काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एक दर्जन लघुवित्त संस्थाले लाभांश वितरण घोषणा गरेका छन्। ती लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।
लाभांश घोषणा गर्नेमा एनआइसी एसिया, युनिक, धौलागिरी, समता घरेलु, सपोर्ट, फर्स्ट माइक्रोफाइनान्स, आरएसडिसी, स्वावलम्बन, साना किसान विकास, आत्मनिर्भर, छिमेक र ग्लोबल आइएमई लघुवित्त छन्।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँबराबर चुक्ता पुँजीको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार नगद लाभांश वितरण प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न संस्थाले आगामी पुस ६ मा छैटौं वार्षिक साधारणसभा आह्वान गरेको छ। मंसिर २५ देखि पुस ६ सम्म यसको सेयरधनी बुक क्लोज हुनेछ।
त्यसैगरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी उक्त परिमाणबराबर लाभांश प्रस्ताव गरिएको संस्थाले जनाएको छ।
उता, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। संस्थाको हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाखको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनलाई ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजारको ५.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
उता, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३.६८ प्रतिशत लाभांश वितरण प्रस्ताव घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजारको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
त्यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उसले हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजारको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
अर्को लघुवित्त आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ९.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आरएमडिसीले हाल कायम चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
त्यसबाहेक स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३.०१ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। उसले हाल कायम चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजारको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
अर्को लघुवित्त साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण प्रस्ताव घोषणा गरेको छ। साना किसानले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजारको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिन लागेको हो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। संस्थाका अनुुसार हाल कायम चुक्ता पुँजी ६ करोड २३ लाख ३८ हजारको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरिएको छ।
त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आफ्ना सेयरधनीलाई १५ प्रतिशत नै लाभांश वितरण प्रस्ताव गरेको छ। हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
अर्को लघुवित्त ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। ग्लोबलले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाखको ६ करोड १८ लाख ९० हजारबराबर नगद लाभांश प्रस्ताव गरेको जनाएको छ।
कुन लघुवित्तले बाँड्दैनन् लाभांश?
आफ्ना सेयरधनीलाई लाभांश बाँड्ने प्रस्ताव घोषणा गर्ने एक दर्जन लघुवित्त वित्तीय संस्थाका सेयरधनीबीच खुसी सञ्चार भए पनि केही लघुवित्तले भने सेयरधनीका हात खाली गराउने भएका छन्।
हालसम्म पाँच लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन्। तिनमा सामुदायिक, हिमालयन, मनकामना स्मार्ट, गुराँस, ग्रामीण विकास र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड छन्।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १४ मा बसेको सञ्चालक समिति बैठक, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत कात्तिक २१, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ८, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २५, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ४ र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १६ मा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।