काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा दोलखा महोत्सव हुने भएको छ। स्थानीय उत्पादन प्रोत्साहन गर्न र पर्यटन क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक दोलखा भित्र्याउने उद्देश्यसाथ आगामी पुस १३ देखि २२ सम्म १० दिने वृहत दोलखा महोत्सव हुन लागेको हो।
दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा विशेषागरी र कृषि उत्पादनलाई जोड दिएर स्टल राखिने छ। महोत्सवमार्फत व्यापार-व्यवसाय चलायमान बनाइ जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवा प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघ अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
जिल्लाको आर्थिक, सामाजिक, धार्मिक र पर्यटकीय क्षेत्रको विकास, प्रचार र संवर्द्धनका लागि महोत्सवले ठूलो टेवा पुग्ने विश्वास अध्यक्ष श्रेष्ठको भनाइ छ।
संघ सचिव प्रविण श्रेष्ठले महोत्सव स्थल चरिकोट टुँडिखेलदेखि भ्यु टावरसम्म घोडचढी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकी प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्न सम्मान गर्न लागिएको बताए।
महोत्सव स्थलमा नाैवटै स्थानीय तहले स्टल राख्ने छन्। योसँगै किवी, ट्राउट माछा, अल्लोका कपडा, सिस्नुको पिठो, पदमचाल लगायत जडीबुटीकाे विशेष प्राथमिकतासहित स्टल उपलब्ध गराइने उनको भनाइ छ।
महोत्सव आउने पर्यटकलाई लक्ष्यित गरी त्यहाँका होटल तथा रिसोर्टले विशेष छुट प्याकेजसमेत सार्वजनिक गर्ने तयारी गरेका छन्। अबको केही दिनभित्र दोलखाका होटलले खान र बस्नका लागि विशेष प्याकेज नै सार्वजनिक गर्न लागेको उनले बताए।
योसँगै दोलखाबाट काठमाडौं चल्ने अरनिको र रोल्वालिङ यातायातले पनि महोत्सवका लागि यात्रा गर्नेलाई टिकटमा छुट दिने तयारी गरेको उनको भनाइ छ।
योसँगै कालिञ्चोक केबुलकारले पनि महोत्सव अवधिभरि आउने ग्राहकलाई छुट दिने तयारी गरेको छ। छुट घोषणा सामूहिकरूपमा केही दिनभित्रै सार्वजनिक गर्ने संघले जनाएको छ। काठमाडौंबाट १ सय ३७ किलोमिटर दुरीमा रहेको चरिकोट पुग्ने पक्की सडक पूर्णरूपमा तयार भइसकेको छ।
दोलखा धार्मिक एवं पर्यटकीयरूपमा धनी भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परिरहेको गन्तव्य हो। दोलखामा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, जिरी, च्छोरोल्पा हिमताल, गौरिशंकर हिमाल, रोल्वालिङ, लप्ची गुम्बालगाय धेरै धार्मिक एवं पर्यटकीय स्थल पुग्न सकिन्छ।योसँगै ट्राउट माछा, किवी र तामाकोशीको चिसो पानीमा पाइने माछाको स्वाद पनि दोलखामै लिन पाइन्छ।