काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले ६५ वर्षदेखि एक्लौटी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) सेवा दिँदै आएको छ।
सार्वजनिक खरिद ऐनविपरीत नेवानिले ६५ वर्षदेखि एकाधिकार जमाउँदै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको हो।
प्रतिस्पर्धा नै नगरी नेवानिले ग्राउन्ड ह्यान्डलिङको काम गरिरहँदा सेवामा गुणस्तर नभएको र जहाज उडानमा समेत ध्यान नदिएको भन्दै बेलाबखत खोस्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ। तर, पटक-पटक प्रयास गर्दा पनि प्राधिकरण सफल हुन सकेको छैन।
अहिले फेरि उड्डयन प्राधिकरणले सन् २०२५ (नेवानिसँगको सम्झौता सकिएपछि) खुला प्रतिस्पर्धामार्फत ग्राउन्ड ह्यान्डलिङ सेवा दिने निर्णय गरेको छ। प्राधिकरणले प्रतिस्पर्धामार्फत दिन समितिसमेत गठन गरिसकेको छ।
नेपालमा २००७ सालदेखि हवाई सेवा सुरु भए पनि नेवानि स्थापना भने २०१५ सालमा मात्र भएको थियो। र, त्यही बेलादेखि नेवानिले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ।
हवाई सेवा प्रारम्भ हुँदा नेपालमा भारतीय कम्पनीहरूले जहाज उडाउने गर्थे। पछि नेवानि स्थापना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेवानिले अहिलेसम्म जिम्मेवारी सम्हालिरहेको छ।
नेवानिका प्रवक्ता रमेश पौडेलले ग्राउन्ड ह्यान्डलिङमा मात्र हालसम्म १० अर्बभन्दा बढी लगानी भइसकेको जानकारी दिए। ह्यान्डलिङमा मात्र ६०० जनाभन्दा बढी कर्मचारीहरु आबद्ध रहेको बताउदै ती कर्मचारीहरुको हित र सरकारी सम्पत्ती संरक्षणका लागि नेवानिलाई नै निरन्तरता दिनुपर्ने उनको भनाई छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीबाटै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा घाटामै करोडौं लगानी गरेर ग्राउन्ड ह्यान्डलिङ गरिरहेको बताए। विदेशका धेरै मुलुकमा राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई नै ग्राउन्ड ह्यान्डलिङको काम दिइरहेकोले नेपालमा भावनामा डुबेर प्रतिस्पर्धा मार्फत जाने भन्ने निर्णय मुलुकको हित विपरित रहेको प्रवक्ता पौडेलको भनाई छ।ग्राउन्ड ह्यान्डलिङ गरेर नेवानिले विदेशी मुद्रा आर्जन गरिरहेको समेत उनले बताए।
६ अर्बसम्म आम्दानी
जहाज चलाएर माथि उठ्न नसकेको नेवानिको खर्च धान्ने मुख्य स्रोत भनेको ग्राउन्ड ह्यान्डलिङको आम्दानी भइरहेको छ। नेवानिले ग्राउन्ड ह्यान्डलिङका लागिमात्रै तीन ‘सिफ्ट’ मा १ (करार सहित) हजारहाराहारी कर्मचारी खटाउने गरेको छ।
नेवानिले आफ्ना जहाजसहित दुई दर्जनभन्दा बढी विदेशी कम्पनीका जहाजका यात्रु र उनीहरूको ब्यागेज व्यवस्थापन गर्दै आएको छ। २०७८ सालको तथ्यांकअनुसार नेवानिले ग्राउन्ड ह्यान्डलिङबाट मात्र वार्षिक ४ देखि ६ अर्ब रुपैयाँसम्म आम्दानी गर्दै आएको छ।
नेवानिले प्राप्त आम्दानीबाट १५ प्रतिशत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँछ भने बाँकी आफैं लिने गर्छ।
नेवानि ग्राउन्ड ह्यान्डलिङका लागि उपकरण खरिद (सटल बस, भर्याङ, ट्रलीलगायत) मा झन्डै १० अर्ब रुपैयाँ लगानी गरेको छ। नेवानिभित्र बेला-बेला ग्राउन्ड ह्यान्डलिङको विभाग छुट्टै बनाउने बहस चले पनि कार्यान्वनमा आउन सकेको छैन।
पूर्वकार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक डिमप्रकाश पौडेलले आम्दानी छुट्टाछुट्टै गर्न ग्राउन्ड ह्यान्डलिङको विभाग फरक बनाउन लागेका थिए।
नेवानि कर्मचारीहरूलाई पनि यसबाट पर्याप्त मात्रामा आम्दानी हुने भएकाले जहाज उडाउनतर्फ ध्यान नदिएको र प्रतिस्पर्धी हुन नचाहेको आरोप लाग्ने गरेको छ। हुन पनि नेवानिको ध्यान जहाज उडानभन्दा गाउन्ड ह्यान्डलिङमै बढी भएको देखिन्छ।
नेवानिसँग २०४३ सालमा सानाठूला गरी २१ जहाज थिए। त्यतिबेला नेवानिले आफ्नै जहाजबाट ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्थ्याे। तर, २०४६ सालको जनआन्दोलनपछि नेवानि पनि फेरिएको छ। नेवानि साख र क्षमता क्रमशः साँघुरिँदै छ।
२०८० सम्म आइपुग्दा नेवानिको स्वामित्वमा ११ वटा जहाज छन् भने अन्तर्राष्ट्रिय उडान गन्तव्य पनि ८ मा खुम्चिएको छ। ११ जहाजमध्ये ५ वटा ग्राउन्डेड छन् भने दुई वाइडबडी, दुई न्यारोबडीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। यस्तै दुई ट्विनअटर जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ।
ग्राउन्ड ह्यान्डलिङमा के-के हुन्छ सुविधा?
