काठमाडौं। एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ।
जितका लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानका लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे।
त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए। उनले ५६ बलमा ५ चौकासहित ५० रन जोडे। मोहम्मद जिशान ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे।
नेपालका लागि गुलशन झाले २ विकेट लिए भने आकास त्रिपाठीले १ विकेट झारे। त्यसअघि युएईस्थित दुबईको आइसिसी एकेडेमी-२ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल बनाएको थियो।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन्। त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए। उनले छैटौं विकेटका लागि उत्तम थापा मगरसँग ६८ रनको साझेदारी गरेका थिए। कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका हुन्।
सुरुवाती ओपनर अर्जुन कुमालले २१ रन जोडे। उनले ३७ बलमा ३ चौका प्रहार गरे। खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती ५ विकेट गुमाएको थियो।
त्यसैगरी कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए। आकास त्रिपाठी ६ रनमा आउट हुँदा तीलक भण्डारीले ७ रन जोडे। सुवास भण्डारीले अविजित ८ रन बनाए।
बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले ६ विकेट लिए भने अमिर हसनले २ विकेट झारे। उबेद शाह र अली असफन्दले समान १/१ विकेट लिए। नेपालले दोस्रो खेल मंसिर २४ मा अफगानिस्तानसँग खेल्ने छ।