काठमाडौं। आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर ‘टिग लाई अब रस्ष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ।
बिआइसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवयेर टिगमा रेस्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो।
टिगलाई अहिलेसम्म १ हजार ५ सय बढी व्यवसायले प्रयोग गर्दै आएका छन् भने कर्णाली प्रदेशका दुर्गम जिल्लामा दुई दर्जनभन्दा बढी व्यवसायीले यस अघिदेखि नै एकाउन्टिङ सफ्टवेयर निःशुल्क प्रयोग गरिरहेका छन्।
साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउने उद्देश्यले टिगमा एकाउन्टिङका साथै रिटेल र रेस्ट्रो मोड्युल पनि थप गरेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश केसीले बताए।
‘टिगको लक्ष्य साना तथा मझौला व्यवसायलाई डिजिटल बनाउनु हो,’ उनले भने, ‘त्यसैअनुसार टिगमा रेस्टुरेन्ट, साना मार्ट, होलसेल र रिटेल पसललाई एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सकिने गरी नयाँ सुविधा ल्याएका छौं। टिगमा एकाउन्टिङ र स्टक व्यवस्थापन सुविधा यस अघिदेखि नै उपलब्ध छ।’
रेस्टुरेन्ट, क्याफे वा मार्ट व्यवसायीले सफ्टवेयरको डेमो निःशुल्करूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसबाहेक टिगले व्यवसायीलाई तालिमसमेत उपलब्ध गराउँदै आएको छ।
सफ्टवेयर प्रयोग गर्न चाहने सबैका लागि निःशुल्क अनलाइन तालिमको व्यवस्था गरिएको टिगका सहसंस्थापक प्रार्थना शाखले बताइन्।
नयाँ सेवा सार्वजनिक गरेको अवसरमा अहिले टिगको एकाउन्टिङ, रिटेल र रेस्ट्रो सेवा खरिदमा ४० प्रतिशतसम्म छुट पाइने छ।
टिग रेस्ट्रोमा टेबुल म्यानेजमेन्ट, अर्डर प्रोसेसिङ, किचेन अर्डर सिस्टम, मल्टिपल लोकेसन सपोर्ट, ह्यान्डहेल्ड डिभाइसबाटै अर्डर सुविधा, हार्डवयेरमा पिओएस इन्टिग्रेसनलगायत विशेषता छन्।
यस्तै टिग रिटेलबाट सजिलै आफ्नो थोक (होलसेल) पसल वा मार्ट व्यवस्थापन गर्न सकिने छ। यसबाट आफ्ना विभिन्न ठाउँमा रहेका पसल वा मार्ट सजिलै अनलाइनबाटै निगरानी राख्न र व्यवस्थापन गर्न सकिने छ।
टिग रिटेलमा सेल्स अर्डर प्रोसेसिङ, बारकोड प्रिन्टिङ तथा स्क्यानिङ, रिसिप्ट प्रिन्टिङ, प्रडक्ट व्यवस्थापन, रियल टाइम एनालाइसिस लगायत सुविधा छन्।
टिग क्लाउडमा आधारित सफ्टवेयर भएका कारण जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सकिन्छ।