विमानस्थलमा यात्रु ‘चेक-इन’ भइसकेपछि उनीहरूलाई जहाजसम्म लैजाने र जहाजमा आएका यात्रुलाई अध्यागमनसम्म ल्याउने काम गरिन्छ। ब्यागेज तथा कार्गो सामानलाई समेत त्यसैगरी जहाजसम्म लैजाने र जहाजबाट निकाल्नुपर्छ। जहाजबाट यात्रु झरिसकेपछि जहाजभित्र सरसफाइ हुन्छ।
जहाजलाई ‘पार्किङ बे’ सम्म लैजाने र सुरक्षित राख्न सहयोग गर्ने कामसमेत ग्राउन्ड ह्यान्डलिङभित्र पर्छ। केही वर्ष अघिदेखि सञ्चालनमा आएको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पनि ग्राउन्ड ह्यान्डलिङको काम नेवानिले गरिरहेको छ।
ग्राउन्ड ह्यान्डलिङ सेवा भन्नाले कुनै पनि विमानस्थलमा वायुयान अवतरण गरेदेखि प्रस्थान नहुन्जेलसम्म उपलब्ध गराइने सेवालाई बुझिन्छ। त्यस कार्यभित्र उडानबाट आएका यात्रु र उनीहरूको मालसामानलाई विमानस्थल टर्मिनलसम्म ल्याउने तथा प्रस्थान गर्ने यात्रुलाई विमानस्थलको यात्रु चेक इनदेखि लिएर वायुयानसम्म पुर्याउन आवश्यक सबै किसिमका कार्य र सेवालाई बुझिन्छ। यस कार्यका लागि आवश्यक पर्ने सबै किसिमका उपकरण तथा जनशक्तिको व्यवस्था पनि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदायककै जिम्मेवारीमा रहन्छ।
विदेशमा प्रतिस्पर्धा, नेपालमा के?
छिमेकी भारतमा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा गुणस्तरीय एवं प्रतिस्पर्धी सेवा उपलब्ध होस् भनेर व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्न कम्तीमा तीनवटा ग्राउन्ड ह्यान्डलिङ कम्पनी हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
अहिले भारतभरि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउनेमा एयर इन्डियासहित अन्य करिब ७ कम्पनी सञ्चालनमा छन्। पाकिस्तानमा सरकारी वायुसेवा पाकिस्तान एयरलाइन्सबाहेक अन्य तीन व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ कम्पनी सञ्चालनमा छन्।
त्यसभन्दा पर, अस्ट्रेलियामा झन्डै डेढ दर्जन व्यावसायिक ग्राउन्ड ह्याडलिङ कम्पनी सञ्चालनमा छन। यसबाहेक हङकङ, जापान, सिंगापुर, थाइल्यान्ड, फिलिपिन्स, ताइवान, दक्षिण कोरियालगायत देशमा पनि एकभन्दा बढी ग्राउन्ड ह्यान्डलिङ कम्पनी स्थापना भई सेवालाई प्रतिस्पर्धी बनाइएको छ।
यसको अतिरिक्त धेरैजसो मुलुकले आफ्नो देशमा स्थापित (होम बेस) वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने सुविधा दिने गरेको पाइन्छ।
हवाई नीतिमा प्रतिस्पर्धा, कार्यान्वयनमा एकाधिकार
नेपालमा हवाई नीति २०६३ ले ग्राउन्ड ह्यान्डलिङ सेवा गुणस्तरीय एवं प्रतिस्पर्धी बनाइने उल्लेख गरे पनि अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो नीति कार्यान्वयनमा आउन नसकेको प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरन्त मानन्धर बताउँछन्।
ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) ले निर्दिष्ट गरेको मार्गदर्शनअनुरूप व्यवस्थितरूपमा कार्यान्वयन गर्न गराउने उद्देश्यले प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ निर्देशिका, २०७२ जारी गरेको हो।
निर्देशिकाको दफा ५ ले व्यावसायिक ( कमर्सियल) ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यकताअनुसार नेवानिबाहेक थप दुईवटासम्म संस्थालाई अनुमति दिन सकिने व्यवस्था गरेको छ। तर, हालसम्म व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्न नेवानिलाई मात्र अनुमति दिइएको छ।
नेवानिले आफ्नो सेल्फ ग्राउन्ड ह्यान्डलिङबाहेक नेपालमा उडान गरिरहेका अन्य २६ अन्तर्राष्ट्रिय वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएको छ।
हिमालय एयरलाइन्सलाई ‘सेटब्याक’
निर्देशिकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा कम्तीमा ३५ उडान गर्ने अनुमति पाएका वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने व्यवस्था छ। सोही व्यवस्था अनुसार २०७७ असोजमा निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा प्रदान गर्ने निर्णय भएको थियो। तर, चौतर्फी विरोध भएपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको थियो।
नेपालमा अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका कम्पनीहरूमा आन्तरिक उडान गर्ने नेपाली वायुसेवाहरू बुद्ध एयर र श्री एयरलाइन्स तथा विदेशी वायुसेवा कम्पनीहरू एयर इन्डिया र थाई एयरवेजमात्र छन्।
हवाई यात्रुलाई खाना पुर्याउने क्याटरिङ सेवा पनि ग्राउन्ड ह्यन्डलिङअन्तर्गत पर्न आउँछ र यस कार्यका लागि स्काइसेफलाई अनुमति प्रदान गरिएको छ।