले केही ढिलाइ भएको उनले बताइन्।
सुुरुमा आफूहरूले नै व्यवस्थापन गर्ने सोचसाथ निर्माण कार्य अगाडि बढाए पनि पोस्टकार्ड र आफूहरूको भिजन र मिसनसँग म्याच गरेका कारण व्यवस्थापनका रूपमा ल्याएको उनको भनाइ छ।
१२ बिघा क्षेत्रफलमा निर्माण भइरहेको रिसोर्टमा १७ भिल्लामा २२ कोठा रहने छ। अहिले रिसोर्टको भौतिक संरचना बनाउने काम सकिन लागेको र इन्टेरियरको काम सुरु भइरहेको सुवानाले जानकारी दिइन्।
चितवनमा होटल र रिसोर्ट धेरै रहेकाले केही पृथक देखाउन अफ्रिकन थिममा निर्माण गरिएको उनले बताइन। योसँगै रिसोर्ट आउनेलाई नेपालीपन झल्काउने खालका इन्टेरियर सजिसजावट पनि देख्न पाइेन छ।
पहिलोपटक भित्रियो भारतको लक्जरी ब्रान्ड पोस्टकार्ड
भारतको प्रसिद्ध लक्जरी रिसोर्ट ब्रान्ड ‘द पोस्टकार्ड’ नेपालमा पहिलोपटक भित्रिएको छ। सास्वता रिसोर्टको व्यवस्थापन हेर्ने गरी पोस्टकार्ड नेपाल आएको हो। पोस्टकार्डले भारतको गोवालगायत ठाउँमा लक्जरी रिसोर्ट सञ्चालन र व्यवस्थापन गर्दै आएको छ। उसले भारतबाहेक भुटान र श्रीलंकामा समेत रिसोर्ट सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।
अबो मिसन हिमाल
सुवानाकै नेतृत्वमा भोइथले खुम्बु क्षेत्रको फाक्दिङमा रिसोर्ट खरिद गरिसकेको छ। हिमाल, पहाड र तराई जोड्ने उद्देश्यसाथ भोइथले फाक्दीङमा रिसोर्ट खरिद गरेको हो।
सञ्चालनमै रहेको रिसोर्ट खरिद गरेकाले केही समयपछि मात्र भोइथको पूर्णस्वामित्व आउने छ। आफ्नो स्वामित्वमा आएपछि केही संरचना पुनर्निर्माण गरी सञ्चालन गर्ने योजना सुवानाको छ। फाक्दिङको रिसोर्ट व्यवस्थापन आफैं गर्ने वा विदेशी ब्रान्ड भित्र्याउने भन्ने निर्णय भने भइसकेको छैन।
विद्युतीय सवारीमा प्रवेश
टोयोटासँगै भोइथले चिया, ह्याचरी, मत्स्यपालन, शिक्षा, बिमाजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेका बेला विद्युतीय सवारी पनि भित्र्याएको छ।
वैद्यज इनर्जीमार्फत सुरजका छोरा सूर्यांशले भारतको चर्चित विद्युतीय स्कुटर एथर एक महिनाअघि सार्वजनिक गरेका छन्। उनले चारपाङ्ग्रे सवारी पनि ल्याउने तयारी थालेका छन्। ५७ वर्षदेखि पेट्रोलियम गाडी बेचिरहेको भोइथले पहिलोपटक विद्युतीय सवारी ल्याएका हो।