काठमाडौं। राजधानीको प्रमुख पर्यटन गन्तव्य ठमेलका चोकमा सिसी क्यामेरा जडान सुरु गरिएको छ।
ठमेल पर्यटन विकास परिषदको पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामेरा जडान गरिएको हो।
परिषद अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन सिसी क्यामेरा जडान सुरु गरिएको जानकारी दिए।
अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० थान सिसी क्यामेरा जडान गरिएको बताए।
‘चार ठूला क्यामेरासहित १ सय १२ सिसी क्यामेरा जडान गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘हाल ८० क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ।’
ठमेल क्षेत्रभित्र सिसी क्यामेरा जडान गर्न यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषदका प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक सिसी क्यामेराको अध्ययन गरेको थियो।
परिषद उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसी क्यामेराले सहयोग पुग्ने बताए।
२०४७ सालमा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषदमा ठमेलभित्रका २ हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन्। परिषदले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ।
यस्तै परिषदले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्न सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामसमेत अगाडि सारेको छ।