नेपालको भौगोलिक वनावटका कारण मुलुकका सबै क्षेत्रमा सडक सञ्जाल पहुँच हालसम्म पनि पुग्न सकेको छैन भने सडक सञ्जाल पहुँच भएका क्षेत्रमा समेत योे आवश्यकताअनुसार उपलब्ध र विश्वसनीय छैन। तसर्थ, नेपालमा हवाई यातायात सुरुवात भएको समयदेखि नै यो क्षेत्र मानिसको आवतजावत, अत्यावश्यक वस्तु ढुवानीका लागि यातायातको प्रमुख साधनका रूपमा रह्यो। व्यापारदेखि पर्यटन उद्योग चलायमान बनाउन यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ।
हाल नेपालका अधिकांश दुर्गम क्षेत्रका जिल्ला सदरमुकाम सडक यातायातसँग जोडिए पनि यो आशातित रूपमा भरपर्दो नभएकाले यी क्षेत्रमा अत्यावश्यक वस्तु आपूर्ति, मानिसको सहज आवतजावतमा हवाई यातायातको भूमिका अपरिहार्य नै छ।
नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आकारमा सानो र आर्थिकरूपले सम्पन्न नभए पनि विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरू रहेको देशका रूपमा आफ्नो परिचय बनाउन सफल छ। नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं साहसिक पर्यटनका लागि छनौटमा पर्ने गन्तव्यका रूपमा रहे पनि विगतका तथ्यांकका आधारमा हेर्दा नेपाललाई साहसिक पर्यटनको एक उत्कृष्ट गन्तव्यका रूपमा लिइएको पाइन्छ। नेपालको धरातलीय, जैविक तथा जलवायु विविधताले साहसिक, मनोरञ्जनात्मक एवं प्राकृतिक पर्यटनलाई आकर्षण गरेको देखिन्छ।
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा मनोरञ्जन, अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ। हवाई यातायातले यसरी गरिने यात्रालाइ गन्तव्यसम्म पुर्याउने काम गर्छ। पर्यटन उद्योग पर्यटक आवागमनका लागि हवाई यातायातमा निर्भर रहेको छ भने हवाई यातायात हवाई यात्रु सिर्जना गर्न पर्यटन उद्योगमा निर्भर रहेको छ। साथै, हवाई यात्राले विश्वव्यापी पर्यटकीय गतिविधिलाइ फस्टाउन महत्वपूर्ण कडीका रूपमा काम गर्छ। अन्तर्राष्ट्रिय पर्यटकको आधाभन्दा बढी पर्यटकले यातायात साधनका रूपमा हवाई यातायात प्रयोग गर्ने गर्छन्। तसर्थ, हवाई उद्योग र पर्यटन उद्योगको दिगो विकास एकअर्कामा आश्रित रहेको पाइन्छ।
नेपालमा हवाई यातायात सुरुवात भएको सात दशकभन्दा लामो अवधि पूरा भइसकेको छ। यो अवधिमा हवाई यातायात क्षेत्रले विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आइपुग्दा यो नेपाली जनजीवनको अत्यावश्यक र अभिन्न अंग भइसकेको छ। यसको सुरुवाती दिनमा यो दुर्गम क्षेत्रका लागि जीवनरेखाका रूपमा थियो, जुन हालसम्म विद्यमान छ र सुगम क्षेत्रका लागि विलासिताको साधनका रूपमा रहेको थियो। तर, वर्तमान अवस्थामा हवाई यातायात विलासिताको साधन रहेन।
यो क्षेत्रले देशको आर्थिक विकासमा विभिन्न तरिकाले प्रभाव पारेको हुन्छ। रोजगारी सिर्जना, वायुसेवा कम्पनीले गर्ने खर्च र यसको आपूर्ति शृंखलाबाट उत्पन्न हुने भुक्तानी, व्यापार चक्र र यसको प्रवाह, वायुसेवा कम्पनीको सेवा प्रवाहबाट उत्पन्न हुने पर्यटन र लगानीको अवसर आदि।
