काठमाडौं। स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका सेयरधनी सतिशलाल आचार्यले एनसेल सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको बताएका छन्। आचार्यले बिहीवार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
`आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो,´ एनसेलबाट जारी विज्ञप्तिर्फत आचार्यले भनेका छन्, `सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो।´
उनले एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्।
एनसेलबाट जारी विज्ञप्तिमा सहमति भएको सम्झौता ढाँचाअनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रुपमा प्राप्त गर्ने उल्लेख छ। `यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ। यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहतर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ,´ जारी विज्ञप्तिमा भनिएको छ।
कम्पनीले एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको जनाएको छ। साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने र यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको बताएको छ।
`हामी आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहन्छौं,´ विज्ञप्तिमा भनिएको छ, `एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।´ कम्पनीले लाखौं नेपालीहरुको जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार रहेको उल्लेख गरेको छ।