काठमाडौं। बैंक तथा वित्त कम्पनीहरूले आफ्ना कर्मचारी असुरक्षित भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूका छाता संगठनले कर्मचारी सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरूसँग माग गरेका हुन्।
मंगलबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड झापा शाखामा कार्यरत एक कर्मचारीलाई अज्ञात समूहले धरपकड गरेको घटना अहिले प्रहरीमा छानबिन भइहेको छ।
उक्त घटना घटेसँगै नेपाल बैंकर संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
‘एक वाणिज्य बैंकको बिर्तामोड झापा शाखामा कार्यरत एक कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दछौं,’ विज्ञप्तिमा छ, ‘आफ्ना ग्राहकलाई सेवा सुविधा प्रदान गर्न भूकम्प, कोभिडलगायत विषम परिस्थितिमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीमाथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनीय छ। वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी भयरहित काम गर्ने वातावरण सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीको सुरक्षा प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरूसँग माग गर्दछौं।’
पछिल्लो समय केही व्यक्ति÷समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारी लक्ष्यित गरी दिएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमणको सम्पूर्ण बैंकिङ क्षेत्रले नै घोर निन्दा गर्ने उल्लेख छ।
साथै, बैंकिङजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापका आडमा जबर्जस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घट्ना समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूसँग बैंकरहरूले आग्रह गरेका छन्।