यसरी हेर्दा हवाई यातायातले पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्न र राज्यको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा महत्वपूर्ण योगदान गरेको देखिन्छ। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) को पछिल्लो तथ्यांकअनुसार नेपालको हवाई यातायात क्षेत्रले ४ लाख ५५ हजार रोजगारी उपलब्ध गराउन सहयोग गरेको छ। जसमध्ये वायुसेवा कम्पनी, विमानस्थल सञ्चालन, विमानस्थलका व्यवसाय, एयर नेभिगेसन सेवा प्रदाय आदिबाट प्रत्यक्षतर्फ १४ हजार, हवाई यातायात आपूर्ति शृृंखलातर्फ ३६ हजार, यो क्षेत्रमा प्रत्यक्ष रोजगारीबाट प्राप्त हुने तलब र ज्याला खर्चबाट सिर्जना हुने २३ हजार र पर्यटन क्षेत्रमा ३ लाख ८२ हजार रोजगारी सिर्जना भएको छ।
त्यसैगरी यो क्षेत्र र यसको आपूर्ति शृंखलाबाट २७ करोड २० लाख अमेरिकी डलर र अन्तर्राष्ट्रिय पर्यटकले गर्ने खर्च ८० करोड ७० लाख डलर गरी राज्यको जिडिपीमा १ अबै १० करोड डलरबराबर योगदान गरेको पाइन्छ। जसले समग्रमा राज्यको जिडिपीमा ३.७ प्रतिशतले योगदान गरेको देखिन्छ।
हवाई यातायात विश्वव्यापी उद्योगका रूपमा स्थापित भइसकेको छ जसले मानिस, उनीहरूको संस्कृति, व्यापार–व्यवसाय जोड्न सहयोग गरेको छ। साथै, विभिन्न देशका सहर जोड्ने ‘भर्चुअल ब्रिज’ का रूपमा काम गरेको छ। विश्वको एक महत्वपूर्ण उद्योग पर्यटन क्षेत्र नागरिक उड्डयनसँग प्रत्यक्ष जोडिएको छ र यी दुवै क्षेत्र समृद्धिको आधारका बनेका छन्, तर यी क्षेत्रको नियन्त्रण र प्रभावभन्दा बाहिर हुने आकस्मिक घटना, जस्तो विश्वव्यापी महामारी, आतंककारी गतिविधि, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप आदिले यी व्यवसायमा नराम्ररी असर पारेको हुन्छ। विश्वव्यापी कोरोना भाइरस महामारीका कारण भएको ‘लकडाउन’ ले हवाई यातायात एवं पर्यटन क्षेत्रमा अत्यन्त नकारात्मक प्रभाव परेको थियो। यसबाट यी क्षेत्रको अवस्था सन् २०१९ को बराबरीमा आउन २०२४ सम्म लाग्ने आँकलन छ।
त्यसैगरी यो क्षेत्र र यसको आपूर्ति शृंखलाबाट २७ करोड २० लाख अमेरिकी डलर र अन्तर्राष्ट्रिय पर्यटकले गर्ने खर्च ८० करोड ७० लाख डलर गरी राज्यको जिडिपीमा १ अबै १० करोड डलरबराबर योगदान गरेको पाइन्छ। जसले समग्रमा राज्यको जिडिपीमा ३.७ प्रतिशतले योगदान गरेको देखिन्छ।
वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिलको २०१९ मा प्रकाशित आर्थिक प्रभावसम्बन्धी प्रतिवेदनले पर्यटन उद्योगले पारेको प्रत्यक्ष, परोक्ष र पे्ररित प्रभाव विश्वव्यापी अर्थतन्त्रमा उल्लेखनीय छ। ८९ खर्ब डलरबराबर योगदान रहेको यो उद्योगको हिस्सा विश्व जिडिपीमा १०.३ प्रतिशत छ। ३३ करोड रोजगारी सिर्जना, विश्वको कूल निर्यातको ६.८ प्रतिशत र कूल सेवा निर्यातको २८.३ प्रतिशत योगदान रहेको छ भने कूल पुँजी लगानीको ४.३ प्रतिशत अर्थात ९४ करोड ८० लाख पुँजी लगानीमा यसको योगदान छ। यी तथ्यांकका आधारमा पर्यटन उद्योगलाई विश्वका अधिकांश देशको समृद्धिको आधारका रूपमा लिन सकिन्छ।
