काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको 'ग्राउन्ड ह्यान्डलिङ' सेवा तत्कालै खोस्न नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी संघसंगठनले सामूहिकरूपमा नेतृत्वलाई दबाब दिन सुरु गरेका छन्।
नेवानिले बिनाप्रतिस्पर्धा ६५ वर्षदेखि त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको उल्लेख गर्दै अबका दिनदेखि प्रतिस्पर्धामार्फत वा प्राधिकरण आफैंले त्यो काम गर्न नेतृत्वलाई दबाब दिएका हुन्।
प्राधिकरणले सन् २०२५ देखि त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामार्फत गराउने तयारी गरेसँगै पछिल्लो समय नेवानिका कर्मचारी आन्दोलित छन्।
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा नेवानिका कर्मचारीले आन्दोलन गर्दा अन्तर्राष्ट्रियरूपमा नेपालको विमानस्थलप्रति हेर्ने दृष्टिकोण नकारात्मक पर्ने बताउँदै प्राधिकरणका विभिन्न संघसंगठनले सामूहिक विज्ञप्ति जारी गरी तत्कालै नेवानिबाट सेवा खोस्न अनुरोध गरेका हुन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन,लोकतान्त्रिक कर्मचारी संघ र मधेश तराई कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै नेवानिका कर्मचारीले ग्राउन्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बपाैती र जन्मसिद्ध अधिकार हो भनी गरेका कथित प्रचारबाजी बन्द गर्न आग्रह गरेका हुन्।
विगतमा पनि ग्राउन्ड ह्यान्डलिङ सेवाबारे पटक‑पटक बखेडा गरेर भावनात्मक वातावरण सिर्जना गराउने र राजनीतिक आशिर्वादमा उडाउने काम गरेको आरोप उनीहरूको छ।
कर्मचारीले नेवानिलाई बिनाप्रतिस्पर्धा प्रदान गरिएको कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा तुरुन्त खोसेर प्राधिकरण ऐन २०५३ ले प्रदत्त गरेको कानुनी अधिकारबमोजिम प्राधिकरण आफैंले सेवा सञ्चालन गर्ने गरी यथाशीघ्र व्यवस्था गर्न प्राधिकरण व्यवस्थापनलाई अनुरोध गरेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिने ग्राउन्ड ह्यान्डलिङ सेवाका नाममा कर्मचारी उचालेर अनावश्यक धर्ना तथा विरोध कार्यक्रम गरेर नेपालको हवाई सुरक्षा संवेदनशीलतामा आँच आउने वातावरण निर्माण गरी अन्तर्राष्ट्रिय बदनामी हुने काम नगर्न र नगराउन समेत नेवानिग व्यवस्थापनलाई चेतावनी दिएका छन्।
प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामार्फत गराउने निर्णय गरेसँगै नेवानिका कर्मचारी स्वतः आफूहरूले नै सधैं पाउनुपर्ने भन्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन्।