धरान। नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माण गर्न स्थलगत अध्ययन सुरु गरेको छ।
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईसहित बिहीबार बिहान धरान–१७ डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनमा गत कात्तिक २३ मा प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउन्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो। बुधबार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपछि बिहीबार स्थलगत अध्ययन सुरु गरेको हो।
अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताए। सोही स्थानमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो।
प्राधिकरणले २०७४ असार १ मा धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै ४७ सिट क्षमताका एटआिर४२ सिरिजसम्मका जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३.२५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो।
अध्ययन टोली संयोजक थापाले हाल नेपालमा ७२ सिट क्षमताका जहाज चलनमा रहेकाले उक्त जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताए।
डाँडाघोपामा निजी कम्पनी यती इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा करिब सात बिघा जग्गा खरिद गरेको थियो।
निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुन नरहेकाले विमानस्थल बन्न सकेको छैन। तत्कालीन समयमा विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीय भने विमानस्थल नबन्ने भए आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गरिरहेका छन्।
स्थलगत अध्ययनमा पुगेको टोलीसमक्ष पनि स्थानीयले विमानस्थल निर्माण गर्ने भए तुरुन्तै सुरु गर्न र नबन्ने हो भने जग्गा फिर्ता गर्न माग गरेका छन्।
उपमहानगरपालिका प्रमुख राईले स्थानीयलाई सम्बोधन गर्दै यतीका नाममा रहेको जग्गा पनि उपमहानगरको नाममा ल्याएर विमानस्थल निर्माणको काम छिट्टै अघि बढाउने बताए।
‘प्राविधिक टोलीले नापजाँच गरेपछि कस्तो प्रतिवेदन आउँछ, त्यसअनुसार श्रमदान गरेर भए पनि विमानस्थल बनाउँछौं,’ उनले भने।