संसारमा नेपाल भन्नेबित्तिकै सगरमाथाको देश भनेर चिनिन्छ। हिमालै हिमालको देशका रूपमा परिचित नेपालमा हिमाल आरोहणका लागि र हिमाल हेर्नकै लागि हजारौं विदेशी पर्यटक वर्षेनि आउँछन्। अहिलेसम्म जति पर्यटक नेपाल आएका छन्, ती सबै निजी क्षेत्रको प्रयासमा आएका हुन्। खासगरी विश्वबजारमा पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्ड सुस्ताएको छ। र, जसका कारण निजी क्षेत्रले नै आफ्नै प्रयासमा विश्वबजार गएर पर्यटक नेपाल बोलाइरहेका छन्।
नेपालको प्रतिनिधित्व गर्ने हिमाल र हिमाली क्षेत्रको प्रचारप्रसारमा समेत सरकार सुस्ताएको छ। अझ, पछिल्लो समय नेपाल पर्यटन बोर्डमा राजनीतिक नेतृत्व हावी हुँदै गएपछि झनै शिथिल बनेको निजी क्षेत्रको आरोप छ। सन् १९८८ देखि पर्यटन क्षेत्रमा क्रियाशील निमानुरू शेर्पा अहिले नेपाल पर्वतारोहण संघ अध्यक्ष छन्। नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य भइसकेका शेर्पाले खुम्बु क्षेत्रमा लामो समयदेखि होटल, ट्रेकिङ र अल्टिच्युड हेलिकोप्टर सञ्चालन गर्दै आएका छन्।
आफ्नो उमेरको आधा समय पर्यटनमा बिताएका शेर्पालाई अहिलेको बोर्डको नेतृत्व र सरकारको काम कारबाहीप्रति असन्तुष्ट छन्। शेर्पासँग पर्वतारोहण क्षेत्रमा सरकारले गरेको लगानी र अब गर्नुपर्ने कामको विषयमा क्यापिटल नेपालका लागि सुवास योञ्जन र पदम भुजेलले गरेको कुराकानी :
नेपालमा आउने पर्यटकमध्ये हिमाली पर्यटकको हिस्सा ठूलो छ। तर, पछिल्लो केही वर्षयता हिमालका विषयमा नकारात्मक विषय पनि फैलिरहेका छन्। अर्थात, फेक रेस्क्यु, सगरमाथामा लाम लागेका तस्बिर आइरहेका छन्। यो समग्र घटनालाई तपाईंले कसरी हेर्नुभएको छ?
यी विषयलाई हामीले नकारात्मक प्रचारका रूपमा लिनु हुँदैन। विश्वको सबैभन्दा अग्लो हिमाल नेपालमा छ। सगरमाथा जस्तो अग्लो हिमाल आरोहण गर्न सुरु भएको ५०/६० वर्ष भइसकेको छ। यसरी चरणबद्धरूपमा हिमाल चढ्ने क्रममा जुन मानिस लामबद्ध भयो भन्ने कुरा आएको छ, यो स्वाभाविक हो। हिमाल चढ्ने रुट भएका कारण त्यहाँ मानिस धेरै हुनु राम्रो हो। यसलाई हामीले नकारात्मक रूपमा लिनु हुँदैन। किनभने, राम्रो मौसम भएको दिन नै मानिसले हिमाल चढ्ने काम गर्छ। यसर्थ, राम्रो र अनुकूल मौसम भएको दिन पारेर हिमाल चढिने भएकाले पनि एकै दिन धेरै मानिस हुने र धेरै मानिसको लाइन बन्ने हुन्छ।
फेरि यस्तो लामबद्ध सँधै हुँदैन। कुनै समय एकै समयमा धेरै मानिस चढ्ने अवस्था बन्यो भने यस्तो अवस्था सिर्जना हुन्छ। यसर्थ, यो हाम्रा लागि सकारात्मक विषय हो। मानिस यसरी लामबद्ध भएर हिमाल चढ्नुले यसप्रति मानिसको आकर्षण छ र धेरै मानिस हिमाल चढ्दा रहेछन् भन्ने सन्देश जान्छ। एकातर्फ हामी पर्यटक धेरै आउनुपर्छ, धेरै ल्याउनुपर्छ भनेर प्रचार गरेर बस्ने तर अर्कातर्फ हिमाल चढ्न आएका मानिसको भिड भयो भन्दै नकारात्मकरूपमा लिनु हुँदैन। हाम्रोमा धेरै मानिस आउनु, सगरमाथा चढ्नु फाइदाजनक विषय हो। जतिधेरै पर्यटक यहाँ आउँछन्, त्यसको बढिभन्दा बढी फाइदा हामीलाई नै हुन्छ।
हिमाल आरोहण गर्ने पर्यटक संख्या निरन्तर बढिरहेको छ। यो संख्या बढ्दै गर्दा फोहोर पनि बढ्दै गएको छ। केही समयअघि फोहोर संकलन गर्ने कार्य पनि भएको थियो। यद्यपि, यो प्रभावकारी हुन सकेको छैन। फोहोर उठाउने विषयमा केमा कमजोरी भएको हो?
सबै विषयको सकारात्मक र नकारात्मक पाटो हुन्छ। पहिला सुरुमा हिमाल प्रवद्र्धन गर्ने कुरामा हिमालमा मानिस कसरी आकर्षित गर्ने? हिमाल चढाउने भन्ने विषयमा कसरत गरिएको थियो। सुरु–सुरुमा हिमाल चढ्ने कुराको थालनी गर्दा फोहोर व्यवस्थापनलगायत विषय ध्यानमा पनि परेका थिएनन्। तर, अहिले भने हिमाली क्षेत्र र हिमालमा फोहोर व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा हामी लागि परेका छौं। यो चेतना आएका कारणमात्रै हाल फोहोर सफा गर्ने कुराहरू नीतिगतरूपमा नै आइरहेका छन्। फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयका सन्दर्भमा पर्वतीय पर्यटन नियमावली संशोधनको काम भइरहेको छ। हाल हामी २०३५ सालकै पर्यटन ऐन मानेर बसेका छौं। त्यो बेलामा यस विषयमा ध्यान नदिएका कारण ऐनमा पनि यी विषयहरू उल्लेख थिएनन।
पहिला स्वविवेकले वा कुनै सानो समूहले स्वस्फूर्त सफा गर्ने र सफा राख्नुपर्छ भन्ने विषयमात्रै थियो। तर, अहिले कानुनीरूपमा नै व्यवस्था गर्ने विषय आउँदैछ। यद्यपि, हाल हिमाल आरोहीहरू फोहोर गर्नुहुन्न भन्ने विषयमा सचेत हुँदै पनि गएका छन्। विगत ८/१० वर्षदेखि हिमाल सफा गर्ने काम निरन्तर पनि भइरहेको छ। आज हिमालमा भएको फोहोर हिजो अस्ति चढ्ने मानिसले मात्रै गरेको फोहोर होइन। यो ५० वर्ष अगाडिदेखि गरिएको फोहोर हो। यसर्थ, यसलाई सफा गर्न चुनौती पनि छ। सफा गर्न समय पनि लाग्ने देखिन्छ। सबैले ध्यान दिएएका कारण अब हिमालको फोहोर व्यवस्थापनको विषय राम्रोसँग हुन्छ भन्ने मलाई लाग्छ।
पछिल्लो समय जलवायु परिवर्तनको विषय पनि उठिरहेको छ। हिमाल पग्लिँदै गएको भन्ने कुरा पनि आइरहेको छ। यसको वास्तविकता के हो? यी समस्या समाधानका लागि कसले के भूमिका निर्वाह गर्नुपर्छ?
हिमाल पग्लिने विषय भइरहेको छ। जलवायु परिवर्तनको विषय विश्वभरिका लागि नै चासो र छलफलको विषय बनेको छ। ब्ल्याक कार्बनका विषय पनि उठिरहेका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययअनुसार पनि विश्वको तापक्रम प्रत्येक दशकमा ०.५६ सेल्सियस बढेको देखाएको छ।
अब यही तरिकाबाट तापक्रम बढ्दै जाने हो भने आउने शताब्दीमा तीन डिग्रीसम्म तापक्रम बढ्ने देखिन्छ। हिउँ चिसो मौसममा पर्ने र गर्मीको समयमा पग्लिने कार्य स्वाभाविक पनि हो। हिउँबाट बनेको जुन ग्लेसियर अहिले पग्लिएर हाल पोखरी बन्दै गएका छन्। यसरी बनेको पोखरी तापक्रम बढ्दै गएपछि फुट्ने जोखिम पनि हुन्छ। यो सर्वसाधारण सबैलाई जानकारी भइसकेको छ। यसको प्रभाव पनि प्रत्यक्षरूपमा हिमालमा नै छ। जलवायु परिवर्तनको असर परेको हुनाले गरिब राष्ट्रले त्यसको क्षतिपूर्ति पाउनुपर्यो मात्रै भनेर हुँदैन।
हामीले के गरिरहेका छौं त्यो विषय पनि हामीले अन्तर्राष्ट्रियस्तरमा लग्न आवश्यक छ। हिमालमा जाने मानिसलाई ट्रेन्ड गर्ने र गाइड गर्ने कुरा पनि सरकारले गर्न आवश्यक छ। सरकारले हाम्रो एसोसिएसनसँग समन्वय गरेर व्यवस्थित गर्ने विषयमा जानुपर्ने देखिन्छ। हिमालको ग्लोबल वार्मिङलगायत विषयमा व्यक्तिगत तथा सामूहिकरूपमा हामी सबैले ध्यान दिन आवश्यक छ। हामीले लगाएको ज्याकेट दसपटक परिवर्तन गर्ने ठाउँमा पाँचपटक मात्रै परिवर्तन गर्यौं भने त्यो पनि वातावरणका लागि एक किसिमको योगदान हो। यस्तै हिमालमै काम गर्ने मानिसलाई सरकारले प्रोत्साहन गर्न आवश्यक छ। हिमालमा रोजगारीका काम गर्ने र हिमालमै काम गर्ने मानिसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय सरकारले गम्भीररूपमा लिनुपर्छ। यसमा सरकार चुकेको जस्तो मलाई लाग्छ।
विदेशबाट हिमाल चढ्न आउने पर्यटकहरू हिमाली भेगका शेर्पाहरूको सहयोग पाउने आशमा आएका हुन्छन्। तर, अहिले हिमाल चढ्ने शेर्पाहरू कम हुँदै गएका छन् र धेरैले त्यो स्थान छाड्ने पनि गरेका छन्। हिमाल चढ्ने पर्यटक बढ्दै जानु तर शेर्पाहरू कम हुनुले कस्तो असर पुर्याउँछ? यसलाई व्यवस्थित गर्न के पहल गर्नुभएको छ?
हामीले हिमालमा जाने मानिसका लागि दक्ष जनशक्ति आवश्यक पर्छ भन्ने विषय उठाउँदै आएका छौं। यसले गर्दा त्यहाँ सुरक्षित आरोहणको सुनिश्चितता हुन्छ। हिमालमा हुने गार्बेज व्यवस्थापनका लागि त्यससम्बन्धी तालिमहरू आवश्यक पर्छ। हाम्रो एसोसिएसनको स्रोत नै कम भएका कारण पनि उल्लेख्य काम भने गर्न पाएका छैनौं। सुरुमा खुम्बुका शेर्पाबाट नै हिमाल आरोहणको काम भएको देखिन्छ। हरेक मानिसले आफ्नो सुरक्षित जीवन र सहज वातावरण खोज्छ। उनीहरूको काम मौसमी काम हो। यसर्थ, उनीहरूको जीवनशैली सुरक्षित बनाउने र आवश्यक्ता पूरा गर्नका लागि आवश्यक कुराहरू उपलब्ध गराउनुपर्छ।
यदि हिमाल चढ्नका लागि पर्यटकलाई सहयोग गर्ने जनशक्ति भएन भने हिमाल भएरमात्रै केही हुँदैन। नेपालको पर्यटन नै हिमालसँग जोडिएको छ। हाम्रो पर्यटन व्यवसायको मुख्य ब्रान्ड भनेको नै हिमाल हो। यसर्थ, सरकारले पनि यसतर्फ ध्यान दिन आवश्यक छ। हामीले हिमाललाई ठिक ठाउँमा ल्याएर ब्रान्डिङ गरेको खण्डमा यसले हाम्रो पर्यटनमा सकारात्मक प्रभाव पार्छ। यो विषयलाई लिएर हामीले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग पनि धेरै कुरा राखेका छौं। हामीले कुरा गरेकै कारण सरकार र सम्बन्धित निकायले आज सकारात्मक ढंगले लिएको छ। हाम्रो एसोसिएनसले पिकहरू पहिचान गर्दै आएको छ। केही दिनअघि बाहिरको पिक पनि हामीलाई पहिचान गर्नका लागि निर्णय दिइएको छ।
नेपाल सरकारको साथसाथै एसोसिएनले पनि हिमालको प्रचार गर्नका लागि कुराहरू आइरहेका छन्। तर, हामीले हाम्रो संस्थाको मूल्य, मान्यता र उद्देश्यमा रहेर काम गर्नुपर्छ। यसो गरेको खण्डमा राम्रो हुँदै जान्छ। केही दिनअघि नेपाल पर्वतारोहण संघको ५०औं वार्षिकोत्सव मनाइएको छ। यसमा राष्ट्रपति नै सहभागी हुनुहुन्थ्यो भने अन्य २० देखि ३० देशका प्रतिनिधिको उपस्थिति थियो। यसर्थ, हामी सम्झाउनुपर्ने, बुझाउनुपर्ने विषयमा खासै पछाडि परेका छैनौं। हामीले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट निकै प्रयास गरेका छौं।
हिमाल चढ्ने र हिमाल चढाउन सहयोग गर्ने जनशक्ति पछिल्लो समय पलायन भइरहेको उदाहरण पनि थुप्रै छन्। यसले हाम्रो हिमाली पर्यटन र व्यवसायमा कस्तो असर पुर्याउँछ? यो अवस्थालाई कसरी लिनुभएको छ?
मानिसले जीवन जिउने क्रममा एउटै क्षेत्रमा मात्रै अडिएर बस्नुपर्छ भन्ने हुँदैन। यो मानिसको चाहना र इच्छामा भर पर्छ। यस्तै अहिले हिमाल चढ्ने शेर्पाहरू छैनन् भनेर पनि भन्न मिल्दैन। अहिले हाम्रो संस्थाले तालिम दिएको गाइडहरू नै करिब ७२/७३ जनाभन्दा बढी हुनुहुन्छ। यस्तै अन्य संस्थाले टे«निङ गराएका मासिनहरू पनि छन्। यसमा पहिलेदेखि व्यावसायिकरूपमा काम गर्नेहरू पनि छन्। यस्तै हबी क्लाइम्बरका लागि आउने क्रम पनि छन्। यसरी आएको मानिस केही पटक हिमाल चढेपछि उसको व्यवसाय परिवर्तन पनि हुन सक्छ। विदेशमा डाक्टरी पेसा छाडेर गाइडको काम गर्ने मानिस पनि छन्। अहिले एड्भेन्चर पर्यटनका विषयहरू स्नातक तथा स्नातकोत्तर तहमा पढाइ भइरहेको छ। यसले गर्दा भविष्यमा अझै नयाँ ढंगबाट जान पनि सक्छ। नेपाल सरकारले हिमाल नै हाम्रो पर्यटनको मुख्य आधार हो भनेर प्राथमिकतामा राखेर काम गर्न आवश्यक छ। यस किसिमको नीति र व्यवस्थापन बनाउन आवश्यक छ।
नेपालमा पर्यटनको विकास गर्नुपर्छ। हिमाललाई देखाएर पर्यटक भित्र्याउनुपर्छ भन्दै गर्दा नेपाल सरकार र नेपाल पर्यटन बोर्डले भने यसलाई सोचेजति महत्व नदिएको अवस्था हो?
यसको क्षेत्रमा नेपाल पर्यटन बोर्डले गरेको सहयोग शून्य छ। अर्थात, हिमाली पर्यटन विकासमा पर्यटन बोर्डले कुनै पनि भूमिका निर्वाह गर्न सकेको छैन। यो विषय म बोर्डका सिइओ वा जोसुकैसँग बसेर भन्न सक्छु। भन्दा चाहिँ हिमाल भनेर देखाउने तर त्यस क्षेत्रको विकासका लागि केही भएको छैन। हामीले बाहिरका मानिस आउँदा हिमाल देखाएर नेपाल चिनाउँछौं। तर, अब यसलाई कसरी संरक्षण गर्ने, त्यहाँको विकास गर्ने र कसरी प्रचार गर्ने भन्ने दायित्व सरकार, पर्यटन बोर्ड र एसोसिएसनको हो। तर, पर्यटन बोर्डबाट एउटा पनि काम भएको छैन। खाली हिमाल भएको पोस्टर देखाउने काममात्रै भएको छ।
पर्यटन बोर्डले त्यहाँ गर्ने काम केही गरेको छैन। खाली ठूलो कुरा गर्ने काममात्रै गरेको छ। बोर्डले केही समयअघि अन्तर्राष्ट्रिय क्लाइम्बर मिट गर्ने भनेर भन्यो तर उसले गर्न सकेन। यद्यपि, हामील आफ्नो एसोसिएसनमार्फत भने गरेर देखाइदिएका छौं। पर्यटन बोर्डले निजी क्षेत्र भनेर यससँग सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने काम गर्छ, योजना बनाउँछ तर उसले कसैको कुरा सुन्दैन। आफ्नै पारामा हिँड्ने काम गर्छ। यसर्थ, व्यक्तिगतरूपमा भन्दा मलाई पर्यटन बोर्ड हिमालको पक्षमा छ जस्तो मलाई लाग्दैन। तर, यसमा ध्यान दिन भने आवश्यक छ।
तपाईंहरूले यसो भन्दै गर्दा बोर्डले भने निजी क्षेत्र आ–आफ्नो ढंगबाट मन्त्री, प्रधानमन्त्री तथा सरकारसँग माग लिएर जाने गरेको बताउँछ। सबै निजी क्षेत्र बोर्डमा आएर जाँदा सरकारले कुरा सुन्ने थियो, तर यस्तो हुन सकेन भनिरहेको छ नि?
पर्यटन बोर्डले सुन्नका लागिमात्रै राम्रो कुरा गरेर हुँदैन। पर्यटन बोर्डले राम्रो काम गरेमा सबैले बोर्डमार्फत आएर जान्छन्। अब सबै सम्बन्धित संस्थाहरू राखेर पर्यटन बोर्ड यसरी चलाउनुपर्छ भनेर निष्कर्षमा पुग्न आवश्यक छ। छलफल पनि औपचारिकताका लागिमात्रै हुने र कार्यान्वयन नहुने, बजेटमा योजना बनाउँदा पनि पर्यटनको हितमा सहयोग नपुग्ने किसिमको याजना मात्रै राख्ने काम हुँदै आएको छ। आएको बजेटलाई चरालाई चारो दिएजस्तो गरेर गैरउत्पादनमूलक क्षेत्रमा खर्च गर्ने काममात्रै भइरहेको छ। त्यसैले गर्दा पर्यटन बोर्डमार्फत जानका लागि पनि बोर्डले त्यो किसिमको वातावरण बनाउन आवश्यक छ। इन्टरनेसनल माउन्टेन डेको दिन आयोजित कार्यक्रममा पर्यटन बोर्डको सिइओकै उपस्थितिमा कार्यक्रम गरियो।
उक्त कार्यक्रममा पाँच लाख सहयोग गर्ने वचन दिइएको थियो जुन सहयोग हालसम्म दिइएको छैन। यस्तो सामान्यभन्दा सामान्य सहयोग पनि नगरेको अवस्था छ। उठेको कर पनि अनावश्यक काममा मात्रै बढी खर्च भइरहेको छ।
पर्यटन बोर्ड भनेको उसको जे भूमिका हो त्यही काममात्रै गर्ने हुनुपर्छ। विकासको काम गर्न हामीसँग स्थानीय, प्रदेश र केन्द्रीय सरकार छन्। भ्युटावर, मठमन्दिरमा काम गर्नुपर्ने अवस्था अहिले पर्यटन बोर्डको होइन। पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रलाई प्रचार गर्ने, यहाँका उत्पादनलाई ब्रान्डिङ गर्ने र पर्यटकीय क्षेत्रलाई बढी प्रचार गर्ने काममा ध्यान पुर्याउन आवश्यक छ। हामीसँग १ हजार ७ सयभन्दा बढी हिमाल छन्। जसमा ४ सय १९ हिमालमात्रै आरोहणका लागि खोलिएको छ। बाँकी हिमाल खोल्न पनि बोर्डले नेतृत्व लिनुपर्ने हो, तर त्यो हुन सकेको छैन।
पर्यटन बोर्डले ३० वर्षदेखि एउटैमात्र वस्तु बिक्री गरेर हुँदैन। निजी क्षेत्रले गरेको चितवनको सफारीलाई पर्यटन प्रवर्द्धन भनेर, अरूले चलाएको र्याफ्टिङलाई तथा ट्रेकिङलाई पर्यटन प्रवर्द्धन कार्यक्रम भनेर प्रचार गरेर बोर्ड बस्न हुँदैन। पर्यटन बोर्डले नेपालको नयाँ प्रडक्ट पहिचान गरेर त्यस क्षेत्रमा पर्यटक भित्र्याउने बाटोमा अगाडि बढ्नुपर्छ। पर्यटन बोर्डलाई हस्तक्षप गर्ने कुरा होइन। बोर्डमा हाल ५० जना होलान् तर, ४ जना भए त्यसलाई सञ्चालन गर्न सकिन्छ। नाममात्रैका लागि त्यति ठूलो समिति बनाइदिएको छ जसले काम केही गर्दैन। यसर्थm पर्यटन बोर्डमा राम्रोसँग काम भएको छैन। जसले जे जिम्मेवारी लिएको छ त्यो उद्देश्यअनुसार काम गरेको खण्डमा राम्रो हुन्छ। मैले टे«किङ एजेन्सी सञ्चालन गरेको ३५ वर्ष भयो तर, बोर्डबाट नेपाल आउँछु भनेर हालसम्म एउटा पनि पर्यटक आएको मलाई थाहा छैन।
अहिले पर्यटन बोर्डमा केही बजेट हुन्छ। त्यो बजेटमा पनि बोर्डको सदस्यले आफ्नो अनुकूल कार्यक्रम बनाउने काम हुन्छ। कर्मचारीभित्र पनि आफ्नै किसिमको समस्या छन्। त्यसले गर्दा पर्यटन बोर्ड असफल भएको जस्तो मलाई लाग्छ। बोर्डको बजेटिङ योजना प्रक्रिया सुधार गर्न आवश्यक छ। बोर्डको सदस्यहरू बजेट बनाउने पनि आफैं, बजेट स्वीकृत गर्ने पनि आफैं र भोलि गएर प्रोजेक्ट चलाउने पनि आफैं गर्ने कारणले पनि यसमा काम नहुन सकेको जस्तो देखिन्छ। अब नेपालको पर्यटन कसरी माथि लग्न सकिन्छ। कस्ता–कस्ता विषयलाई प्राथमिकतामा राख्ने र कस्तो योजना बनाउने भन्ने विषय अब बोर्डमा निश्चित हुन जरूरी छ।
हिमाल चढ्दा लिने सलामी दस्तुर (पर्मिट शुल्क) महँगो भयो र धेरै लिइयो भन्ने कुरा पनि आएको थियो। खास के हो? महँगो भएको अवस्था हो?
