काठमाडौं। कोकाकोला बेभरेजेज नेपालले ‘कोक बड्डी’ एप सार्वजनिक गरेको छ। रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोकाकोलाका पेय पदार्थ चाँडोभन्दा चाँडो र सहज अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप सार्वजनिक गरिएको हो।
नेपालभरिका २ सय ५६ वितरक र १ लाख ५६ हजार आउटलेटलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटलरूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ।
कोकाकोला बेभरेजेज नेपाल र यसको वितरण सञ्जालभित्रको सञ्चार र लजिस्टिकलाई व्यवस्थित गर्न कोक बड्डी एप डिजाइन गरिएको छ जसले वितरक र आउटलेटबीच रियल–टाइम कनेक्टिभिटी कायम राख्ने कम्पनीले जनाएको छ।
यो एपले सप्लाई चेन म्यानेजमेन्ट अप्टिमाइज गर्ने, इन्भेन्टरी भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलर दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको दाबी छ।
कोक बड्डी एपले वितरक र रिटेलर आउटलेटलाई सहजरूपमा कनेक्ट गर्न तथा अर्डर लिन र दिन सजिलो बनाएको बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले बताए।
‘अझै पनि परम्परागतरूपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगका लागि वर्षको ३ सय ६५ दिन र चौबिसै घन्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन हो,’ उनले भने, ‘यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकलाई अझ राम्रो सेवा दिँदै आफ्ना उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने आशा लिएका छौं।’
अब कुनै आउटलेटले कोकाकोलाको कुनै पनि पेयपदार्थ अर्डर गर्न केवल प्ले स्टोर वा एप स्टोरमा गएर कोक बड्डी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटका रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सकिने छ।
त्यसपछि उनीहरूले अफूले अर्डर गर्न चाहेको उत्पादन छनौट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र अर्डर प्रक्रिया तुरुन्तै अगाडि बढ्छ।
कम्पनीले आफ्नो आउटलेटहरूको डिजिटल अनुभव अझै सुधार गर्न र उनीहरूको कार्यविधि थप प्रभावकारी बनाउन क्युआर कोडबाट मात्र भुक्तानी लिने निर्णय गरेको छ।
सुविधाजनकरूपमा अर्डर गर्ने एप कोक बड्डी रिटेलरहरूका लागि तयार पार्दा आफूहरू धेरै उत्साहित भएको कोकाकोलाका नेपालका कमर्सियल डारेक्टर युनुस रियादीले बताए।
‘यस एपमार्फत अब तपाईंहरूले कोकाकोलाको कुनै पनि पेयपदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुने छ। चाँडो अर्डर गर्न मिल्नुका साथै यस एपले तपाईंहरूको खरिद व्यवहारमा आधारित प्रडक्ट रिकमेन्डेसन, कुलरका बारेमा प्रश्नदेखि अन्य प्रमोसनल अफरद्वारा ग्राहक समर्थन पनि प्रदान गर्दछ,’ उनले भने।