काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारका लागि प्रदान गर्ने फर्म, कम्पनी वा संस्थाको अवधि बढाएको छ।
राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गरी यस्तो अवधि बढाएको हो।
यो संशोधनले विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र प्रदान गर्न उपयुक्त देखिएका फर्म, कम्पनी वा संस्थालाई विनियमबमोजिमको शुल्क लिई प्रदान गर्ने अवधि पाँच वर्ष बनाएको छ। यस्तो व्यवस्था यसअघि तीन वर्षमात्रै तोकिएको थियो।
त्यस्तै होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सीलगायतका फर्म, कम्पनी वा संस्थाहरूले वा अन्य सेवा प्रदायक कम्पनी तथा संस्थाहरूले विदेशी पर्यटक तथा ऐनबमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेवापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकारमात्र गर्ने व्यवस्था गरिएको छ।
यस्तै होटलहरूले राष्ट्र बैंकले समय समयमा तोकिदिएको सीमासम्म आफ्ना ग्राहकलाई नगद परिवत्र्य विदेशी मुद्रा सटही प्रदान गर्ने व्यवस्था यथावत राखिएको छ। इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्दा म्याद उल्लेख नभएको इजाजतपत्र प्रदान गरिने छ र त्यस्तो इजाजतपत्र नवीकरण गर्नु नपर्ने नयाँ व्यवस्था थप गरिएको छ।
तर, यस विनियमावली (संशोधनसमेत) लागु हुँदाको बखत इजाजतपत्र लिइसकेका बैंक तथा वित्तीय संस्थाले साबिकको इजाजतपत्रको म्याद समाप्त हुने मितिले ९० दिनभित्र निवेदन पेस गरे म्याद उल्लेख नगरी नयाँ इजाजतपत्र प्रदान गरिने व्यवस्था विनियमावलीमा उल्लेख छ।
साथै, राष्ट्र बैंकले प्रचलित व्यवस्थाबमोजिम मर्जर वा प्राप्तिमा सहभागी भई नयाँ नाम कायम हुने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका हकमा साबिकको इजाजतपत्र फिर्ता लिई इजाजतपत्र प्राप्त संस्थाको नामबाहेक अन्य सम्पूर्ण बेहोरा साबिकको इजाजतपत्रमा उल्लेख भएबमोजिम कायम हुने गरी नयाँ इजाजतपत्र प्रदान गरिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। जसमा यस्तो इजाजतपत्रका लागि कुनै शुल्क लाग्ने छैन।
राष्ट्र बैंकले विनियमावलीबाट होटलहरूलाई विदेशी मुद्रा लिन पाउने सुविधा पनि उपलब्ध गराएको छ। यसअघि होटलहरूलाई विदेशी मुद्रा लिन पाउने सुविधा भए पनि दिन पाउने सुविधा भने थिएन। तर, संशोधित विनियमावलीअनुसार होटल, रिसोर्ट, ट्राभल एजेन्सी, एयरलाइन्स, कार्गो कम्पनी, ट्रेकिङ एजेन्सीलगायत फर्म, कम्पनी वा संस्थाहरूले वा अन्य सेवा प्रदायक कम्पनी तथा संस्थाहरूले विदेशी पर्यटक तथा ऐनबमोजिम विदेशी विनिमयमा भुक्तानी गर्न सक्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई वस्तु तथा सेवा बिक्री गरेवापत विदेशी विनिमयमा हुने भुक्तानी स्वीकार गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार डिपार्टमेन्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीनतारे तथा त्यसभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्रा कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि १ लाख रुपैयाँ र अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि ५० हजार रुपैयाँबराबरको इजाजतपत्र बहाल रहने मितिभन्दा कम्तीमा १५ महिना बढी अवधिको बैंक जमानत पेस गर्नुपर्ने छ।
बैंक जमानतको सट्टामा सोही रकमबराबरको नगद धरौटी राष्ट्र बैंकमा जम्मा गर्न पनि सकिने व्यवस्था गरिएको छ।