हवाई यातायात क्षेत्रको सबैभन्दा उल्लेखनीय लाभ हवाई यात्रु र ढुवानीकर्ताले प्राप्त गरेका हुन्छन्। हवाई यात्रु, ढुवानीकर्ता र अर्थतन्त्रमा यसको महत्व विदेशी पर्यटकले गर्ने खर्चबाट आँकलन गर्न सकिन्छ।
विश्वव्यापी आँकडा मूल्यांकन गर्दा पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा १ करोड ९६ लाख रोजगारीलाई हवाई यात्रुले गर्ने खर्चले सहयोग पुर्याएको पाइन्छ। अझ यसको महत्वपूर्ण आर्थिक प्रवाह हवाई यातायातको सहज कनेक्सनले हुने प्रत्यक्ष वैदेशिक लगानी हो। यसकोे माध्यमद्वारा सिर्जना हुने उत्पादनशील सम्पत्तिको कारण लामो समयका लागि जिडिपीमा योगदान हुने गर्छ।
पर्यटन उद्योगबाट वार्षिक १५ खर्ब डलर आर्जन हुने गरेको छ। विश्वबजारको निर्यातमा ७ प्रतिशत पर्यटन क्षेत्रको योगदान छ भने सेवा सुविधा निर्यातमा पर्यटनको ३० प्रतिशत हिस्सा छ। पर्यटन उद्योगले विश्व जिडिपीको १० प्रतिशत हिस्सा ओगटेको छ भने विश्वमा सिर्जना हुने १० रोजगारीमध्ये १ रोजगारी पर्यटन क्षेत्रको हुने गरेको छ। यसका आधारमा पनि पर्यटन व्यवसाय दिन प्रतिदिन विस्तार हुँदै गएको छ।
हवाई यातायात र पर्यटन उद्योग एकापसमा सहसम्बन्धका आधारमा जोडिएका हुन्छन्। यी दुई व्यवसायको एकापसमा गहिरो प्रभाव रहेको हुनाले एकअर्काको दिगो वृद्धिमा महत्वपूर्ण योगदान रहेको हुन्छ। हवाई यातायातले पर्यटकीय गन्तव्यसम्मको पहुँचलाई उल्लेखनीयरूपमा बढाउन मद्दत गर्छ। पहुचको सहजताले यात्रीलाई दूरदराजका नयाँ स्थानमा छिटो र आरामदायी यात्रा गर्न र पर्यटकलाई नयाँ गन्तव्य पहिचान गर्न, भ्रमण गर्नसमेत प्रोत्साहन एवं सहयोग पुर्याउने भएकाले पर्यटन उद्योगलाई विस्तार हुन सहयोग गर्छ।
पर्यटन उद्योग हवाई यातायात क्षेत्रलाई आर्थिकरूपमा सक्षम बनाउने एक प्रमुख कारकका रूपमा समेत लिइन्छ। पर्यटकलाई गन्तव्यसम्म पुग्ने छिटो छरितो मार्ग हवाईमार्ग भएकाले यसले आम्दानी सिर्जना गर्न मद्दत पुर्याउँछ भने हवाई यातायात क्षेत्रले पूर्वाधार र कनेक्टिभिटीका माध्यमबाट पर्यटन उद्योगलाई सहयोग गर्छ। सुविधासम्पन्न र किफायती पहुँच सुविधाले बढिभन्दा बढी मानिसलाई मनोरञ्जनका लागि यात्रा गर्न उत्प्रेरित गर्छ। हवाई यात्रा जति सहज हुन्छ त्यति नै बढी पर्यटक वृद्धि हुन्छ। परिणामस्वरूप दुवै क्षेत्र यसबाट लाभान्वित हुन्छन्।
हवाई यातायातले विश्वका अधिकांश क्षेत्रलाई सहजरूपमा जोडेको हुनाले विश्वका विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिस र तिनीहरूको संस्कृतिसमेत एकापसमा जोडिएका छन्। यसबाट यात्रीलाई फरक-फरक गन्तव्यको खोज तथा चयन गर्ने अवसर प्रदान गरेको हुनाले हवाई यातायातले पर्यटन उद्योगलाइ विश्वव्यापी बनाउन मद्दत गरेको देखिन्छ।
