काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयरको ‘लक इन पिरियड’ सम्बन्धी व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। सेबोनले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन पिरियडसम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्तालाई समेत त्यससम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न निर्देशन दिएको हो।
सेबोनका अनुसार धितोपत्र बजारमा हुने कारोबार थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकाले यसलाई प्रभावकारी बनाउन लागिएको हो।
अब सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको सेयर बिक्री गर्ने नपाइने गरी तोकिएको लक इन पिरियड समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनुपर्ने छ।
यसमा सेयर लक इनमा रहेको वर्ग, लक इनमा रहेको कुल सेयर संख्या, लक इन पिरियड समाप्त हुने मितिसमेत स्पष्ट खुलाइ सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, त्यसको जानकारी बोर्ड, नेप्से र सिडिएस एन्ड क्लियरिङलाई उपलब्ध गराउनुपर्ने छ।
त्यस्तै त्यससम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन पिरियड समाप्त भएपछिको एक सातासम्म सबैले सहजै देख्न सक्ने गरी सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा समेत राख्नुपर्ने पनि सेबोनले जनाएको छ।