म्याग्दी। मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ। स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजार निकासी भइसकेको जनाएको छ।
स्याउ जोन मुस्ताङ प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभरि ४ हजार ९ सय ७५ टन स्याउ उत्पादन भएको र त्यसमध्ये ४ हजार ४ सय ७७.५ टन देशका विभिन्न ठाउँ निकासी भएको बताए।
‘मुस्ताङमा फलेकोमध्ये ९० प्रतिशत स्याउ बजार निकासी भइसकेको छ,’ उनले भने, ‘करिब ५ सय टन स्याउ बेमौसममा बिक्री गर्न चिस्यान गृहमा राखिएको छ।’ कृषकले बिक्री गरेको सरदर प्रतिकिलो १ सय १० का दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार रुपैयाँबराबरको स्याउ निकासी भएको कार्यालयले जनाएको छ।
म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत सहरका व्यापारीले बगैंचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्। मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन्।
धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च हुने गरेको बताए। पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उनले बताए।
बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छन्। मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ। मुस्ताङको १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ। करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ।
गत वर्ष मुस्ताङमा ६ हजार ६ सय टन स्याउ उत्पादन भएकामा यसपालि २४.५८ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङ प्रमुख प्रकाश बस्ताकोटीले बताए।
‘फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेकाले उत्पादन घटेको हो,’ उनले भने, ‘स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुन नपाउँदा उत्पादनमा असर परेको हो।’