विमानस्थल र वायुसेवा कम्पनीहरू प्रायः क्षेत्रीय विकासका लागि उत्प्रेरकको भूमिका निर्वाह गरेका हुन्छन्। विमानस्थल निर्माण र विस्तारले रोजगारी सिर्जना गरेका हुन्छन भने स्थानीय क्षेत्रको आर्थिक विकास गर्न मद्दत पुर्याएको हुन्छ। यसरी हुने विमानस्थल क्षेत्रको विकासले पर्यटक आकर्षित गर्छ। परिणामतः पर्यटनसँग सम्बन्धित व्यवसायजस्तो होटल, रेस्टुरेन्ट, मनोरञ्जनात्मक सेवा व्यवसायको विकास पनि हुन जान्छ।
हवाई यातायातले विश्वका अधिकांश क्षेत्रलाई सहजरूपमा जोडेको हुनाले विश्वका विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने मानिस र तिनीहरूको संस्कृतिसमेत एकापसमा जोडिएका छन्। यसबाट यात्रीलाई फरक-फरक गन्तव्यको खोज तथा चयन गर्ने अवसर प्रदान गरेको हुनाले हवाई यातायातले पर्यटन उद्योगलाइ विश्वव्यापी बनाउन मद्दत गरेको देखिन्छ।
हवाई यातायातले मौसमी तथा अन्तर्राष्ट्रिय पर्यटकलाई उनीहरूको छनौटअनुसार गन्तव्य चयन गरी यात्रा गर्न सहजता प्रदान गरेको हुनाले सोहीअनुसार यात्राले पर्यटन उद्योगलाई दिगो बनाउन मद्दत गरेको छ। पर्यटन उद्योगले राज्यका लागि रोजगारी अवसर, पर्यटनसँग सम्बन्धित सेवावाट प्राप्त हुने राजस्व तथा वैदेशिक मुद्रा आर्जनजस्ता आर्थिक लाभ उत्पन्न गरेको हुन्छ।
नेपालका सन्दर्भमा विश्लेषण गर्दा हवाई यातायात र पर्यटन क्षेत्र एकापसमा निकट र परस्पर लाभदायक रहेका क्षेत्र हुन्। नेपाल यसको आश्चर्यजनक प्राकृतिक सौन्दर्य, पदमार्गी र आरोहीका लागि चुनौतीका रूपमा रहेका सुन्दर र विकट पहाडी र हिमाली गन्तव्यका रूपमा विश्वमा परिचित छ।
नेपाल प्रवेश गर्ने वाह्य पर्यटकमध्ये ९० प्रतिशतले हवाईमार्ग प्रयोग गर्ने र नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याउने र आकस्मिक अवस्थामा उद्धार गर्ने सहज माध्यम हवाई यातायात भएकाले पर्यटनका लागि हवाई यातायात अपरिहार्य छ। तर, अन्तर्राष्ट्रिय हवाई रुटमा अन्य मुलुकबाट नेपालका लागि हवाई टिकटको मूल्य तुलनात्मकरूपमा अत्यन्त महँगो छ जसले वाह्य पर्यटकको छनौटमा नेपाल पछि पर्ने गर्छ। यो क्षेत्रमा सरकारले लगाउने कर, हवाई इन्धनको अस्वाभाविक मूल्य, विमानस्थलमा सेवा प्रवाह गरेवापत लगाइने शुल्क सेवाको गुणस्तरको तुलनामा बढी हुनुजस्ता कारण यो वृत्तखण्डको मूल्य बढिरहेको देखिन्छ।
हाम्रो देशका सबै राजनीतिक दलले पर्यटन उद्योगलाई समृद्धिको आधार मानी आफ्ना नीति, कार्यक्रम तथा चुनावी घोषणापत्रमा यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको पाइन्छ। यद्यपि, यस क्षेत्रमा विद्यमान विभिन्न समस्या, जस्तो समय र परिस्थितिअनुसार नीति, कार्यनीति तथा कानुन परिमार्जन गरी विद्यमान कानुनी र नीतिगत जटिलता समाधान गर्नेतर्फ अग्रसर नहुनु, वर्तमान संविधानमा भएको प्रावधानअनुसार संघ, प्रदेश तथा स्थानीय सरकारको पर्यटनसम्बन्धी क्षेत्राधिकारलाई स्पष्ट पार्न नसक्नु, सरकार र पर्यटन क्षेत्रका विभिन्न संस्थाबीच सहकार्य र समन्वय