काठमाडौं। एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले काम सुरु गरेको छ। छानबिन समितिले आइतबारबाट औपचारिकरूपमा काम सुरु गरेको हो।
नेपाल सरकारको मंसिर २१ मा बसेको मन्त्रिपरिषद बैठकले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रचलित नेपाल कानुन परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।
अब नेपाल सरकारबाट प्राप्त कार्यादेशभित्र रही तोकिएको समयसीमाभित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन सरकारलाई ३० दिनभित्र बुझाउनपर्ने छ।
अध्ययन तथा छानबिन क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव प्राप्त गर्ने अधिकार समितिलाई दिइएको छ।
काम सुरु गरेसँगै समितिले एनसेलको सेयर खरिद-बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरू भए समितिको आधिकारिक ई-मेल ठेगाना वा समितिको सचिवालयमा उपलब्ध गराइ अध्ययन तथा छानबिन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।
समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा छ। सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।
समिति सदस्यमा सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यान अध्यक्ष सुजनकुमार काफ्ले छन्।
सरकारले यस समितिलाई एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ।