काठमाडौं। लुम्बिनीमा रहेका पर्यटन व्यवसायसँग आबद्ध विभिन्न संघसंस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु नभए सडक आन्दोलन गर्ने चेतावनी दिँदै पर्यटन मन्त्रालय, एसियाली विकास बैंक, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगममा ज्ञापन बुझाएका छन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गर्दै नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका व्यवसायीले पर्यटन मन्त्री सुदन किराती, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, एसियाली विकास बैंक र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई आइतबार र सोमबार गरी फरक-फरक भेटमा ज्ञापनपत्र बुझाएका छन् ।
नाट्टा भैरहवाले जारी गरेको विज्ञप्तिअनुसार लुम्बिनीबाट काठमाडौं आइपुगेको टोलीले सोमबार महानिर्देशक अधिकारीलाई भेटेर जतिसक्दो छिटो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन माग गरेका थिए । व्यवसायीको ज्ञापन बुझेपछि अधिकारीले अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न कुनै कमी नगर्ने प्रतिबद्धता जनाएका थिए ।
नाट्टा प्रतिनिधिले सोमबार नै काठमाडौंस्थित एसियालि विकास बैकका नेपाल प्रतिनिधिलाई समेत भेटेर भैरहवा विमानस्थल सञ्चालनबारे ध्यानाकर्षण गराएका छन् । उक्त भेटमा नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एसियाली विकास बैंकको लगानीमा निर्माण भएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडीबीले पनि सक्रियता देखाउनुपर्ने भनेका थिए ।
यसअघि नाट्टा लुम्बिनीका प्रतिनिधिहरूले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान यथासक्य चाडो सञ्चालन गराउन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई समेत ज्ञापन बुझाएका थिए । मन्त्री किरातीले निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताउँदै भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिने तयारी भइरहेको बताए ।
व्यवसायीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु नभए सडक आन्दोलन गर्ने, मंसिर २२ गतेदेखि भैरहवा विमानस्थल अगाडि प्रदर्शन गर्ने घोषणा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।