अभावमा यो क्षेत्रले आशातित गति लिन नसक्नु, सीमित पर्यटकीय वस्तुमा भएको निर्भरता हटाइ नयाँ पर्यटकीय गन्तव्य एवं नयाँ पर्यटकीय वस्तु उत्पादन तथा खोजमा उचित ध्यान दिन नसक्दा पर्यटन उद्योगलाइ विविधिकरण गर्न नसक्नु, पर्यटन उद्योगमा भएको वृद्धि सँगसँगै यो क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको उत्पादन र विकास हुन नसक्दा दक्ष जनशक्ति अभावले गुणस्तरीय सेवा प्रवाह गर्न नसक्नु, पर्यटकलाई गन्तव्यसम्म पुर्याउन आवश्यक सडक तथा हवाई यातायात सर्वसुलभ पहुँच एवं सडक यातायात क्षेत्रमा स्तरीय साधनका सर्वथा अभाव देखिनु, विश्वव्यापी कोभिड महामारीका कारण थला परेको पर्यटन तथा हवाई उद्योगलाइ सरकारबाट आवश्यक सहयोग उपलब्ध नहुनु, नेपालको हवाई उडान सुरक्षाबारे विश्वसमुदायले शंकाको दृष्टिले हेर्दा गुणस्तरीय पर्यटक संख्यामा उल्लेख्य वृद्धि गर्न नसक्नुलगायत दीर्घकालीन र उचित सम्बोधन गर्ने गरी न सरकार न कुनै राजनीतिक दलले ठोस कार्यक्रम ल्याउन र कार्यान्वयन गर्न जिम्मेवारी र इमान्दारीपूर्वक प्रस्तुत भएका छन्। यस्तो स्थितिमा यी क्षेत्रको विकास र विस्तार फगत नारामा मात्र सीमित हुन पुगेका छन्।
हवाई यातायात र पर्यटन उद्योगको दिगो विकास र सफलताका लागि एकापसमा निर्भर छन्। सहज पहुँच, आर्थिक र सामाजिक प्रभाव, यात्रा सुविधाले पर्यटन क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय प्रभाव पारेको छ भने पर्यटन उद्योगले हवाई यात्राको सेवाको माग सिर्जना र पूर्तिमा महत्वपूर्ण भूमिका खेलेको छ। तसर्थ, राज्यमा पर्यटन विकास तथा विस्तारका लागि सरकारले वायुसेवा कम्पनी तथा हवाई क्षेत्रका अन्य सेवा प्रदायीसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखिन्छ।
यसको लागि सरकारले पर्यटन बोर्डमार्फत वायुसेवा कम्पनीलाई नयाँ गन्तव्य पहिचान गरी रुट स्थापना गर्न प्रोत्साहन गर्नु आवश्यक छ। पर्यटन व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिने विषयलाई राष्ट्रिय कानुनमा लिपिबद्ध गर्न आवश्यक छ। नेपालको पर्यटन उद्योगलाइ दिगोरूपमा विकास गर्न राज्यले पर्यटकीय गन्तव्यका नतिजामूलक प्रचार-प्रसार, यस क्षेत्रको विकास र विस्तारसँग समयसापेक्ष हुने गरी आवश्यक पर्ने जनशक्ति विकास र क्षमता विस्तार, वातावरण तथा प्राकृतिक सम्पदा संरक्षण प्राथमिकतामा राखी नयाँ पर्यटन गन्तव्य पहिचान, खोज, विकास र पर्यटन वस्तुमा विविधिकरण एवं महामारी जोखिम कम गर्ने र क्षतिपूर्ति वहन गर्न सक्ने कार्ययोजना निर्माण तथा कार्यान्वयन साथै नेपालको हवाई क्षेत्र सुरक्षित, नियमित, मितव्ययी र प्रभावकारी बनाउन आवश्यकता पहिचानका आधारमा हवाई क्षेत्रका सेवा प्रदायीको विकास तथा विस्तार र उडान सुरक्षा प्रत्याभूतिका लागि नागरिक उड्डयन क्षेत्रमा संरचनागत सुधारको आवश्यकता देखिन्छ।
(गाैतम नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्।)