काठमाडौं। सरकारले एनसेल सेयर खरिद-बिक्री सम्बन्धमा अध्ययन तथा छानबिन गर्ने भएको छ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै सरकारले छानबिन गर्ने जनाएको हो।
`नेपाल सरकारले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावबारे विस्तृत अध्ययन तथा छानबिन गर्ने छ,´ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा जारी विज्ञप्तिमा छ।
यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने पनि विज्ञप्तिमा जनाइएको छ।
नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुन पालना गर्न/गराउन नेपाल सरकार प्रतिबद्ध रहेको सरकारको भनाइ छ।
यसो त, यसअघि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराइ अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्।
नियामकको स्वीकृतिबेगर एनसेलको माउ कम्पनी आजियाटा ग्रुपले आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि यो विषय विवादमा छ।
आजियाबाट स्पेक्ट्रलाइटले विभिन्न सर्तसहित कुल ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको छ।
त्यसमध्ये ५ करोड डलर पनि दुई चरणमा भुक्तान हुने सम्झौतामा उल्लेख छ। जसमा खरिद-बिक्री सम्झौता भएको ६ महिनाभित्र स्पेक्ट्रलाइटले ५ करोड डलरमध्ये ५० लाख डलर सम्झौताको ६ महिनाभित्र र बाँकी रकम ४ वर्षभित्र बुझाइसक्नुपर्ने सम्झौता छ।