कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
सुर्खेत उद्योग वाणिज्य संघको ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने बताए।उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सिर्जना नै हो। वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सिर्जना गर्न सकिन्छ। कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ।’
मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाए। एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सिर्जना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछि परेको नभई पछाडि पारिएको जिकिर गरे।
पटक-पटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग संघीय सरकारसँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, ‘जनसंख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्थाअनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनुपर्दछ। राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ।’
यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योगी–व्यवसायीहरूको साझा बुझाइ हुनुपर्नेमा उनको जोड थियो।
कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताएका उनले राजधानीसँग सिधै जोड्ने गरी यहाँ रहेका १० विमानस्थलको स्तरवृद्धि र व्यवस्थापनमा ध्यान दिइएको जनाए।!