ढोरपाटन (बागलुङ)। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि यात्रा क्रममा बागलुङ बुर्तिबाङमा आयोजित कार्यक्रममा ओलीले विकास बिस्तारै विकट ठाउँसम्म पुगेको बताए।
अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उनको भनाइ छ। अहिलेको सरकारलाई एमालेले खबरदारीसँगै रचनात्मक सहयोगसमेत गर्दै आएको ओलीले बताए।
एमालेले नेपाली जनताको हरेक दुःखमा साथ दिँदै आएको भन्दै बाढी, पहिरो होस् वा भूकम्प, हरेक विपद पीडितको पीडामा मलहम लगाउने काम गरेको बताए।
अघिल्लो महिना गएको भूकम्पका कारण घरबारविहीन जाजरकोट र रुकुम पश्चिममा एमालेले मंसिर १ देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न १ हजार १ सय स्वयंसेवक परिचालन गरिरहेको र ८ सय बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको उनको दाबबी छ।
‘एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ। अब दलहरूले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ,’ ओलीले भने, ‘मुलुकमा विकासले बिस्तारै गति लिँदै छ, अब हरेक ठाउँमा प्राविधिक शिक्षाको पढाइ हुने वातावरण तयार गर्नुपर्छ, गाउँलाई प्रविधिसँग जोडेर समृद्धि हासिल गर्न जरुरी छ।’
एमालेले मध्यपहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्न झुलाघाट-चिवाभञ्ज्याङ समृद्धि यात्रा थालेको उनले बताए। यात्रा क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको उनको भनाइ छ।
मंसिर १४ देखि सुरु भएको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्रा क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ।