काठमाडौं। केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याज घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याज घटाउन सुरु गरेका छन्। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै कुमारी बैंकले नयाँ ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको थियो।
केन्द्रीय बैंकले समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरुले नयाँ ब्याजदर घटाएर प्रकाशित गर्न थालेका हुन्। केन्द्रीय बैंकले ७ प्रतिशत रहेको नीतिगत दरलाई ६.५ प्रतिशतमा झारेको हो।
बैंकमा लगानी योग्य रकम थुप्रिँदै गएसँगै केन्द्रीय बैंकले कर्जाको ब्याज सस्तो बनाएर ऋण प्रवाह गर्न खोजेको छ। केन्द्रीय बैंकको उद्देश्य अनुरुप बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका हुन्। आउने महिना कर्जाको ब्याज पनि सस्तो हुने छ।
कुमारी बैंकले ब्याजदर मंसिर २४ गतेदेखि नै लागू हुने गरी घटाउने निर्णय गरेको हो। निक्षेपको ब्याजदर २४ गतेबाट नै लागू भयो। कर्जाको ब्याजदर यही पुस १ गतेदेखि घट्नेछ।
कुमारीको नयाँ ब्याजदर अनुसार एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ। यसअघि १०.०१० प्रतिशत थियो। अहिले औसत कर्जाको ब्याजदर एकल अंकमा आइसकेको छ। अब ऋणको ब्याज पनि एकल अंकमा आउने सम्भावना छ।
केन्द्रीय बैंकले मूल्य वृद्धि नियन्त्रणमा लिन ब्याजदर वृद्धिलाई मुख्य प्राथमिकता बनाएको थियो। अहिले विस्तारै मूल्य वृद्धि नियन्त्रणतर्फ उन्मुख भएकाले ब्याजदर वृद्धिलाई रोकेर घटाउने तर्फ लागेको हो। त्यही भएर एनआईसी एसिया र कुमारी बैंकले एडभान्समै ब्याजदर घटाएका हुन्। अन्य बैंकहरु पनि ब्याजदर घटाउने तयारीमा छन्।
२०८० असोज मसान्तमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत छ। गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत थियो। २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मूल्य वृद्धि ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.८१ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ८.०५ प्रतिशत र ८.८५ प्रतिशत थियो।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत छ, जुन गत वर्षको सोही अवधिमा १३.७३ प्रतिशत थियो । समीक्षा अवधिमा तलब तथा ज्याला दर सूचकांक ५.६५ प्रतिशतले बढेको छ, जुन गत वर्ष ११.५९ प्रतिशतले बढेको थियो ।
पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू–राजनीतिक तनाबले मूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ। तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घटन थालेको र नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा रहेको छ।
त्यही भएर केन्द्रीय बैंकले विस्तारै ब्याजदर घटाएर आर्थिक गतिविधि चलायनमान बनाउन खोजेको छ। र बैंकले निक्षेपको ब्याजदर पनि घटाउन थालेका छन्।
वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा ६.४ प्रतिशतले बढेको थियो।
गत वर्षको तुलनामा कर्जा प्रवाह झन घटेपछि केन्द्रीय बैंकले केही खुकुलो नीति लिएको हो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.२ प्रतिशतले बढेको थियो। एकातिर निक्षेप बढ्ने र अर्कोतिर कर्जा विस्तार घट्ने भएपछि सरकार र केन्द्रीय बैंक दबाबमा परेको थियो।