काठमाडौं। सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० उजुरी परेका छन्। समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो।
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा ६, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।
उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन।
समितिका सदस्यहरूले उजुरीउपर र कार्ययोजनाका विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसिर २७ मा उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै बैठकमा सुनुवाइका लागि मंसिर २९, आगामी पुस १ र २ गते दुई÷दुईजनाको गर्ने निर्णय भएको हो।
न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि मंसिर ५ गते ६ जनाको नाम सिफारिस गरेको थियो।
पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले पोर्चुगलका लागि आवासीय राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ।
समिति सभापति जबराले उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उनको सुनुवाइ भोलि शुक्रबार दिउँसो साढे २ बजे तय भएको जानकारी दिए।
बैठकमा मुलुक आर्थिक संकटमा परिरहेको अवस्थामा के कारण त्यहाँ दूतावास खोल्नुपरेको हो त्यसको कारणबारे समिति सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्ने माग गरेका थिए।
सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राखे।
उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए।