भोजपुर। नेपालका सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा १ लाख पर्यटक पुगेका छन्। प्राकृतिकरूपमा सुन्दर यो स्थानमा तीन महिनामा १ लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ।
अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको संख्या बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए।
पदमार्ग आसपास निर्माण भएका किराँती संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठुल्ठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने उनको भनाइ छ।
मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक संख्या बढेको छ,’ प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेका छौं। यहाँको प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको छ।’
यहाँ किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्किने परिकार, गोठवालाले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन्। यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा परिचित छ।
उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्त्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ।
किराँत राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो। करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ विश्राम स्थल, २३ खानेपानी धारा, ५७ ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ।
किराँत राईको संस्कृति झल्कने (चिण्डो आकार) का १५ वटा पोखरी निर्माण गरिएको छ। पर्यटनलाई माथि उकास्न आन्तरिक र वाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यसाथ काम भइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटक आवमगन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगतरूपमा अनुगमन गरिएको छ।