काठमाडौं। आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ। सोमबार अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो।
लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए। विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए।
“लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौँ”, अर्थमन्त्री महतले भने , “अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भनेर लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छ। नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो ।” नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो।
साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने भन्दै अर्थमन्त्री महतले नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेका जानकारी दिए। लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको उनले बताए।
“सम्पत्ती शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउँछन् । हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) को काम सक्छौँ। सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौँ”, विकास साझेदारसँगको छलफलमा अर्थमन्त्री महतले भने।
छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए। तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको उनले बताए।
सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ। सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ। सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो।