जाजरकोट। जाजरकोट भूकम्पबाट ९ करोड रूपैयाँभन्दा बढीको खाद्यान्न नष्ट भएको छ।
३४ हजार ५ सय १ घरमा भण्डारण गरिएक ९ करोड २६ लाख ५८ हजा९ सय रुपैयाँबराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।
गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
६.४ म्याग्निच्युडको भूकम्पले भत्किएका ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७ सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ।
जाजरकोट भूकम्पले जिल्लाभरि ५ करोड ४१ लाख ४२ हजार १ सय ७२ रूपैयाँबराबरका पशुपन्छी क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५ सय ६७ मानिस प्रत्यक्ष प्रभावित भएका छन्
खाद्यान्न भण्डारण आग्रह
कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।
खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आएने जनाइएको छ।
जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो। जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ।