महोत्तरी। महोत्तरी बर्दिबास नगर क्षेत्रका ६ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक संकटमा फस्दै गएको छ। धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक संकटमा फस्दै गएको हो।
संस्थाको बक्यौता चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्म २ करोड १४ लाख रुपैयाँ नाघेको छ।
संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झन्डै १ सयहाराहारीमा पुगेका कोषाध्यक्ष भोजप्रसाद फुँयाल बताउँछन्।
यसरी खानेपानी महसुल तिर्न अटेर गर्ने गृहस्थभन्दा कारोबारी संस्था र व्यापारिक घरानाका उपभोक्ता धेरै रहेका उनले बताए।
‘संस्थामा १२ वर्षदेखि महसुल नबुझाउने पनि रहेछन्,’ कोषाध्यक्ष फुँयाल भन्छन्, ‘आर्थिकरूपले विपन्न देखिनेले बरु समयमै तिरेका छन्, हुनेखानेले महसुल बुझाउने काममा अटेर गरेको देखिएको छ।’
यसरी धेरै बक्यौता महसुल राख्नेमा सात गैरसरकारी संस्था, ६ चलेका ठूला होटल, दुई निजी सञ्चालित अस्पताल, दुई सरकारी कार्यालय, दुई विद्यालय र सम्पन्न घरानाका गनिने व्यापारी रहेका उनी बताउँछन्।
नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै गत वैशाखदेखि नै बक्यौता महसुल बुझाउन ताकेता गरिए पनि अपेक्षित असुली हुन नसकेको संस्थाका पदाधिकारी बताउँछन्।
पछिल्लो चरणमा कार्यालय व्यवस्थापनले महसुल नबुझाउने उपभोक्ताको धारा काट्नेसम्मका कारबाही सुरु गरेको छ। केही उद्योगले त पानी चोरेर आफ्ना धन्दा सञ्चालन गरेको समेत पाइएको समितिले जनाएको छ।
पानी संकलन, भण्डारण, पाइप व्यवस्थापन, पानी वितरण र कार्यालय व्यवस्थापनमा मासिक १२ लाख रुपैयाँ बढी खर्च हुन्छ। अहिले रकम अभावले समयमा सरसफाइका काम हुन नसकेर केही पानीट्यांकी उपयोगमा आउन नसकेका र विष्ट टोलमुनिको पानीट्यांकीमा विद्युतीकरण गर्न नसकिँदा सेवा प्रवाह बढी खर्चिलो भएको संस्थाका अध्यक्ष भुलनसेन ठकुरी बताउँछन्।
‘पानीट्यांकीमा विद्युत् पुर्याउन ४० लाख रुपैयाँ खर्च हुने अनुमान छ, रकम अभावमा विद्युतीकरण गर्न नसक्दा डिजेल पम्पबाट पानी तानिँदा प्रतिमहिना ६ लाख बढी खर्च हुँदैछ,’ अध्यक्ष ठकुरी भन्छन्, ‘पुरानो बक्यौता नआउँदा संस्था आर्थिक संकट बेहोर्दैछ। रकमकै अभावमा विद्युतीकरण हुन सकेको छैन।’
संस्थाअन्तर्गत ६ हजार उपभोक्ता छन्। यी उपभोक्तालाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउनु मुख्य जिम्मेवारी रहेको संस्था आर्थिक संकटमा फस्दा गर्नुपर्ने काम प्रभावित हुँदै आएका छन्।
आमउपभोक्ताको हित ध्यानमा राख्दै संस्था कार्यसमितिले बक्यौता महसुल नबुझाउनेको धारा काट्ने निर्णय गरेको अध्यक्ष ठकुरीले पुष्टि गरे।
‘हामी निर्वाचित भएर काम थालेसँगै गत वैशाखमै बक्यौता बुझाउन लिखित ताकेता गरेका छौं, यसको सुनुवाइ नभएपछि अब धारा काट्ने निर्णय गर्न बाध्य भइयो,’ अध्यक्ष ठकुरी भन्छन्, ‘यसै क्रममा मिटर चुँडाएर पानी चोरी गर्ने उद्योगविरुद्ध पनि कारबाही गरिन्छ।’
प्रत्येक तीन÷तीन वर्षमा नयाँ कार्यसमिति निर्वाचन हुने संस्थामा यसअघिका समितिको कार्यकालका बक्यौता महसुल असुली टाउको दुखाइ बनेको ठकुरी बताउँछन्।
खानेपानी संस्थाले उपभोक्ताबाट न्यूनतम महसुल मासिक ८० रुपैयाँ लिन्छ यसवापत १० हजार लिटर पानी उपभोक्ताले खपत गर्न सक्छन्। खपत बढे महसुल पनि बढ्दै जान्छ।
विगतको बक्यौता महसुल असुलउपर गर्न र धारा छेडछाड गर्नेविरुद्ध कारबाही हुने संस्थाका पदाधिकारीले बताउँदै आएका छन्।
‘हामीले पर्याप्त जनाउ र समय दिनुपर्छ, त्यो हामीले गर्दै आएका छौं। अब कारबाहीको चरण थालिन्छ, कोही कसैको अनुहार हेर्ने प्रश्न नै आउँदैन,’ अध्यक्ष ठकुरी भन्छन्, ‘संस्थासँगको अटेर सह्य हुँदैन।’
संस्थाबाट पाउने सहुलियत सबैले पाउने ठकुरीको भनाइ छ। यसपालि दसैं, दीपावली र छठपर्व पारेर गत कात्तिकको महसुल छुट दिएर बोनसको लाभ दिइएको बताउँदै ठकुरीले न्यूनतम शुल्क लाग्ने १० हजार लिटरको सिलिङ १५ हजार लिटरमा पुर्याउने प्रयत्न गरिएको जानकारी दिए।
‘संस्था र समिति उपभोक्ता हितप्रति समर्पित छन्,’ ठकुरी अपिल गर्दै भन्छन्, ‘सबैले समयमै महसुल बुझाएर संस्था र समितिलाई सहयोग गर्नुहोस्।’