मान्छेका चाहना पनि अनेकौं हुने रहेछ। अरूको दुःख र पीडा समेटेर बनाएको भिडियो धेरैलाई रमाइलो लाग्ने रहेछ। र, तिनै दुःख आत्मसात गर्दै त्यस्ता ठाउँ जान रुचाउने पनि धेरै देखिन थालेका छन्। विकासको गतिले ओझेलमा परेको सुदूरपश्चिमका भेग पर्यटकीय हिसाबले निकै मनोरम छन्।
लामो समयको यात्राको लागि उत्तम क्षेत्र पनि सुदूरपश्चिम नै हो। यहाँका हरेक मानिसको हार्दिकताले यात्रामा निस्किनेलाई थप ऊर्जा र हौसला मिलिरहेको हुन्छ।
रुकुमलाई बेस बनाएर घुमघामको भिडियो पोस्ट गर्ने गरेको सन् २००९ देखि नै हो। गाउँमा रहँदा भेडा, च्याङ्ग्रा चराउने, गोठ सार्ने र लेकबेसीमा गरेका भिडियो खिच्दै आफ्नो युट्युबमा हालिरहँदा धेरैबाट राम्रो प्रतिक्रिया आउन थाल्यो। त्यो बेला आफ्नै गोठको भेडा-च्याङ्ग्राको भिडियो राख्दै आएँ।
पुर्ख्याैली पेसा नै भेडापालन भएकाले बर्खाको समयमा हिमाल र हिउँदमा बेँसी झर्दा धेरैपटक घुमघाम गरियो। भिडियोहरूमा राम्रो प्रतिक्रिया आउन थालेपछि व्यावसायिकरूपमै अर्थात अरू काम छाडेर नयाँ गन्तव्य, सांस्कृतिक सम्पदा र मौलिक खानाका परिकारका भिडियो खिच्नमा व्यस्त हुन थालेँ।
घुमघाम क्रममा मनाङ, मुस्ताङ, म्याग्दी, काभ्रेलगायत ठाउँ घुमिसकेको छु। हिमाली क्षेत्र र विकट ठाउँ घुम्न रमाइलो लाग्छ। र, मेरा भिडियोहरू पनि त्यहीखालको देखिन्छ। जसका कारण भिडियोहरू स्वदेशी एवं विदेशीले धेरै रुचाइरहेका छन्। गाउँमै जन्मिएर गाउँमै हुर्किएकाले पनि मलाई हिमाली जिल्ला घुम्न निकै रमाइलो लाग्छ।
जहाँ पुगिन्छ, त्यहाँ एउटा न एउटा नयाँ विशेषता भेटिएकै हुन्छ। जसले हिँडाइको थकान पूर्णरूपमा मेटिदिन्छ। भिडियोमा आएको प्रतिक्रियाकै कारण अझै नयाँ गन्तव्य जाने जोस बढिरहेको हुन्छ।
गाउँघर घुम्दा स्थानीयको अधिक माया पाउने र उनीहरूले आफ्नै घरमा सेवा सत्कार दिएर राख्ने भएकाले घुमघाममा धेरै खर्च भने गर्नुपरेको छैन। नेपाल यस्तो मुलुक हो, जहाँ गए पनि नयाँमात्र भेटिन्छ। एउटा गाउँमा भेटिएको सुन्दरता अर्को गाउँमा जाँदा अर्कै भेटिन्छ।
त्यहाँको विविधता, प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्वले सबैको मन जितिरहेको हुन्छ। मात्र, कतिपय गन्तव्य धेरैलाई थाहा नभएको र आवश्यक पूर्वाधार नभएकै कारण ओझेलमा परिरहेको देखिन्छ।
मैले खिचेको भिडियोकै कारण स्वदेशीभन्दा विदेशी ती गन्तव्य पुगिरहेका छन्। र, भिडियो हेर्नेहरू पनि नेपालीभन्दा विदेशी नै बढी हुन्छन्। उनीहरूले गरेको रेस्पोन्स र माया पाउँदा मनमा निकै आनन्द आउँछ।
घुमघाम क्रममा सबैभन्दा बढी मनपरेको गन्तव्य भने अपर डोल्पा हो। त्यहाँको याकखर्कहरू निकै रमणीय छन्। त्यहाँको जीवनशैली, प्राकृतिक सुन्दरताले सबैको मन जित्ने गरेको छ। गाडीको बाटो पनि नपुगेकाले हिँड्नकै लागि अपर डोल्पा नै उत्तम लाग्छ। यात्रामा निस्किँदा ४५ दिनसम्मको यात्रा गर्ने गरेको छु।
डकुमेन्ट्री निर्माण गर्ने क्रममा मैले बिस्तारै ट्राभल भिडियोहरू युट्युबमा राख्न लागेको हुँ। युट्युबमा आज खिचेको भिडियो आजै हाल्न मिल्ने र रेस्पोन्स पनि तत्कालै मिल्ने भएकाले डकुमेन्ट्रीको काम छाडेर युट्युबमा लागेको हुँ।
घुम्ने क्रममा मौलिक वेशभूषा र खानपानले अझै ऊर्जा थप्ने गरेको छ। अहिलेसम्म १ हजार ५ सय भिडियो बनाएर पोस्ट गरिसकेको छु। यात्रा क्रममा इन्टरनेट पहुँच पाउनेबित्तिकै तत्कालै पोस्ट गरिहाल्छु।
चर्चाका हिसाबले अहिले धेरै भए पनि यात्रामा आउनेको संख्या भने पहिलाको तुलनामा अहिले घट्न थालेको छ। कतिपय ठाउँमा सडक मार्ग पुगेकाले ट्रेकिङ रुटहरू विस्थापन भएका छन्। यात्राको समय घट्दै गएको छ। जसले यात्राको क्रममा पाउने अनुभव पूर्णरूपमा पाउन सकिरहेको छैन।
नेपालको सुन्दरताको बयान शब्दचित्रमा जति गरे पनि सकिँदैन। जति शब्दमा लेखिन्छ र उतारिन्छ, त्यसको सयौं गुणा बढी महसुस हिँड्दा गर्न पाइन्छ। हुन त पछिल्लो समय मानिसहरू हिँड्नभन्दा गुड्न र उड्नमा रमाउन थालेका छन्।
अर्थात, हिँडेरै जाने नेपालीभन्दा बढी विदेशी पाउन थालिएको छ। उनीहरू पनि पछिल्लो समय गन्तव्य स्थानमा बसोबासका लागि आवश्यक पूर्वाधार नपाउने गरेका कारण जहाँ बढी सुविधा छ, त्यस क्षेत्रमा बढी जाने गरेका छन्। पछिल्लो समय खुम्बु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा यात्रा गर्नेको संख्या बढ्नुमा पनि पूर्वाधारकै विकासको पहिलो कारण हो। राम्रो बसाइ र राम्रो आतिथ्य भयो भने यात्रीहरू बढी रमाउने गरेका छन्।
(लजिम बुढा)