काठमाडौं। सरकारले आलु, प्याज र स्याउमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ।
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत आयातित आलु र प्याजमा मात्र भ्याट लगाउने भने पनि आन्तिरिक राजस्व विभाग टोलीले सबै आलु र प्याजको भ्याट बिल मागेपछि व्यवसायी आन्दोलित बनेका थिए।
कालिमाटी तरकारी बजारमा केही दिन आलु र प्याज आयात कटौती गरेका व्यवसायीले बुधबार आलु प्याज नै लगेनन्। फलस्वरूप बजारमा आलु र प्याज अभाव सिर्जना भयो।
सबैमा भ्याट बिल मागेपछि नेपाल भित्रैबाट पनि आलु र प्याज ल्याउन नसकिएको नेपाल कृषि उपज आलु प्याज आयात तथा थोक विक्रेता सघंका महासचिव प्रकाश गजुरेलले बताए।
व्यवसायी आन्दोलित भएपछि आन्तरिक राजस्व विभागले आलु, प्याज र स्याउमा भ्याट नलगाइएको र नलाग्ने भन्दै शुक्रबार सूचना निकाल्यो।
विभागको यो कदमले आलु, प्याज र स्याउ विक्री वितरणको समस्या हटेको गजुरेल बताउँछन्। ‘यो निणर्यपछि हामी प्यानमै काम गर्न पाउछौं र उपभोक्ताले नेपाली उत्पादन खपत गर्दा भ्याट खेप्नुपर्दैन,’ उनले भने।
अन्य देशबाट आलु प्याज आयात गर्ने व्यवसायीका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने गजुरेल बताउतन्।
‘हामीले अन्य देशबाट आयात गरेको आलु प्याज यहाँ आइपुग्दा तौल घट्छ। त्यस्तै धेरै परिमाणमा कुहिएर खेर पनि जान्छ। त्यसलाई विचार गरेर सरकारले भ्याट लगाउनुपर्छ,’ उनले भने।
विभागको यो निणर्यले आलुमा केही राहत भए पनि प्याजमा भने खासै फरक नपर्ने देखिएको छ।
कालिमाटी तरकारी बजारमा दैनिक १ सय २० देखि १ सय ५० टन आलु आउँछ। तीमध्ये करिब ६० प्रतिशत नेपाली उत्पादन हुने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेठले जानकारी दिए।
त्यस्तै बजारमा दैनिक ७० देखि ८० टन प्याज भित्रिन्छ। सबै प्याज भारतबाट आयात हुने उनी बताउँछन्। व्यवसायीका अनुसार सिजनमा पनि ९९ प्रतिशत आयात हुन्छ।
कति छ स्वदेशी उत्पादन?
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्याज उत्पादन छैन। आलु उत्पादन भने वर्षैपिच्छे बढिरहेको छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ लाख ९८ हजार २ सय ५६ हेक्टरमा ३४ लाख १० हजार ८ सय २९ टन आलु उत्पादन भएको थियो।
त्यस्तै २०७७/७८ मा १ लाख ९८ हजार ७ सय ८८ हेक्टरमा ३३ लाख २५ हजार ३ सय ३१ टन र २०७६/७७ मा १ लाख ८८ हजार ९८ हेक्टरमा ३१ लाख ३१ हजार ८ सय ३० टन आलु उत्पादन भएको थियो।