नेपालमा पर्मिट शुल्क बढी भएको होइन जस्तो मलाई लाग्छ। यसको शुल्क कति लिने भन्ने विषय नेपालले नै तोक्न सक्छ। अहिले अग्ला हिमाल भएका प्रमुख मुलुकमा चीन, नेपाल र पाकीस्तान छन्। यी मुलुकले पर्मिट शुल्क कति लिने भन्ने शुल्क तोक्न सक्छन्। अन्य मुलुकसँग माउन्टेन्ट क्लाइम्ब सुरुवात २ सय तथा ३ सय वर्ष अगाडिदेखि भइरहेको छ। हाम्रोमा सुरु भएको बल्ल ५० वर्ष हुँदैछ। यसर्थ, धेरै कुरा हामीले उनीहरूबाट सिक्नुपर्छ। हाम्रोमा युरोपियन टेक्निकहरू अपनाउने काम भइरहेको छ। अब केही समयपछि हामी आफ्नै नीति र तरिका अपाउने अवस्थामा पनि पुग्न सक्छौं।
पर्यटन नीति नै ३५ सालदेखिको छ। अब यो संशोधन हुन पनि लागेको छ। तपाईंहरूका तर्फबाट कस्ता विषय प्राथमिकतामा राखिनेछन्? कस्ता विषय उल्लेख गर्न जोड दिनुभएको छ?
हामीले २०३५ सालमा समेत रहेको नेपाल पर्वतारोहण संघको व्यवस्था राखिनुपर्छ भनेर भनेका छौं। गाइडहरूले बेग्लै ट्रेनिङ लिने काम गरिरहेका छन्। यसलाई थप व्यवस्थित बनाउनुपर्छ। बिमालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि यसमा समेट्न प्रयास गरिएको छ। यसमा आबद्ध भएका आरोहीको रिटायरमेन्टलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र हिमालको फोहोरको व्यवस्थापनका विषय पनि नीतिमा उल्लेख हुनेछ। हिमालहरूलाई कसरी प्रचार गर्ने लगायत विषयमा पनि छलफल भइरहेको छ। यसर्थ, पनि अब आउने नीति राम्रै आउने अपेक्षा हाम्रो रहेको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिमा पनि रहिसक्नुभएको छ र आफ्नो निजी एयरलाइन्स पनि चलाउनुभएको छ। अब तपाईंले देखेअनुसार नेपाल एयरलाइसन्सको सुधार कसरी हुन्छ होला?
नेपाल एयरलाइन्समा जहाज खरिद-बिक्री लगायत कानुनी विषय स्पष्ट छैनन्। खरिद ऐनमा भएको अस्पष्टताका कारणले पनि केही समस्याहरू ल्याएको देखिन्छ। यसलाई सुधार गर्नुपर्छ। एयरलाइन्स चलाउने नाममा धेरैथरीका जहाज राख्ने काम पनि हामीले गर्नुहुँदैन। एउटा वा दुइटामात्रै खालको जहाज राखेपछि त्यसको अपरेसन र मेन्टिनेन्स खर्च कम हुन्छ। ग्राउन्ड ह्यान्डलिङबाट पाएको हिस्साबाट अपरेसनको घाटा पूर्ति गरेर हामी फाइदामा नै छौं भन्ने गरिन्छ। यसलाई बन्द गर्नुपर्छ। ग्राउन्ड ह्यान्डलिङको बुक किपिङको छुट्टै, अन्तर्राष्ट्रिय अपरेसनको बुक किपिङको छुट्टै र डोमेस्टिक अपरेसनको डिपार्टमेन्ट छुट्टाछुट्टै राख्नुपर्छ।
यसो भएको खण्डमा बल्ल सबैको आ–आफ्नो प्रस्तुति देखिन्छ र केही सुधार हुन्छ। अहिले त गोलमाल गरेर राखिएको छ। सुधार गर्नेतर्फ लागिएको छैन। आवश्यकताभन्दा कर्मचारी पनि नेपाल एयलाइन्सका लागि बोझ भएको छ। आवश्यकताअनुसारको मात्रै कर्मचारी राख्नुपर्छ। यहाँ एकदमै स्वतन्त्र र स्पष्ट काम गर्ने मानिसलाई मात्रै काममा राख्नुपर्छ। अन्यथा, कर्मचारी राख्ने र अर्कातर्फको घाटा खाइरने काम याद हुँदैन। निजीरूपमा चलेका कम्पनीहरू टिक्न सक्छन् भने सरकारको सहयोग पाएको त्यत्रो एयरलाइन्स घाटामा जाने हुँदैन। त्यहाँ सुधार गरेर चलाउन आवश्यक छ। यसर्थ काम गर्नुपर्छ र सुधार गर्नुपर्छ। यसो भएको खण्डमा नेपाल एयरलाइन्स सुधार हुन्छ।
अब नेपाल पर्वतारोहण संघको नेतृत्वबाट बाहिरिँदै गर्दा तपाईंले नेतृत्वमा रहेर गरेका सुधारका कामहरू के-के देख्न पाइन्छ?
