बाल्यकालमा बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु, मान्छेमा कम्तीमा चार सीप हुनुपर्छ है। ती थिए १) खाना पकाउने, २) सवारीसाधन चलाउने, ३) पौडिन सक्ने र ४) आफ्नो सुरक्षाका लागि लडाइँ गर्न सक्ने। बुबा सार्वजनिक संस्थानमा काम गर्नुहुन्थ्यो र आमा सिलाइ बुनाइको सीप सिकाउने तालिम केन्द्र सञ्चालन गर्नुहुन्थ्यो। हामीलाई खाना पकाउने सीप सिकाउनुभएको हुनाले बुबाआमा काममा व्यस्त हुँदा हामी आफैं पकाएर खाने र बुबाआमाका लागि पनि तयार गर्ने काम गथ्र्यौं। अहिले म भने मेरो छोराबाट त्यो अपेक्षा गर्दिनँ, किनकि प्राथमिकता परिवर्तन भएका छन्।
जसरी मेरा हजुरबुबाको जे जति सीप थियो, मेरा बुबाको बेलामा त्यतिमात्र पर्याप्त रहेन र मेरो बेला मेरो बुबाको जे जति सीप र सम्पर्क थियो, त्यतिले नै पुग्दैन थियो। मेरो सन्तानका बेला त्यतिले नपुग्ला। आज मैले मेरा सन्तानलाई थप नयाँ सीप र सम्बन्धको तालिम दिनुपर्छ।
व्यक्तिगत जीवनमा व्यक्तिगत सीप र सम्पर्क पुस्ता फरक परे झैं फरक देशको अर्थतन्त्रमा पनि योगदान गर्ने नयाँ क्षेत्र र नयाँ साझेदार आवश्यक पर्छ। त्यसरी नै देशको अर्थतन्त्रमा पनि नयाँ क्षमता र नयाँ साझेदार आवश्यक पर्छ। तर, नेपालको अर्थतन्त्रमा नयाँ क्षमता र नयाँ साझेदार नआएको धेरै भयो।
कृषिप्रधान देश भन्छौं, ६० प्रतिशत जनशक्ति यसमा संलग्न छ भन्ने सुन्छौं तर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा यसको योगदान २४ प्रतिशतमात्र छ। हाम्रो जिडिपीमा केवल रेमिट्यान्स क्षेत्रको योगदान बढिरहेको छ, अरू सबै क्षेत्रको योगदान घटिरहेको छ।
उद्योग तथा कलकारखानाको योगदान लगभग ९ प्रतिशत पुग्न लागेको थियो, जुन अहिले लगभग ४ प्रतिशतमा झरेको छ। यो किन हुन्छ? माथि पृष्ठभूमिमा भनिएको झैं, जसरी व्यक्तित्व विकासका लागि पुस्तैपिच्छे व्यक्तिगत क्षमता र सम्पर्कमा परिवर्तन आवश्यक हुन्छ, त्यसरी नै अर्थतन्त्रमा पनि नयाँ क्षेत्र र नयाँ साझेदारको आवश्यकता हुन्छ। त्यो भएन।
केही उदाहरण
विभिन्न अध्ययनअनुसार जुन देशमा नवप्रवर्तन (इनोभेसन) (नयाँ वा उल्लेखनीयरूपमा सुधारिएको उत्पादन, प्रक्रिया वा विधिको परिचय) को महत्व हुन्छ, जहाँ नयाँ अविष्कारको राज्य र समाजले सम्मान र सुरक्षा गर्छ त्यस देशमा अर्थतन्त्रमा नयाँ-नयाँ आयाम आउँछ र नयाँ साझेदार पनि हुन्छन्।
अहिले चीन सबैभन्दा धेरै वार्षिक प्याटेन्ट दर्ता गर्ने देश हो। त्यस वर्षमात्र ६ लाख ९५ हजार ४ सय पेटेन्ट दर्ता भएका छन्। त्यसपछि अमेरिकामा नयाँ अविष्कार दर्ता हुन्छ। जापान तेस्रोमा पर्छ। नवप्रवर्तन सूचकले विदेशी बासिन्दाको स्वामित्वमा रहेको पेटेन्टको अनुपात र प्रविधि क्षेत्रमा प्रत्येक उद्योगमा प्याटेन्ट आवेदनको संख्या समावेश गर्दछ।
आर्थिक सूचकले जिडिपी, कुल राष्ट्रिय आय, श्रम लागत, अनुसन्धान र विकास खर्च, वास्तविक न्यूनतम ज्याला, कर राजस्व र शिक्षा नामाङ्कन समावेश गर्दछ। स्टेट्स डट ओइसिडी डट ओआरजीबाट सन् २००० सयदेखि २०१० सम्म संकलन गरिएको ओइसिडी देशको तथ्यांक प्रयोग गरेर विश्लेषण गरिएको छ।
नतिजाले कम जिडिपी भएका देश नवप्रवर्तनका लागि विदेशी सहयोगमा निर्भर भएको देखाएको छ। शिक्षा नामाङ्कनले नवीनतालाई उत्तेजित गर्ने क्षेत्रमध्ये, सरकारी र उच्च शिक्षामा निजी र गैरलाभकारी क्षेत्रभन्दा बढी अनुसन्धान र विकास खर्च रहेको पनि देखाएको छ।
हाम्रो कृषि उत्पादनमा निर्भर जनसंख्या र जिडिपीमा योगदानको अनुपातमा कृषिमा अनुसन्धान र नयाँ प्रयोग हुन सकिरहेको छैन। हामीले एक बिघामा जति उत्पादन गर्छौं, त्योभन्दा धेरै उत्पादन भुटान, भारत र बंगलादेशमा हुन्छ, तर पनि हामी जानकार मुकदर्शक मात्र छौं। समाधानका लागि लगानी गरिरहेको छैनौं। कृषिमा अनुसन्धानका लागि हाम्रो लगानी कृषि बजेटको १९ प्रतिशतमात्र छ।
भारतले सूचना प्रविधि, जर्मनीले ठूला मेसिनरी, चीनले सानो मेसिन, अमेरिकाले सूचना प्रविधि, बंगलादेशले गार्मेन्टमा जसरी बिस्तारै नयाँ प्रयोग गरे र त्यसको संस्थागत विकास गर्दै गरे, हामीसँग त्यसरी नै पर्यटन, सीमित र विशेष कृषि उत्पादन र सफ्टवेयरको विकास एक मौकाको रूपमा देखिएको छ। हामीले गर्ने व्यवसाय दूरी र वजनबाहेकको हुनुपर्ने देखिन्छ।
समस्या संस्थागत अभ्यासको
नेपालमा हालैको तथ्यांकले दैनिक लगभग ७० कम्पनी दर्ता हुने र ४ बन्द हुने गरेको देखाएको छ। दर्ता हुने र बन्द हुने तथ्यांक दुवै आफैंमा हालसम्मकै उच्च हो, तर अहिलेको हाम्रो देशको चुनौती भनेको संस्थाको संख्या होइन, तिनको संस्थागत अभ्यास हो।
सन् १९३७ अर्थात ८४ वर्ष पहिले नेपालमा देशको पहिलो बैंक स्थापना भयो, तर आज पनि हामी बैंकको आधारभूत व्यावहारिक प्रक्रिया र नीतिबारे अन्यौलमै छौं। बैंक कसले वा कसका लागि सञ्चालन गर्ने भन्ने कुराको नै इमानदारीपूर्ण अभ्यास छैन।
देशको पहिलो विश्वविद्यालय ६४ वर्ष पहिले सन् १९५९ मा स्थापना भयो, तर आज पनि संस्थागत विधि र पद्दतिअनुरूप चल्न सकेको छैन। को किन नियुक्तिमा पुग्छ? पुगेर के गर्छ? र कसले किन ताला लगाउँछ? थाहै हुन्न।
आजभन्दा १ सय वर्ष पहिले नेपालको निजी क्षेत्रको पहिलो संस्था दर्ता भयो र ८४ वर्ष पहिले नै नेपालमा पहिलो वैदेशिक लगानी भित्रियो, विराटनगर जुट मिलमा। तर, आज पनि कुनै विदेशीले नेपालमा लगानी गर्ने विचार गर्दा हामी उत्साह थप्ने विधि र पद्दति अभ्यासमा छैनौं। अर्थतन्त्रको इतिहास हुँदाहुँदै हामीमा विधि र पद्दतिको अभ्यास किन छैन भने हामीले नवप्रवर्तन र अनुसन्धानमा खर्च नै गर्न जानेनौं बरु तदर्थवादमा रमाउन थाल्यौं।
आज विश्वका समाजले गम्भीर आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेका छन्। विश्वमा २००८/०९ को आर्थिक मन्दीले वृद्धि घट्यो, बेरोजगारी बढ्यो र सार्वजनिक ऋण बढ्यो। पुनः प्राप्ति गर्न, देशहरूले विकासको नयाँ र दिगो स्रोत खोज्नु आवश्यक छ। नवप्रवर्तन आर्थिक वृद्धि र उत्पादकता बढाउने कुन्जी हो।
