काठमाडौं। यस वर्ष वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँबराबरको विद्युत् भारत निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।
प्राधिकरणले यस वर्ष जेठदेखि मंसिर २० मा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो। प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ।
चालू आर्थिक वर्ष २०८०/८१ साउनदेखि मंसिर २० सम्म १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ।
सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका जलविद्युत गृहबाट उत्पादन घट्न सुरु भएको छ। तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक विद्युतको अधिकतम माग १ हजार ७ सय मेगावाटहाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत आयात सुरु गरिएको बताए।
‘अहिले विद्युत उत्पादन र माग करिब–करिब बराबरी छ। हाम्रा अर्धजलाशययुक्त विद्युत् गृहहरूमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिक समयमा आयात गर्दा विद्युतको दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ। त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरूमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ।’
उनले चैत र वैशाखमा विद्युत आयात परिमाण केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए।
‘आगामी वैशाख दोस्रो हप्ताबाट विद्युत निर्यात पुनः सुरु हुनेछ। यस वर्ष करिब ९ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ, त्यसैले अर्को वर्ष करिब २५ अर्बको विद्युत निर्यात हुनेछ,’ घिसिङले थपे, ‘दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरू बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत आयोजनाहरू निर्माण भइरहेका छन्। त्यसैले आगामी पाँच वर्षभित्र वार्षिक करिब १ खर्बबराबरको विद्युत निर्यात हुने अवस्था बनिरहेको छ।’
प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असार १ अर्ब ७८ करोड ५३ लाख, साउन २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाखबराबरको विद्युत निर्यात गरेको छ। यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिक २ अर्ब ६९ करोड ७० लाख र मंसिर २० सम्म ७३ करोड ५९ लाखको विद्युत निर्यात गरको थियो।