हामीले नेपाल पर्वतारोहण संघ रहेमा मात्रै नेपालको एड्भेन्चर पर्यटन चिनिन्छ। यदि यो संघ रहेन भने नेपालको पर्वतीय पर्यटन भन्ने विषय पनि सकिन्छ भन्ने किसिमले संघलाई हामीले बढाएका छौं। यसर्थ, संघको महत्व एकदमै धेरै छ। यसलाई थप सक्रिय बनाएर अगाडि बढ्ने कार्यमा हामी लागेका छौं। संघको प्रशासनिक कार्य गर्ने प्रक्रियालाई हामीले चुस्त बनाएका छौं। संघको नाम र ब्रान्डलाई हामीले थप चिनाउन सफल भइसकेका छौं। आज अन्तर्राष्ट्रियस्तरमा पनि यसको नाम थाहा हुन पुगेको छ। यसको ब्रान्ड राम्रो हुँदै गएको छ। संघले स्थानीय निकायसँग समन्वय गरेर विभिन्न काम गर्न सुरु गरेको छ।
संघले आफ्नै एउटा गाइड गर्ने इन्स्च्यिुट विकास गर्नुपर्छ भनेर लागेका छौं। यो पनि चाँडै पूरा हुन्छ होला। केही समयअघि सिन्धुपाल्चोकको जुगल हिमाल खोलिएको छ जुन हाम्रै नेतृत्व र पहलमा खोलिएको हो। अन्य पिकहरू पनि हामीले खोल्दै जान पहल गरिरहेका छौं। यसरी संघको गरिमा उच्च राख्ने काम भएको छ। यसमा हामी सबैको कामले योगदान गरेको छ। सरकार पनि आज संघ आवश्यक रहेछ भन्ने स्थानमा हामीले यसलाई पुराउन सफल भएका छौं। पर्वतीय पर्यटनका लागि काम गर्ने र हिमाली क्षेत्रमा काम गर्ने मानिसको आवाज उठाउने संस्थाका रूपमा विकास गर्ने काम हामीले गरेका छौं।
विगतको तुलनामा हालको वर्तमान पर्वतारोहणको अवस्था कस्तो छ? समग्रतामा के-के परिवर्तन भएको छ?
विगतको तुलनामा हाम्रो क्लाइम्बिङ प्याटर्न पनि परिवर्तन भएको छ। पहिला सगरमाथा र ८ हजार मिटरभन्दा माथिका हिमाल मात्रै चढ्ने चलन थियो। तर, अबको नयाँ जेनेरेसन भनेको अग्लोमात्रै नभएर साना हिमाल पनि चढ्ने र रमाउने गरी आएका छन्। यसर्थ, साना उचाइका हिमालमा पनि मानिस आकर्षण गर्ने तरिकाबाट हामीले काम गरेका छौं। स्पोर्ट, टेक्निकल क्लाइम्बिङको विकासमा हामी लागेका छौं। अबको जेनेरेसन यसतर्फ अगाडि बढेको देखिन्छ।