अनुसन्धान र विकासका साथमा हुने नवप्रवर्तनको प्रभाव धेरै फराकिलो हुन्छ र कारकहरूको फराकिलो दायराबाट प्रभावित हुन्छ। हाम्रो अर्थतन्त्र पटक-पटक मारमा परेको हामीले देखेको छौं : १२ वर्षको द्वन्द्व, आन्दोलन, भूकम्प, आर्थिक नाकाबन्दी र कोभिड महामारी र अहिलेको व्यवस्थाको सन्तुलनमा कमजोरीको मूल्य। तर, हरेकपटक हाम्रो कमजोरी के रह्यो भने हामी फेरि पहिलेकै स्थानमा फर्किन खोज्यौं, संक्रमणको मौकामा नयाँपनको अभ्यास गर्ने जोखिम लिएनौं। कोभिड बन्दाबन्दीताका न्युयोर्कका गभर्नर एन्द्रु कुमो दैनिक पत्रकारसँग साक्षात्कार गर्थे। एक दिन एक पत्रकारले सोधे, ‘अब हामी कहिले सामान्य अवस्थामा पुग्छौं?’ उनले भने, ‘हामी सामान्य अवस्थामा त ढिलो चाँडो पुग्छौं, तर त्यो सामान्यताको नयाँ परिभाषा हुनेछ। यो प्रकृतिको देन हो, परिवर्तन हुन सन्देश दिएको हो।’
नेपालका हकमा भने हाम्रा लागि सामान्यता भनेको सधैं संक्रमणभन्दा विगतको झैं अभ्यास भयो। हामीले नयाँ अभ्यास अवलम्बन गर्ने जोखिम लिएनौं र सधैं त्यही अड्कियौं। जसरी फिनल्यान्डको अर्थतन्त्र निकै कमजोर थियो। दोस्रो विश्वयुद्धले गरेको नोक्सानीलाई पाठ र मौकाका रूपमा प्रयोग गरेर उसले नयाँ पाटो अवलम्बन गर्याे, पुरानो वा सामान्यतातिर फर्किएन। आज फिनल्यान्ड नवप्रवर्तनका लागि सबैभन्दा राम्रा देशमध्ये पर्छ।
संकटमोचनको बाटो
नवप्रवर्तनले आर्थिक पुनरुत्थानलाई गति दिन र देशहरूलाई दिगो वृद्धिको बाटोमा लैजान मद्दत गर्न सक्छ। नवप्रवर्तनले अवसरहरू पत्ता लगाउन सघाउँछ, जुन अवस्थित वा समयमै देखापर्ने सम्भावना छ, विद्यमान व्यापार प्रक्रिया र कार्यकुशलता सुधार गर्ने अभ्यासमा ध्यान केन्द्रित गर्न, सम्भावित ग्राहक खोज्न, घाटा कम गर्न र नाफा बढाउन सिकाउँछ।
नवप्रवर्तन प्रविधि विकास र आर्थिक वृद्धिको प्रमुख चालक हो। यसले वर्तमान बजारको माग र भावी बजारको सम्भावित आवश्यकता पूरा गर्ने माध्यम प्रदान गर्दछ। हालको बजारमा सजिलै उपलब्ध हुने थप प्रभावकारी उत्पादन, प्रक्रिया, सेवा वा प्रविधिद्वारा नवआधार हासिल गरिन्छ।
आर्थिक वृद्धिको प्रमुख कारकका रूपमा नवप्रवर्तनबारे राष्ट्रिय नीति निर्मातामा आवश्यक चेतना नरहनु पनि दुःखद कुरा छ। नेपालजस्तो विकासशील अर्थतन्त्रका लागि नवप्रवर्तनका फरक-फरक प्रभाव छन्। हामीले विभिन्न अर्थतन्त्रमा नवीनता मापन गर्न उपकरण विकास गर्नु महत्वपूर्ण हुन्छ। वित्तीय, औद्योगिक, आर्थिक र सामाजिक सूचकमा इनोभेसन र अनुसन्धानको आवश्यकता र प्रभाव अपरिहार्य छ।
तर, फेरि स्मरण रहोस् इनोभेसन भनेको संख्यागतरूपमा संस्था बढाउने होइन, रहेको संस्थामा संस्थागत अभ्यास बढाउने हो।
नराइजमा स्वरोजगारी ९५.४ प्रतिशत रहेको छ, जुन विश्वको सबैभन्दा धेरै हो तर अर्थतन्त्रको आकार १४ अर्ब अमेरिकी डलर र प्रतिव्यक्ति आय १ हजार ३ सय डलरको छ। कतारमा स्वरोजगार केवल ०.४ प्रतिशत छ तर अर्थतन्त्र १ खर्ब ७९ अर्ब र प्रतिव्यक्ति आय १ लाख ४ हजार डलर छ किनकि नराइजमा स्वरोजगार त छ तर अर्थतन्त्रको नयाँ साझेदार र निर्यात छैन।
