रामपुर (पाल्पा)। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताएका छन्।
पाल्पा रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भन्नेमा जोड दिनुपर्ने बताए।
सहकारीले धेरैलाई रोजगारी दिएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले अब रोजगारीसँगै उत्पादनमा जोडिन सुझाव दिए। ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भनेमात्र आर्थिक समृद्धि हुने उनको भनाइ छ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सहकारी संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै पूर्वी पाल्पाको विकासका गतिविधिबारे जानकारी दिए।
श्रेष्ठले रामपुर आर्यभञ्ज्याङ सडक, रामपुर फाट सिँचाइ आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चार भौतिक नमुना सहरमध्ये रामपुर पनि छनौटमा परेकाले रामपुरलाई भौतिक सहरको नमुना सहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन अनुरोध गरे।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले छरिएर रहेको पुँजीलाई सहकारीले सङ्कलित उपयोग गरेको बताउँदै सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिकाले हातेमालो गरेर काम गरेको उल्लेख गरे।
सहकारी अध्यक्ष गुरुप्रसाद रेग्मीले छरिएर रहेको पुँजी एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमुना सहकारीका रूपमा अगाडि बढाइएको जानकारी र्दिए।