काठमाडौं। अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी पुस २० र २१ गते हुने निर्वाचनको माहोल तातिएको छ।
नाडा आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी गोल्छा अर्गनाइजेसनका आकाश गोल्छा र चौधरी ग्रुपका करण चौधरी मुख्य प्रतिस्पर्धी हुन्।
नाडाले योपटक सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास गरिरहे पनि गोल्छा र चौधरी कोही पनि पछि हट्ने ‘मुड’ मा छैनन्। यद्यपि, दुवै पक्ष समझदारीमा जान तयार रहेको अभिव्यक्ति भने दिइरहेका छन्।
चौधरीले बुधबारमात्रै आफ्नो उम्मेदवारी घोषणा गरेर सहमतिको बाटो खुला रहेको बताएका छन्। त्यस्तै उनले सहमति नभए पनि धेरै व्यवसायीको समर्थन रहेको कारण निर्वाचन भएको खण्डमा आफ्नो जित निश्चत भएको दाबी गरेका छन्।
उता, गोल्छा पनि पछि हट्ने पक्षमा छैनन्। आफूले धेरै अघिदेखि तयारी गरिरहेकाले पछि नहट्ने बताइरहेका छन्। यद्यपि, उनी समझदारीमा अघि बढ्न भने तयार छन्।
समझदारीको बाटो बन्द नभएको र आफू नै सर्वसम्मत अध्यक्ष हुने सम्भावना पनि रहेको गोल्छाको दाबी छ।
केही समय अघिसम्म अध्यक्ष पदका लागि गोल्छा र सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठको चर्चा थियो। अध्यक्ष जिताउन गोल्छालाई चौधरीले सघाइरहेका थिए।
नाडाभित्र सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने आवाज जोडतोडसाथ अगाडि बढेपछि श्रेष्ठले ‘गोल्छालाई मनाउन सके चौधरीलाई अध्यक्ष दिने’ प्रस्ताव चौधरीसँग राखे।
श्रेष्ठको प्रस्ताव सुनेर चौधरी अध्यक्षको तयारीमा लागे। सर्वसम्मत भए संस्था राम्रो हुने भन्दै श्रेष्ठ पन्छिएपछि चौधरीलाई बाटो खुलेको थियो।
सुरुवाती चरणमा हेर्दा गोल्छा र चौधरी दुवै बलिया उम्मेदवार हुन्। गोल्छा प्यानलका पक्षमा बजाज, टिभिएस, महिन्द्रा, फोटोन, बिवाइडी, फोर्ड, हुन्डाईलगायत ब्रान्डको सहयोग हुन सक्छ।
त्यस्तै चौधरीका पक्षमा चौधरी ग्रुप, आईएमई ग्रुप, सिप्रदी, एमएडब्लु ग्रुप, एससिटी ग्रुपलगायतको समर्थन हुने सम्भावना उच्च छ।
त्यस्तै अघिल्लोपटक चौधरी ध्रुव थापासँग अध्यक्षमा पराजित भएका कारण सहानुभूति भोट चौधरीलाई जाने अनुमान गरिएको छ।
नाडाको वर्तमान कार्यसमितिले भने सबै आकांक्षीलाई आलोपालो गर्ने सल्लाह दिएको छ। सहकर्मीका लागि दैनिकजसो बैठक भइरहेको नाडा अध्यक्ष थापा बताउँछन्।
‘हामीले दुईमध्ये एक जनालाई ब्याक हुन आग्रह गरिरहेका छौं। यसो हुँदा संस्थामा दरार उत्पन्न हुँदैन। चुनाव भए हार्ने र जित्नेबीच कतै न कतै तुष बाँकी रहन्छ र त्यसले संस्थालाई कमजोर बनाउँछ,’ उनले भने।
नाडाले अझै पनि चौधरी र गोल्छाबीच सहमति गराउने प्रयास गरिरहेको थापाले बताए।