नेपालमा हालै आइआइडिएसद्वारा गरिएको एक अनुसन्धानले गत वर्ष नेपालले लग्भग ६५ अर्बबराबरको सफ्टवेय बेचेको प्रतिवेदन सार्वजनिक भएको छ। त्यो के कुराको सूचक पनि हो भने नेपालको अर्थतन्त्रमा यो योगदान गर्ने एक नयाँ क्षेत्र हुन सक्छ। तर, यसरी नयाँ सम्भावना बोकेको क्षेत्र आउँदै गर्दा सरकारले के कस्तो पूर्वाधार र नीतिगत सहयोग गर्न सक्छ भन्ने प्रश्न उठ्छ।
नियमन गर्न सकिन्न भनेर नेपालमा माइक्रो ब्रुअरी खोल्न दिइएन, नियमन र नियन्त्रण गर्न सकिएन भनेर टिकटक बन्द गर्ने निर्णय भयो, यो भनेको आफ्नो सम्भावनाको आकार घटाउने निर्णयमात्र हो। सन् १९६७ देखि १९७५ सम्म भारत सरकारले भारतमा सूचना प्रविधिले अर्थतन्त्रमा योगदान पु¥याउने सम्भावना देख्यो र टाटा कन्सल्टिङ समूहलगायतको सुरुवात भयो। त्यसको दुई दशकपछि यो भारतको अर्थतन्त्रको प्रमुख अङ्ग हुन पुग्यो।
त्यसरी नै बंगलादेशले १९८० देखि गार्मेन्ट उद्योगमा लगानी गरेर राजनीतिभन्दा अलग राख्यो। त्यसको २५ वर्षपछि सूचना प्रविधिलाई नयाँ सम्भावनाको क्षेत्रका रूपमा विकास ग¥यो। आज एक सबल राष्ट्रका रूपमा उदाउँदै गरेको टर्कीले पनि १९८० देखि तीन प्रमुख उद्देश्य आर्थिक स्थिरता, आयातभन्दा निर्यातमुखी अर्थतन्त्र र बजार केन्द्रित अर्थतन्त्र लिएर आफ्नो अर्थतन्त्र सुधार गर्याे।
जसरी आज नेपाली कामदार खाडी जाँदैछन्, त्यसरी नै टर्कीबाट फ्रान्स, अस्ट्रिया जान्थे तर १९८० देखिको नयाँ आर्थिक नीतिले वैदेशिक रोजगारीमा रहेको टर्कीका नागरिकलाई त्यहाँको केवल रेमिट्यान्स पठाउनेमात्र होइन, सरकारले व्यापारिक साझेदार झैं बनाउन थाल्यो। त्यो एक अनौठो र समावेशी इनोभेसन थियो। आज उद्यमशीलता, इनोभेसन र अनुसन्धानका माध्यमले अर्थतन्त्रमा योगदान गर्ने नयाँ क्षेत्र र साझेदार बनाउँदै अर्थतन्त्र सुधार गर्दै लगेको सफल उदाहरणमा मलेसिया, टर्की र बंगलादेश पर्छन्।
हामीले तीन दशकदेखि अर्थतन्त्रमा योगदान गर्ने नयाँ क्षेत्र र नयाँ सझेदार बनाउन नसक्नु, भएको विधि र पद्दतिलाई समयसापेक्ष अद्यावधिक नगर्नु र तदर्थवादबाट बाहिर निस्कन नखोज्नु नै हाम्रो प्रमुख कमजोरी हो।
हामीले गर्नसक्ने सम्भावना रहेको आर्थिक क्षेत्र यस्तो हुनुपर्छ, जहाँ दूरी र भारको महत्व कम होस्। उत्तर र दक्षिणको उदीयमान अर्थतन्त्र हाम्रा लागि अवसर हो तर उत्पादनशीलतामा हामीले प्रतिस्पर्धा गर्न सहज छैन। तसर्थ, हामीले यस्तो बाटो रोज्नुपर्छ जुन कुरामा हामीले प्रतिस्पर्धा र प्रगति गर्न सकौं।
जस्तै, सफ्टवेयर विकास र बिक्री, हरित पर्यटन, उच्च पहाडी जिल्लामा डेटा सेन्टर, हाइ अल्टिच्युड खेलकुद, सीमित तर मूल्यवान कृषि उत्पादन, अध्यात्म, कला र संस्कृतिसँग सम्बन्धित नवीनतम काम, हिमाल, बुद्ध र जानकीको जन्मभूमि आदि इत्यादि।
[झा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। उनको यो विचार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक पब्लिकेसन ‘अर्थनीति’ बाट लिइएको हो।]