काठमाडौं। एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संगठन (इफाप्का) को ४६औं सम्मेलनको घोषणापत्र सार्वजनिक भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मेलनबाट पारित १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
महासंघ अध्यक्ष रवि सिंहले जलवायु परिवर्तनका सवालमा सम्मेलनले पारित गरेका निर्णय महत्वपूर्ण हुने बताए। सम्मेलन आयोजक नेपाल निर्माण व्यवसायी महासंघले प्रस्तुत गरेको घोषणापत्रलाई सहभागी राष्ट्रले सर्वसम्मत अनुमोदन गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष सिंहको भनाइ छ।
१४ बुँदे काठमाडौं घोषणापत्रलाई नै आधार मानेर इफाप्काले आगामी दिनमा अन्य फोरमहरू आयोजना गर्न लागेको बताइएको छ। बढ्दो विश्वव्यापी जनसंख्या, सहरीकरण र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूको सामना गर्न तथा विकासोन्मुख राष्ट्रहरूको वर्तमान र भविष्यका पूर्वाधारका आवश्कयता पूरा गर्न तत्काल दिगो पूर्वाधार निर्माणकोे क्रमलाई अभिवृद्धि गर्नुको विकल्प नरहेको उक्त घोषणापत्रमा उल्लेख छ।
प्राकृतिक प्रकोप तथा मानव निर्मित प्रभाव (विशेषगरी जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न जलवायुमैत्री पूर्वाधार सुनिश्चित गर्न) विरुद्ध उत्थानशील पूर्वाधारका संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताइएको छ।
दिगो पूर्वाधारका प्राथमिकता तथा क्षेत्रहरू सीमित आर्थिक प्रतिफलभन्दा फराकिलो हुनुपर्ने साथै यसले जलवायु, लाभार्थी, आर्थिक, सामाजिक, समानताका मुद्दा तथा प्रविधिलगायतमा पार्ने प्रभावलाई दृष्टिगत गर्दै समग्र परियोजना चक्र र त्यससम्बन्धी सकारात्मक तथा नकारात्मक वाह्यतासमेत ध्यानमा राख्नुपर्ने बुँदालाई पनि घोषणापत्रमा समेटिएको छ।
सम्पूर्ण परियोजना चक्रमा ध्यान केन्द्रित गर्न आवश्यक रहेकाले प्रविधि चयनमा परियोजनाको जीवन चक्र मूल्यांकनलाई बढावा दिँदै स्मार्ट पानी, यातायात, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि तथा कार्बन उत्सर्जन गर्ने प्रविधि अपनाउन जरुरी रहेको ठहर इफाप्काको छ।
नयाँ जलवायुमैत्री न्यून कार्बन पूर्वाधार निर्माण गर्न आवश्यक भए पनि भरपर्दो तथ्यांक अभाव, जोखिम र अनिश्चितताका कारण जलवायुमैत्री र दिगो एवं उत्थानशील पूर्वाधार निर्माण गर्न हाल यस क्षेत्रमा व्यावसायिक चुनौती विद्यमान रहेको घोषणापत्रमा छ।
परियोजना तयारी, सम्झौता व्यवस्थापन, कार्यान्वयन, अनुगमन मूल्यांकन, गुनासोलगायतमा उत्कृष्ट विश्वव्यापी अभ्यासलाई आत्मसात गरिनुपर्ने जीवनचक्र मूल्यांकनलाई प्रवर्द्धन गर्नका लागि उत्तम विकल्प चयन गरिनुपर्ने विषय पनि समेटिएको छ।
दिगो पूर्वाधार विकासमा चुनौती तथा अवसरबीच अन्तरसम्बन्ध रहेकाले दिगो विकासका लागि संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य, पेरिस सम्झौता तथा आवधिक विश्वव्यापी सम्झौतामार्फत व्यक्त गरिएका लक्ष्य पूरा गर्ने आकांक्षालाई समर्थन गर्ने घोषणापत्रमा जनाइएको छ।
दिगो पूर्वाधार निर्माणमा वातावरणीय सुरक्षा, जलवायु जोखिम र जलवायु जोखिम मूल्यांकनका मुद्दामा दिगोपनलाई अनिवार्य गरिनुपर्ने र जलवायु नीति÷अजेन्डाजस्ता उपकरण प्रवर्द्धन गरिनुपर्ने पनि समेटिएको छ।
सहरी पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने, दिगो पूर्वाधार निर्माणमा देखिएका नयाँ उदयीमान नीति तथा नयाँ व्यापारका अवसर, हरित पूर्वाधार प्रवर्द्धन गर्ने नीतिसहित इफाप्का आबद्ध देशबीच बलियो साझेदारी निर्माणलगायत बुँदा पनि घोषणापत्रमा समेटिएका छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा महासंघ सल्लाहकार वीरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरेलगायतले सम्मेलनको विविध पाटोबारे चर्चा गरेका थिए।
‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नारासहित आयोजित सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५ सयभन्दा बढी सहभागी थिए। सम्मेलनकै क्रममा अग्रज निर्माण व्यवसायी तथा उत्कृष्ट काम गर्ने निर्माण कम्पनीलाई सम्मान गरिएको थियो। इफाप्का सम्मेलनमार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालिरहेका निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले अबको इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरेका थिए।
सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकारसमेत रहेका वीरेन्द्रराज पाण्डेले महासचिव र कार्यसमिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गरेका थिए।